किबी खेतीमा आकर्षण

किबी खेतीमा आकर्षण

बेनी : अन्नपूर्ण गाउँपालिका–८ राम्चेका भक्तबहादुर पुर्जाले गत वर्ष चार रोपनी पाखोबारीमा पाँच सय किलो किबी उत्पादन गरे। मकै, कोदो र आलु खेती गर्दा वर्षमा बढीमा २० हजार रुपैयाँ आम्दानी हुने ठाउँमा ५० वटा किबीका बोटबाट ७५ हजार रुपैयाँ कमाइ भएको पुर्जा बताउँछन्।

‘अरुले प्रतिकिलो तीन सय रुपैयाँभन्दा बढीमा बिक्री गर्छन्, हामीले उपभोक्ता आकर्षित गर्न डेढ सयमा बेच्यौं’, पुर्जाले भने ‘अन्नबालीभन्दा किबीबाट धेरै आम्दानी भयो।’ डेढ सय घरधुरी रहेको राम्चेका एक सय घरले किबीका बिरुवा लगाएको पुर्जाले बताए।

जलजला गाउँपालिका–५ भोटेडाँडाका यज्ञ सुवेदीले प्रतिकेजी दुई सय ५० देखि तीन सय रुपैयाँका दरले सात सय ४४ किलो किबी पोखरा र बेनीका ब्यापारीलाई बगैंचाबाटै बिक्री गरे। किबीका बिरुवासमेत उत्पादन गर्दै आएका सुवेदीले २५ हजार बिरुवाको माग आएकोमा एक हजार पाँच सय गोटा मात्रै बेच्न सकेको बताए। ‘किबी फल र बिरुवाको बजार राम्रो छ’, सुवेदीले भने, ‘अर्को वर्ष १० हजार बिरुवा उत्पादन गर्ने लक्ष्यसहित नर्सरीको क्षमता विस्तार गर्दै छु।’

अनुकूल भूगोल, हावापानी, उच्च बजार मूल्यका कारण म्याग्दी, पर्वत, बागलुङको उच्च पहाडी क्षेत्रका कृषक पछिल्लो समय व्यावसायिक किबी खेतीतर्फ आकर्षित छन्।

परीक्षणका लागि लगाइएको बोटले उत्पादन दिन थालेपछि व्यावसायिक खेती विस्तार गरेको राम्चेका ओमबहादुर पुर्जाले बताए। म्याग्दीको राम्चे, बरंजा, दिच्याम, तोरीपानी, भकिम्ली, रुम, पर्वतको लेकफाँट र शालीजा क्षेत्रमा केही वर्षयता किबी खेती गर्ने क्रम बढेको छ।

३० वर्षअघि जापानबाट आएका स्वयंसेवकले धौलागिरि क्षेत्रमै पहिलोपटक राम्चेमा किबी भिœयाएको इतिहास छ। स्वादिलो, पौस्टिक र स्वस्थ्यकर मानिने किबीको मुख्य उपभोक्ता पर्यटक, विदेशबाट फर्किएका नेपाली हुन्। लगाएको तेस्रो वर्षबाट एउटा बोटमा ५० देखि ७० किलोसम्म फल लाग्ने गर्छ। किबी म्याग्दीमा नयाँ खेती भएको कृषि ज्ञान केन्द्रका बागबानी विकास अधिकृत सुजित पौडेलले बताए।

पौडेलका अनुसार समुद्री सतहदेखि एक हजार पाँच सयदेखि दुई हजार मिटरको उचाइमा किबी खेती गर्न सकिन्छ। १२ प्रकारका पौस्टिक तत्व पाइने किबी चिनी रोगका बिरामीका लागि पनि लाभदायक मानिन्छ। अमिलो र गुलियो स्वाद पाइने किबीलाई नेपालीमा ठेकी फल भनिन्छ। किबी चीनमा विकास भएको फलफूल हो। पछि यो युरोपियन देशमा विस्तार भयो। न्युजील्यान्डले किबीलाई प्रमुख फलफूल बालीको मान्यता दिएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.