महिला हत्याको आरोपमा एक पक्राउ
गाईघाट : उदयपुरको चौदण्डीगढी नगरपालिका ७ लामिचौरीकी ४५ वर्षीया विभा परियारको हत्या आरोपमा २१ वर्षीय उमेश खत्री पक्राउ परेका छन्।
माघ २७ गते साँझ दाजुको घरमा बसिरहेकी परियारलाई खत्रीले रक्सी दिने लोभ देखाएर लाटीखोलामा लगेर हत्या गरेको प्रारम्भिक वयानबाट खुलेको छ।
खत्रीमाथि अनुसन्धान सुरु भएको इलाक प्रहरी कार्यालय बेल्टाराका प्रहरी निरीक्षक गंगाप्रसाद पौडेलले जानकारी दिए।
बाटोमा जाँदाजाँदै खत्रीले अपशब्द बोलेपछि घाटीमा सलको पासो लगाएर हत्या गरेको प्रारम्भिक बयानमा स्वीकार गरेका छन्।
हत्या गरेर फालेको अवस्थामा परियारको शव खोलामा भेटिएको थियो। प्रहरीले तत्काल शव भेटेपनि हत्यारा पत्ता लगाउन सकेको थिएन। अनुसन्धानकै क्रममा परियारको हत्या गरेको खुलेपछि थप अनुसन्धानका लागि खत्रीलाई पक्राउ गरिएको पौडेलले बताए।
परिवारका चार छोरा छन्। श्रीमान गोपाल परियारले गत वैशाखमा आत्महत्या गरेका थिए। पक्राउ परेका खत्रीलाई मंगलबार नै अदालतबाट म्याद गरी आवश्यक कारबाही अगाडी बढाइएको पौडेलले बताए।