मुद्दा लड्दा सुकुम्बासी

मुद्दा लड्दा सुकुम्बासी

पहाडको ३५ रोपनी र तराईको दुई बिघा जमिन अदालत धाउँदा र कानुन व्यवसायीको शुल्क तिर्दैमा सकिएको उनको भनाइ।


इलाम : सूर्योदय नगरपालिका–११ का ६१ वर्षीय इन्द्रप्रसाद ढकालले जग्गा फिर्ता पाउने आसमा ४० वर्ष अदालतको ढोका ढक्ढक्याए। पछिल्लो पटक अदालतले उनको मुद्दा खारेज गरिदियो। यो अवधिमा न्यायका लागि २ करोड रुपैयाँ हाराहारी सकिएको उनको दाबी छ। ‘सम्पत्तिका नाममा अब नागरिकता मात्र बाँकी छ’, उनले भने।

सर्वोच्च अदालतबाट मुद्दा हारेपछि ढकाल परिवार सरकारले केही गरिदेला कि भन्ने आसमा छ। प्रधानमन्त्री केपी ओली पुस २० मा इलाम आउँदा सुरक्षाकर्मीलाई ठेलठाल पारी उनले एउटा पत्र थमाए। पत्रमा लेखिएको थियो, ‘मुद्दा फिर्ता गरी सुकुम्बासी हुनबाट मुक्त गराइपाऊँ।’

उनले ०३९ पुस १० मा जिल्ला अदालतमा मुद्दा दायर गरेका थिए। अदालतले म्यादभित्र उजुरी नआएको भनेर आदेश दियो। उनी तत्कालीन पुनरावेदन अदालत पुगे। जिल्ला अदालतकै जस्तो फैसला आयो। उनले सर्वोच्चको शरणमा पुगे। सर्वोच्चले पुनः अध्ययन गरी फैसला गर्न भन्दै पुनरावेदनमा फाइल पठायो। पुनरावेदनले पुरानै कुरा दोहोर्‍याएर मुद्दालाई किनारा लगाइदिएको उनको भनाइ छ। त्यसपछि उनी सर्वोच्च नै पुगे। सर्वोच्चले केही वर्षअघि ३० वर्ष पुरानो विषय भन्दै मुद्दा अघि बढाउन अस्वीकार गर्‍यो।

ढकाल परिवारसँग प्रशस्त जग्गाजमिन थियो। उनै जग्गावाल परिवार मेची राजमार्गको करफोक खण्डमा छाप्रो बनाएर चटपटे बेची गुजारा चलाउँछ। ‘हामीसँग केही पनि छैन’, उनले भने, ‘सरकारले न्याय गर्ला भनेर पर्खिरहेका छौं।’ दुई छोराबुहारीसहित सात जनाको परिवार छ।

प्रधानमन्त्री ओलीले इलामको भेटमा ‘म हेर्छु’ भन्दै फाइल लगेको उनले सुनाए। ‘खबर आएको छैन’, उनले भने, ‘आस गरेर बसेको छु।’ उनले डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा पनि आफ्ना गुनासा राख्ने प्रयास गरेका थिए। त्यसपछि ओलीलाई भेटेर कुरा गरे पनि फाइल मन्त्रिपरिषद् नपुग्दै सरकार ढल्यो। शेरबहादुर देउवा प्रधानमन्त्री भएका बेला पनि उनी काठमाडौं पुगे। ‘काम सुरु हुनै लागेको थियो’, उनले भने, ‘निर्वाचनको समय थियो, आचारसंहिता लाग्यो भनेर घर फर्काए।’

उनले जनप्रतिनिधि, आफन्तदेखि अड्डाका कर्मचारीको खप्की सहे। मन्त्रालय पुग्दा पियनदेखि सचिवसम्मको हप्काइ खाएको गुनासो उनले सुनाए। करिब २ करोड पर्ने ३५ रोपनी जमिन देखाउँदै उनले भने, ‘मुद्दा लड्दा यस्तो जमिन दुईवटा सकियो।’ सूर्योदय–११ मा रहेको ३५ रोपनी र झापाको बुद्धशान्ति गाउँपालिका शान्तिनगरमा रहेको दुई बिघा जमिन अदालत धाउँदा र कानुन व्यवसायीको शुल्क तिर्दैमा सकिएको उनको भनाइ छ। उनकी श्रीमती तिलरुपाले स्थानीय सरकारले व्यवस्थापन गर्ने आश्वासन दिएको बताइन्।

स्थानीय दीपक अधिकारीका अनुसार खडानन्द ढकाल परिवारको जमिन १९९० मै सरकारी अभिलेखमा कायम थियो। तर, उनको जग्गामा तत्कालीन जनप्रतिनिधिले मेला लगाएपछि खडानन्द अदालत गएका थिए। मिलापत्र हुँदा विवादित तीन रोपनीभित्रको ३५ फिट जमिन स्थानीय पञ्चकन्या मन्दिरलाई दान दिने सहमति भयो। तर, लिखतमा ३५ रोपनी जमिन मन्दिरलाई दिएको लेखियो र सहीछाप गराइयो। उनको मृत्युपछि श्रीमतीका नाममा जग्गा आउँदा पनि ढकाल परिवारले यसको सुइँको पाएन। थाहा पाएपछि ०३९ देखि उनीहरू अन्यायविरुद्ध अदालतमा पुगे।

विवादित जग्गाको यथार्थ बुझेर प्रतिवेदन पेस गर्न सुझाव समिति बनाइएको सूर्योदयका मेयर रणबहादुर राईले बताए। उनले समितिको प्रतिवेदन आएपछि कार्यपालिकाले सम्बन्धित मन्त्रालयमा लेखेर पठाउने बताए। विवादित जग्गामा पार्क बनाउने नगरपालिकाको योजना छ। पार्क बनाउनुअघि पीडितलाई व्यवस्थापन गर्नुपर्ने स्थानीयको माग छ। मेयर राईले पनि पार्क बनाउनुअघि पीडित परिवारलाई व्यवस्थापन गर्ने बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.