१०१ पर्यटकीय गन्तव्यमा ‘पञ्चकोट’
बागलुङ : एक सय एक पर्यटकीय गन्तव्यमा छुटेको सर्वसिद्धिधाम पञ्चकोटलाई सूचीमा समावेश गरिएको छ। सरकारले घोषणा गरेको नयाँ पर्यटकीय गन्तव्यमा गण्डकी प्रदेशका दुई पर्यटकीयस्थल थपिने क्रममा पञ्चकोटलाई नयाँ गन्तव्यका रूपमा थप गरिएको हो।
संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले पर्यटन विकासका लागि यसअघि घोषणा गरेका एक सय एक पर्यटकीय गन्तव्यमा गण्डकी प्रदेशबाट बागलुङको पञ्चकोट र कास्कीको काहुँ धरहरा–पञ्चासे क्षेत्रलाई नयाँ गन्तव्यको रूपमा सूचीकृत गरिएको संघीय सांसद डा. सूर्य पाठकले बताए। नयाँ पर्यटकीय गन्तव्यमा पञ्चकोट छुटेकाले जिल्लाको तर्फबाट ध्यानाकर्षण गराएपछि मन्त्रालयले सूचीमा थप गरेको सांसद पाठकको भनाइ छ।
पञ्चकोट बागलुङको मात्र नभई समग्र प्रदेशकै धार्मिक तथा पर्यटकीयस्थल बन्ने सम्भावना बोकेको स्थान भएर पनि सूचीमा नराखेपछि जिल्लावासीले रोश प्रकट गरेका थिए। सरकारले ढिलै भए पनि एक सय एक पर्यटकीय गन्तव्यको सूचीमा समावेश गर्नु सुखद् रहेको सर्वसिद्धिधाम पञ्चकोटका अध्यक्ष स्वामी ऋषि प्रपन्नाचार्यले बताए।
१००८ स्वामी कमल नयनाचार्यको अगुवाइमा निर्माण भइरहेको विश्वकै अग्लो एक सय आठ फिटको विश्व शान्ति कलश, पाँच हजार पाँच सय ५५ किलोको मुक्तिनाथ महाघण्ट निर्माणको चरणमा रहेको उक्त स्थानमा अहिले गरुडशिला, विभिन्न मठमन्दिर आदि निर्माण भइसकेका छन्। बागलुङ बजारदेखि आठ किलोमिटर दुरीमा रहेको उक्त स्थानबाट उच्च हिमशृंखला अवलोकन गर्न सकिन्छ।