टिपर आतंक रोक्न चालकको अभिलेख, टिपरको कन्डिसन र चालकको स्वास्थ्य जाँचिने

टिपर आतंक रोक्न चालकको अभिलेख, टिपरको कन्डिसन र चालकको स्वास्थ्य जाँचिने

विराटनगर : टिपर आतंक रोक्न मोरङमा बुधबारदेखि प्रदेश १ मै पहिलो पटक चालकको अभिलेख राख्न थालिएको छ। सडकमा टिपर हाँक्ने चालकको स्वास्थ्य परीक्षण र सडकमा गुड्ने टिपरको ‘कन्डिसन’ को पनि चेकजाँच गर्न थालिएको छ।

टिपरका कारण हुने दुर्घटना न्यूनीकरणका लागि जिल्ला ट्राफिक र जिल्ला प्रहरी कार्यालय मोरङले बुढीगंगा गाउँपालिकाको नेमुवामा संयुक्त रुपमा सडकमा बुधबारबाट टिपर चालक नियमन तथा अनुशिक्षण कार्यक्रम नै सञ्चालनमा ल्याएका छन्।

यसलाई नियमित गर्नका लागि ट्राफिक प्रहरीसहितको छुट्टै युनिट खडा गरिएको छ। ट्राफिक प्रहरीले टिपर कुदाउन चालक योग्य छन् कि छैनन्, उनीहरुसँग लाइसेन्स (सवारी चालक अनुमति पत्र) छ कि छैन, चालकले लाइसेन्स कहिले पाएको हो, चालकको शैक्षिक योग्यता र उमेर कति छ भन्ने लगायतका सबै अभिलेख तयार गरेर माथिल्लो निकायमा जानकारी गराउने मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले बताए।

ट्राफिक प्रहरीले चालकलाई टिपरका कारण भइरहेका दुर्घटना न्यूनीकरणका लागि अपनाउनु पर्ने सावधानी, टिपरको लापरवाही, तीव्र गतिका कारण हुने दुर्घटना र निम्त्याउने क्षति लगायतका बारेमा सचेत गराउने केसीले बताए। चालकको स्वास्थ्य अवस्था र टिपर सही ‘कन्डिसन’मा भए नभएको परीक्षण गर्नका लागि छुट्टै प्राविधिक टोली परिचालन गरिएको छ।

सडकमा कुद्ने टिपर र कुदाउने चालक अयोग्य भएमा रोक लगाउने तयारी छ। टिपरको ‘कन्डिसन’ र चालकको स्वास्थ्य अवस्था ठीक नहुँदा पनि दुर्घटना बढेको हुन सक्ने प्रहरीको बुझाई छ।

टिपरका कारण दुर्घटना बढिरहेको जनगुनासो आउन थालेपछि टिपर चालकलाई नियमन गर्नका लागि नयाँ अभियानको सुरुवात गरिएको एसपी केसीले जानकारी दिए। ‘टिपरका कारण दिनप्रतिदिन दुर्घटना बढिरहँदा जनमानसमा ठूलो चिन्ता छाएको छ,’ उनले भने, ‘टिपरले जनतामा उतारेको डरमय वातावरणको अन्त्य गर्न चालक केन्द्रीत कार्यक्रम थालिएको हो।’

एसपी केसीले सडकमा गुड्ने टिपरका हकमा धेरै प्रश्नहरु उब्जन थालेपछि टिपरसँग सम्बन्धित सचेतनामुलक र प्रशिक्षणात्मक कार्यक्रम लागू गरिएको जानकारी दिए।

प्रत्येक दिन टिपर चालकले १५ मिनेट कार्यक्रममा सहभागी भएर ट्राफिक प्रहरीबाट आवश्यक प्रशिक्षण लिएर आफ्ना बारेमा अभिलेख तयार गर्न सहयोग गर्नुपर्ने छ। प्रशिक्षणमा सिकेका कुरालाई चालकले व्यवहारमा उतार्नु पर्ने छ भने चालकले नियमको उल्लंघन गर्न पाउने छैनन्।

सडकमा ट्राफिक नियमको पालना नगरेमा र तीव्र गतिमा टिपर कुदाएमा कारवाहीको दायरामा ल्याइने एसपी केसीले बताए।

बुढीगंगा गाउँपालिका अध्यक्ष बालचन माझीले सडकमा गुडिरहेका टिपरको आतंक नियन्त्रण गर्न आवश्यक देखिएको अवस्थामा लागू गरिएको कार्यक्रम सान्दर्भिक रहेको बताए।

पूर्वाञ्चल टिपर व्यवसायी संघका अध्यक्ष गोपाल कार्कीले टिपरबाट बढिरहेका दुर्घटना न्यूनीकरण गर्न आफूहरुले पनि सहयोग गर्ने बताए। उनले टिपर चालकहरुलाई आफू सुरक्षित रहेर अरुलाई पनि सुरक्षित राख्ने हिसावमा टिपर कुदाउन आग्रह गरे। ‘तपाईंहरु नियम उल्लंघन गर्नेतर्फ अग्रसर नहुनुहोला,’ कार्कीले चालकलाई आग्रह गर्दै भने, ‘बरु ढिलो पुग्दा कुनै फरक पर्दैन।’

उनले आफूहरु पनि टिपरलाई सही ‘कन्डिसन’ मा राखेर चालकलाई सडकमा विस्तारै कुदाउन प्रेरित गर्नेतर्फ केन्द्रित रहेको जानकारी दिए।

टिपरमा ‘टाइम कार्ड’ लागू गर्ने अन्तिम तयारी

टिपरको तीव्र गति नियन्त्रणका लागि मोरङमा ‘टाइम कार्ड’ सिस्टम लागू गर्ने तयारी अन्तिम चरणमा पुर्‍याइएको छ।

मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक शिवकुमार पोखरेलका अनुसार ‘टाइम कार्ड’ लागू गरिएपछि ट्राफिक प्रहरीले तोकेको समयमा टिपर गन्तब्यमा पुग्नु पर्ने हुन्छ। तोकेको समय भन्दा अगाडि नै पुग्ने टिपर कारवाहीको भागिदार बन्नु पर्ने छ।

टिपरलाई अबको एक साता भित्रमा दिइने ‘टाइम कार्ड पासबुक आकारको रहने बताइएको छ। प्रहरीले सम्पूर्ण प्रक्रिया पूरा गरी अहिले छापाखानामा पठाएको छ। मोरङका राजमार्ग तथा भित्री सडक खण्डमा दैनिक चार सय बढी टिपर चल्ने गरेको ट्राफिक प्रहरीले जनाएको छ।

ट्राफिक प्रहरीले किलोमिटरको आधारमा ‘टाइम कार्ड’ लागू गर्ने भएको हो। लागू भएपछि तोकिएको समय भन्दा पहिले पुग्ने टिपरबाट पहिलो पटक एक हजार रुपैयाँ जरिवाना असुल गरिने छ। दोस्रो पटक पनि नियमको उल्लंघन गरेमा कारवाहीको दायरा बढाउने तयारी प्रहरीको छ।

‘टाइम कार्ड’ लागू भएपछि प्रहरीले छुटेको स्थान, पुग्ने स्थान, पुगेको समय र दस्तखत र छापसमेत लगाउने ट्राफिक प्रमुख पोखरेलले बताए। 

‘टाइम कार्ड’ मा मोरङको सुन्दरहरैंचा नगरपालिकाको गछिया चौकदेखि  बुढीगंगा गाउँपालिको नेमुवा चौकसम्म ५० मिनेट समय तोक्ने तयारी छ। अन्य स्थानका बारेमा समय टुँगो लाग्न बाँकी छ।

‘टाइम कार्ड’ लागू भएपछि चालकले प्रत्येक प्रहरी कार्यालयमा टिपर रोकेर प्रहरीले दिएको पासबुकमा आफ्नो समय दर्ता गराउनुपर्ने हुन्छ। त्यसको जानकारी एक ठाउँको ट्राफिक प्रहरीले अर्को स्टेशनमा प्रविधिको माध्यबाट पनि पठाउने व्यवस्था गरिएको पोखरेलले बताए।

टिपरबाट हुने दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले प्रदेश १ मा विहान ९ देखि ११ र दिउँसो ३ देखि ५ बजेसम्म राजमार्ग र व्यस्त सडकमा टिपर चलाउन रोक लगाएको छ।

चालु आर्थिक वर्षको सात महिनामा प्रदेश १ मा टिपर दुर्घटनाका २० वटा घटना भएका छन्। दुर्घटनामा १० जनाले ज्यान गुमाएका छन्। मृत्यु हुनेमा दुई जना मोरङको सुन्दरहरैंचा नगरपालिकाका छन् । यस्तै ४३ जना घाइते भएका छन्। बढी दुर्घटना मोरङ र उदयपुरमा भएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.