हवाई महानिर्देशकको सम्मेलन भदौमा
काठमाडौं : एसिया प्रशान्त क्षेत्रका हवाई महानिर्देशकहरूको ५६ औं सम्मेलन भदौ २ देखि ६ गतेसम्म काठमाडौंमा हुने भएको छ। यसका लागि तयारी थालिएको सम्मेलन आयोजक संस्था नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ। सम्मेलन एसिया प्रसान्त क्षेत्रका विभिन्न ४६ राष्ट्र र अन्य १६ वटा प्रतिनिधि सहभागी हुने प्राधिकरणका उपमहानिर्देशक राजन पोखरेलले जानकारी दिए।
नेपालमा हुने यस्तो सम्मलेन तेस्रो हो। यस अघि सन् १९९८ मा ३४ औं सम्मेलन र सन् १९७६ मा १४ औं सम्मेलनको आयोजना नेपालले गरेको थियो। सम्मेलनमा एसिया प्रसान्त क्षेत्रका हवाई उड्डयनको समस्या, समाधानको उपाय, हवाई सुरक्षा, नयाँ रणनीतिसहितको विषयमा छलफलसहितको निष्कर्ष निकालिनेछ। सम्मेलनमा तय हुने सबै विषय अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ)ले तय गरेर पठाउने गरेको छ।
सम्मेलनको सम्पूर्ण डकुमेन्टेसन पाटो आइकाओ र आतिथ्यता सत्कारसहितको पाटो नेपाल नागरिक उड्डयन प्राधिकरणले व्यहोर्नेछ। सम्मेलनको निम्ति इमेन्ट्स व्यवस्थापको जिम्मा प्राधिकरणले हाउस अफ राजकर्णिकारलाई दिएको छ। यसले इभेन्ट्स व्यवस्थापनको जिम्मेवारी कसरी निर्वाह गर्ने र कुन कुन पक्षमा जिम्मेवारी निर्वाह गर्नुपर्ने तथा यसको ठोस योजानाको बारेमा मंगलबार प्राधिकरणसँग छलफल पनि गरेको छ।
यस्तो सम्मेलन गत वर्ष फिजिमा भएको थियो भने अर्को वर्षको ५७ औं सम्मेलन बंगलादेशमा हुने तय भइसकेको छ। अन्तर्राष्ट्रिय नागरिक संगठनले बर्सेनि विभिन्न क्षेत्रमा हवाई महानिर्देशको भेला गर्ने गरेको छ। यस्तो भेला यस वर्ष नेपालले गर्ने गरी कार्यक्रम तय भएको प्राधिकरणको भनाइ छ।
सम्मेलनमा हवाई क्षेत्रका पूर्वाधार, सुरक्षा, समस्यासहितको विषयमा नागरिक उड्डयनको उच्च तहमा छलफल हुने र यसबाट आएको निष्कर्षलाई आईओको सम्मेलनमा राखिने पनि पोखरलेले जानकारी दिए। सम्मेलनमा करिब चार सय बिदेसी प्रतिनिधि आउने अनुमान छ।