सिरहामा एकै दिन दुई बालिका बलात्कृत, अभियुक्त पक्राउ
सिरहा : सिरहाका दुई ठाउँ धनगढीमाई र गोलबजार नगरपालिकामा दुई बालिका एकै दिन बलात्कृत भएका छन् । घटनापछि फरार रहेका दुबैजना अभियुक्तलाई प्रहरीले पक्राउ गरिसकेको छ ।
मंगलबार धनगढीमाई नगरपालिका–१३ स्थित चन्डेरा जङ्गलमा दाउरा लिन गएकी १७ वर्षीया बालिकालाई सोही वडाका खजनपुर बस्ने २४ वर्षीय श्रीराम यादवले जर्वजस्ती करणी गरेको भन्दै उनीविरुद्ध मुद्दा परेको हो ।
सोही दिन गोलबजार नगरपालिका–१० मा १२ वर्षीया बालिकालाई सोही ठाउँका २१ वर्षीय दिपक राईले जर्वजस्ती करणी गरेको उजुरी परेको हो । पीडित बालिकाले प्रहरीमा जर्वजस्ती करणी गरेको जाहेरी दर्ता गराएपछि प्रहरीले दुबै अभियुक्तलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी सिरहाका पक्राउ परेकाहरुलाई जिल्ला अदालत सिरहाबाट १० दिनको म्याद थपी जर्वजस्ती करणी मुद्दामा अनुसन्धान भइरहेको छ । सिरहा प्रहरी प्रमुख एसपी जीवन श्रेष्ठका अनुसार घटना लगत्तै फरार भएका यादव र राईलाई विभिन्न व्यक्तिको सहयोगमा पक्राउ गरिएको हो । पीडित बालिकालाई स्वास्थ्य चेकजाँचको लागि अस्पताल पठाएको पनि प्रहरीले बताएको छ ।