‘भ्रष्टाचारीलाई छाड्दैनौँ, निर्मलाका हत्यारा समात्छौँ’
धनगढी : प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारीलाई कुनै पनि हालतमा नछोडिने बताएका छन् । सुदूरपश्चिम प्रदेशको संसदलाई बुधबार सम्बोधन गर्दै प्रधानमन्त्रीले ओलीले यस्तो बताएका हुन ।
‘त्यान्द्रो समात्दै गएको त अख्तियारमै पुगेछ’ ओलीले संसदमा भने, ‘तपाईँहरु पनि भ्रष्टाचार नियन्त्रणमा लाग्नुस ।’ उनले अख्तियारका आयुक्तले राजीनामा दिए पनि कारबाही हुने बताए ।
प्रधानमन्त्री ओलीले जनप्रतिनिधिले इमान्दार भएर काम गरे अर्को वर्ष जनताले अनुभूत हुने खालको विकास पाउने बताए ।
प्रधानमन्त्री ओलीले नेपालको संघीयता अरु देशको भन्दा फरक रहेको बताए । नयाँ व्यवस्था भएकाले गएको एक वर्ष आधार वर्षका रुपमा बितेपनि संघीयता र लोकतन्त्रको जग बसेको उनको दाबी थियो ।
प्रदेश सभा संसदमा २ घण्टा ३ मिनेट बोलेका प्रधानमन्त्री ओलीले अबको एक वर्षमा जनताले अनुभूति हुने खालका काम हुने दाबी गरे । उनले निर्मलाका हत्यारा पत्या लगाई छाड्ने बताए । ‘निर्मलाका हत्यारालाई सरकारले पत्ता लगाउँछ’, उनले भने, ‘त्यसमा गहिरो अनुसन्धान भइरहेको छ ।’
सुदूरपश्चिम सम्भावनको खानी भएकाले यसको विकासमा प्रदेश सरकार र प्रदेशका जनप्रतिनिधि नै लाग्नुपर्ने उनको भनाई थियो । आफुले गरेका कामको फेहरिस्त बोकेर आएका प्रम ओलीले भने ‘अर्को वर्ष तपाईँहरु पनि यस्तै हिसाबकिताब बोकेर आउनु होला ।’
संसद्मा सम्बोधनपछि प्रधानमन्त्री ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले धनगढीमै कार्यकर्तालाई प्रशिक्षण दिने कार्यक्रम छ । हलमा नअटाउने भएपनि खुलामञ्चमा त्रिपाल टाँगेर नेकपाको कार्यकर्ता भेला भइरहेको छ ।