चित्रमा गणेश, गल्ली र वाग्मती
काठमाडौं : नेपाल आर्ट काउन्सिलको बाहिरपट्टि भित्तामा एउटा बोर्ड झुन्ड्याइएको छ। लेखिएको छ, ‘पास्ट टु प्रिजेन्ट’। प्रदर्शनी कक्षको भित्र पस्नासाथ झिलिमिली चित्रले स्वागत गर्छन्। चित्र हेर्न र बुझ्न आउने दर्शकसँग अनुभव बाँड्न व्यस्त देखिन्छन् तीनजना वरिष्ठ चित्रकार। बीसौं वर्ष रङ र कुचीसँग जिन्दगी हिँडाएका छन्।
युनिक स्टोक समूहले गरेको सामूहिक चित्रकला प्रदर्शनीमा ३३ चित्र समावेश छन्। चित्रकारहरू सुषमा राजभण्डारी, रत्नकाजी श्रेष्ठ र चन्दा श्रेष्ठका विगतदेखि वर्तमान समेटिने चित्र प्रदर्शनीमा छन्। कोहीले सोधिरहेका छन्, ‘तपाईंका चित्रमा गणेश मात्रै किन ? यी स्निग्ध आँखाले के भनिरहेका छन् ? ललितकला प्रज्ञा प्रतिष्ठानकी प्राज्ञ सुषमा राजभण्डारी गणेश सिरिजको व्याख्या गरिरहेकी छन्। उनले बनाएको पिस आइजको चित्रमा दर्शनसँगै मोक्ष पनि पाइन्छ। उमेर हुँदा मान्छे धन सम्पत्तिको खोजीमा दौडिरहे पनि जीवनको उत्तरार्धमा हरेक मान्छे शान्ति चाहन्छ। उनका चित्रले शान्तिको खोजी गरेका छन्।
सुषमाको घरमा एउटा अजीव प्रकारको भाजुमानको चित्र सधैं झुन्डिरहेको हुन्थ्यो। त्यो चित्र बडाबाजे जस्तै लाग्थ्यो उनलाई। त्यसैले पनि विशेष लगाव थियो त्यो चित्रप्रति। उनको लगाव देखेरै हजुरबुवाले छिमेकी गोविन्द डंगोलसँग चित्र कोर्न सिक्न पठाए।
गणेशसँगको साइनो पनि अचम्मले जोडिएको छ उनीसँग। केही दुःख पर्यो, आमाले उनलाई गणेशलाई लड्डु चढाउन भन्थिन्। केही सामान हरायो गणेशलाई पूजा गरेपछि भेटिन्थ्यो। सुषमामा सानैदेखि गणेश आदर्श भगवान् लाग्यो। त्यसैले पनि उनी गणेश खोज्दै चीन, जापान, भारत र कोरियालगायतका देश पुगिसकेकी छन्। विभिन्न देशका आर्ट म्युजियममा उनका चित्र छन्।
मनदेखि प्रस्फुटन हुने सिर्जनाका रूपमा आट बुझेकी सुषमाले कलाकार चित्रकार राष्ट्रका राजदूत भएको बताइन्। अन्य राष्ट्रमा कलाकारको सिर्जनालाई सरकारी संग्रहालयमा राखिन्छ। नेपाल सरकारले पनि कलाकारको जीवन र सिर्जनालाई बचाउन केही प्रतिशत सिर्जना किनिदिनु पर्ने उनको विचार छ।
अर्को कुनामा ग्रामीण भेगमा कठिन संघर्षसँग जुधिरहेकी एक महिलाको सुन्दर प्रोट्रेट छ। दर्शक चित्रमा झुम्मिरहेका छन्। कोही चित्रको छेउमा बसेर फोटो खिचिरहेका छन् त कोही चित्रकार चन्दा श्रेष्ठसँग विभिन्न सवालजवाफ गरिरहेका छन्। अर्को चित्रमा उनले चोभारको पुलमुनि बगिरहेको कञ्चन वाग्मतीको पानीलाई उतारेकी छन्। उनी भन्छिन्, ‘मैले हुर्कने बेला यस्तै निर्मल र सफा थियो वाग्मती।’
काठमाडौं नरदेवीकी स्थानीय बासिन्दा हुन् उनी। काठमाडांैको सुन्दर पुरानो स्वरूप हेरेरै हुर्किएकी हुन्। आमाले बिहान उठेर रातो माटोले दैलौ लिपेको ठाउँमा सेतो चकले अनेक बुट्टा भर्ने गर्थिन्। घरका भित्ता हुन या कापीका खाली पाना विभिन्न स्केच कोर्थिन्।
उनका प्रायजसो चित्रमा नेवारी सभ्यता झल्किन्छ। संस्कृति र जीवनशैलीका विभिन्न आयामले उनलाई चित्र कोर्न दबाब दिन्छन्। देवता र चार्डपर्वका अनेक दृश्यलाई उनले चित्रमा उतारेकी छन्। बाटोमा हिँड्दै गर्दा कुनै घटनाले उनलाई मनमा गहिरो तरिकाले छोयो भने घरमा आएर स्केच बनाउँछिन्।
चित्र कोरेरै अनगिन्ती सन्तुष्टि सँगालेकी चन्दालाई आर्ट चाहिँ सिर्जनाको नशा जस्तै लाग्छ। कसैले मन दुखायो, दिक्क लाग्यो भने केही समय रंग र कुची चलाएपछि रिस खत्तम। उनी मुस्कुराउँदै जवाफ दिन्छिन्, ‘आर्ट मेरो हरेक चिज हो।’
लहरै अनेक रूप र आकृतिका चित्र झुन्ड्याइएको छ। कुनैमा देवीदेवताको आकृति कोरिएको छ त कुनै चित्रमा अमूर्त भाव पोखिएको छ। रत्नकाजी शाक्यका पानी रङमा पोतिएका चित्रले अनेक अर्थ राख्छन्। पानी रङकै प्रयोग गरेर असनको गल्ली चित्रमा उतारेका छन् उनले। उनका धेरैजसो चित्र अमूर्त छन्। यो चित्रमा के अर्थ छ भन्ने प्रश्नमा रत्नकाजी भन्छन्, ‘चित्रको आफैंमा अर्थ केही हँुदैन यसलाई त फिल गर्न सक्नुपर्छ। दर्शकले जे बुझ्छ त्यही नै हो चित्रको अर्थ पनि।’
भोटाहिटीका रैथाने हुन् शाक्य। मानिसको भीडभाड, व्यापारीको ओहोरदोहोर, निकै सुन्दर तरिकाले सजाएर बेच्न राखिएका सामानको चहलपहलको दृश्य उनलाई राम्रो लाग्छ।
यसैले पनि उनका चित्रमा असनका पुराना घर, नेवारी सभ्यता जोडिएको कलात्मक आकार र गल्ली बढी समेटिन्छन्। उनी भन्छन्, ‘आर्टले एउटा पुस्तालाई प्रदर्शन गर्नुपर्छ। यसले मान्छेको संस्कृति देखाउनुपर्छ।’ हाल ठमेलमा एक ग्यालरी सञ्चालनमा व्यस्त शाक्यका सिर्जना विदेश पुगिसकेका छन्।
एक पटक कसैले खुलामञ्चमा चटक देखाइरहेको थियो। उनी दर्शक बनेर चटक हेरिरहेका मान्छेको स्केच लाइभ बनाइरहेका थिए। उनी चित्रमा यति डुबेछन् कि चटकेको जादु हेरिरहेका सबै मान्छे आफ्नो चित्र हेर्न तँछाडमछाड गर्दै रहेछन्।