वृद्धाश्रममा हात्ती

वृद्धाश्रममा हात्ती

चितवन : हात्ती सफारीबाट वन्यजन्तु अवलोकन सौराहाको आकर्षण हो। वयस्क हात्ती सफारीका लागि प्रयोग हुन्छन्। उमेर ढल्केका हात्ती बेकामे बन्नु स्वाभाविक हो। बेकामे हात्तीको स्याहार गर्ने काम कम चुनौतीपूर्ण छैन। यही कामका लागि सौराहामा हात्तीको वृद्धाश्रम नै खोलिएको छ। सफारीमा जान नसक्ने बूढा हात्ती वृद्धाश्रममा स्याहार गरी राखिन्छ। उसै पनि हात्ती पालनपोषणमा खर्च बढी लाग्छ। आम्दानी नगर्ने हात्तीका लागि खर्च जुटाउनु झन् चुनौतीपूर्ण कार्य हो।  

वृद्धाश्रमले काम गर्न नसक्ने अवस्थाका हात्ती जम्मा गरी तिनको स्याहार गर्नेछ। हात्ती नमरेसम्म त्यहीँ पालिन्छ। खैरहनी नगरपालिकाको कुमरोजमा साढे दुई बिघा क्षेत्रफलमा रिसोर्ट सञ्चालन र हात्तीको वृद्धाश्रम सुरु गरिएको हो। वृद्धाश्रममा राखिएपछि रिसोर्टमा आएका पाहुनाले हात्तीको दिनचर्या हेर्न पाउनेछन्। रिसोर्टकै आम्दानीले वृद्धाश्रम सञ्चालन गर्ने योजना छ।   ‘हात्तीको पालनपोषण र उपचारको जिम्मा लिएर बुढा हात्ती राख्न खोजेका हौं’, रिसोर्ट सञ्चालक शरदकुमार पाण्डेले भने, ‘हात्तीको दिनचर्या हेरेर पर्यटक रमाउने वातावरण बनाउन खोजेका छौं। यसले मानिस र वन्यजन्तुबीचको द्वन्द्व अन्त्य हुने विश्वास छ। ’

मंगलबारदेखि सुरु गरिएको वृद्धाश्रममा ४५ वर्षको बिरामी पोथी हात्ती ‘सीताकली’ लाई राखिएको छ। अशक्त यो हात्तीले आँखा देख्दैन। एक जना माहुते त्यसको स्याहारका लागि खटाइएको छ। तारबारले घेरिएको खुला चौरमा हात्तीलाई छाडिएको छ। हात्ती राख्न बनाइएको जग्गामा उसलाई मन पर्ने खानेकुरा, बोटबिरुवा लगाइनेछ। हात्तीलाई मौसमअनुसार फलफूल खुवाउने रिसोर्टको योजना छ।  

वृद्धाश्रममा ४० देखि ५० वर्ष नाघेका हात्ती ल्याइन्छ। हात्ती संरक्षणका लागि भेटेरेनरी चिकित्सक अमेरिकी नागरिक डा.ट्रिस लन्डन खटिएकी छन्। बिरामी हात्तीको उपचारका लागि चितवन राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषका पशु चिकित्सकको सहयोग र समन्वय गरिने बताइएको छ। ‘हात्ती हेर्ने मात्रै पर्यटक पनि छन् तिनका लागि यो रिसोर्ट उपयुक्त थलो हो’, डा.ट्रिसले भनिन्, ‘हात्तीको दिनचर्यामा रमाउने वातावरण बनाउन लागेका हौं।  ’

भेटेरेनरी चिकित्सकको १५ वर्षको अनुभवसहित उनी तीन वर्षदेखि हात्तीको उपचारमा लागेकी छन्।  हात्तीको वृद्धाश्रमलाई पर्यटनसँग पनि जोडिएको छ। बूढा हात्ती पाल्नका लागि चितवन एलिफेन्ट स्यान्चुरी रिसोर्ट सञ्चालनको तयारी छ। रिसोर्टमा आउने पाहुनाले संरक्षण गरिएको हात्ती अवलोकन गर्नेछन्। संरक्षणमा राखिएका हात्तीमा सफारी गर्न दिइँदैन। तर, ती हात्तीसँग हिँड्न भने पर्यटकले पाउँछन्। युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्ष ऋषि तिवारीले वृद्धाश्रम खुलेसँगै हात्ती संरक्षणमा सकारात्मक प्रभाव पर्ने बताए। ‘बूढा हात्ती संरक्षणमा हातेमाले हुनु राम्रो हो’, उनले भने। रिसोर्टमा हुने आम्दानीबाट वृद्धाश्रम सञ्चालन गरिनेछ।  

भारत, थाइल्यान्ड, म्यानमार, अमेरिका, ब्राजिल र फ्रान्समा पनि बूढा हात्तीको संरक्षण गरिन्छ। सामान्यतया हात्ती ८० वर्षसम्म बाँच्ने गर्छ। वयस्क हात्ती खरिद गर्न करिब ८० लाख रुपैयाँ लाग्छ। तर, हात्ती किनबेचमा रोक लगाइएको छ।  


 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.