सरकार कता हरायो ?
नयाँ सरकार गठन भएको एक वर्ष पुगेको छ । प्रधानमन्त्री र मन्त्रीहरूबाट ठूलाठूला भविष्यका सपना बाँडिएका छन् । तर सपनालाई विपना बनाउने कामका लागि सिन्कोसम्म भाँचिएको छैन । जनतालाई कतिन्जेल सपनाले भुलाइरहने ? यति वर्षमा यस्तो बनाउँछौं, उस्तो बनाउँछौं भन्ने सपना बाँड्ने काम पञ्चायतदेखि बहुदलहुँदै गणतन्त्रसम्म हुँदै आएको छ । पञ्चायतमा नेपाललाई एसियाली मापदण्डमा पुर्याउने सपना बाँडिन्थ्यो । बहुदलमा विकेन्द्रीकरणको माध्यमबाट देशलाई समृद्ध बनाउने सपना बाँडियो ।
यतिबेला समाजवादको सपना बाँडिएको छ । तर समाजवादउन्मु कुनै पनि काम भएका छैनन् । हामी यतिबेला नीति बनाउन व्यस्त छौं भन्ने सुनिरहनुपरेको छ दिनहुँ । नीति बनाएर कार्यान्वयनमा जाँदा बनाउनेको ‘इहलिला’ बाँकी नरहन सक्छ । सुनाउने र सुन्ने प्रक्रियामा समय व्यतित भइरहनेछ । ढाँट्ने ढाँटिरहन्छ, ढाँटिने ढाँटिइरहने छन् ।
कम्तिमा सर्वप्रथम सहरहरूको धुलो र फोहोरको व्यवस्थापन गरौं । हरियाली वातावरण निर्माणका लागि रुख रोप्ने अभियान थालौं । तपाईंहरूले देखाउनुभएको सपना हेर्न आउने पुस्ताले त कम्तिमा स्वच्छ हावा पाओस् । मुख्य सहरहरूमा सार्वजनिक शौचालय निर्माण गरौं । राजधानीमा शौचालय अभावले रत्नपार्कमा पिसाब लागेका मान्छे नयाँबजारस्थित घरमा पुगेर शौच गर्न बाध्य छ । कम्तिमा यो समस्या त समाधान गरौं ।
अति विपन्न, दलित मुसहर चमारका लागि संयुक्त आवास निर्माण,एकीकृत नमुना वस्तीको सुरुवात गरौं । भौगोलिक विकटताको कारण तिनीहरूको बस्तीमा सरकारले कुनै पनि सेवासुविधा पुर्याउन सकेको छैन । संयुक्त आवासको व्यवस्था हुन सक्यो भने उनीहरूलाई मात्र सहज हुँदैन सरकारलाई पनि सेवा दिन सहज हुनेछ ।
हिमाली जिल्लाका सदरमुकाममा कम्तिमा एउटा निःशुल्क आवासीय विद्यालय बनाउन आवश्यक छ । जनसंख्या र विद्यार्थी पनि कम हुने भएकाले धेरै विद्यालयलाई खर्च धान्न समस्या हुने गरेको छ । पहाडी जिल्लामा प्रत्येक गाउँपालिकामा पनि त्यस्तै विद्यालय खोल्नु उचित हुन्छ । पैसा लिन थाल्ने हो भने अभिभावकले पठाउँदैनन्, आर्थिक अवस्था कमजोर भएकाले । तराईमा अति गरिब दलितको शिक्षा र स्वास्थ्यको जिम्मा राज्यले लिनेगरी काम थाल्नुपर्छ ।
राष्ट्रिय गौरवका आयोजनालाई विशेष प्राथमिकतामा राखेर काम थाल्नुपर्छ । त्यसका लागि नियमित अनुगमन, निरीक्षण र निर्देशन दिने जिम्मेवार निकाय बनाउनुपर्छ । कम्तिमा सबै स्थानीय तहको नीतिनिर्माणदेखि बजेट खर्च गर्ने मापदण्ड बनाइदिनुपर्छ । अहिले बेथिति मौलाउँदोछ । कम्तिमा यी र यस्ता काम गर्ने हो भने सरकार र पार्टीको इज्जत जोगाउन सहयोग पुग्थ्यो । अहिले दुईतिहाइको कम्युनिस्ट सरकारभन्दा पनि लाज लाग्ने अवस्था छ ।
सुशासनको प्रत्याभूति हुनुपर्ने निकाय मालपोत, कर, भन्सार, प्रहरी प्रशासन सजिलै र दाम नचढाइ कामै हुँदैन । शिक्षकले राम्रोसँग पढाउँदैनन् । अस्पतालमा बिरामीले सहजरूपमा उपचार पाउँदैनन् । तर ती सबै ठाउँमा पार्टीनिकटका र विभिन्न संगठनकै मान्छे हुँ भन्नेहरूकै बोलाबाला छ । राम्रो काम नगरेर सरुवा हुन लाग्यो भने नेताको शक्ति लगाएर उसैको थमौती हुन्छ । किनकि उसले पार्टीमा लेबी पनि बुझाएको छ । पार्टीको सरकार असफल बनाउने काममा पार्टीका नाम बेच्नेहरू क्रियाशील छन् । सरकार पनि कहाँबाट र कसको इशारामा चलेको छ, थाहा हुँदैन ।
सरकारका नारा सुन्दा निकै राम्रा छन्—समाजवादउन्मुख रे । नारा सुन्दा आफंैलाई लोप्पा खुवाउन मन लाग्छ । ‘समृद्ध नेपाल सुखी नेपाली’ बितेको एक वर्षमा यो नारालाई व्यवहारमा रुपान्तरण हुने कुनै पनि काम भएको छैन । गफैगफमा अडिएको र टिकेको जस्तो । नीति बनाउँदै छौं । कहिले बनिसक्छ नीति ? पाँच वर्षमा, दश वर्षमा ? सय वर्षपछिको नेपाल यस्तो हुन्छ भनेर परिकल्पना गर, त्यसका लागि आजैबाट काम थाल ।
बितेको एक वर्षमा न सुशासन कायम भयो, न विकासको मूल फुट्यो न त गरिबी नै हट्यो । भ्रष्टाचारले भने संस्थागत रूप लियो ।
त्यसका लागि छुट्टै समिति बनाऊ तर आज जनताले भोगेका समस्याको समाधान आजै गर्ने नीति बनाऊ । यो काम यति समयमा सक्ने भनेपछि त्यहीअनुसार काम गर । नीतिले मात्र केही हुँदैन । नीति बनाइसक्दा त्यो नीति नै थोत्रो भइसक्छ । केटाकेटी भुलाउने जस्तो काम कुरा नगर सरकार । पार्टीको कार्यकर्ता त सधैं तिमीहरूका भएका छैनन् भने जनता कसरी भइरहन्छन् ? सरकार वामपन्थीको भन्न पनि लाज लागिरहेको छ— बेथिति र भ्रष्टाचारका काण्डले ।
चुनावका बेला हामीले भन्यौं— स्थिर सरकार भयो भने सुशासन कायम हुन्छ, विकासको मूल फुट्छ । गरिबी हट्छ । समृद्धि हासिल हुन्छ । झन्डै दुईतिहाइ दिए वामपन्थीलाई जनताले तर के भयो त ? बितेको एक वर्षमा न सुशासन कायम भयो, न विकासको मूल फुट्यो न त गरिबी नै हट्यो । मात्र भ्रष्टाचारले संस्थागत रूप लियो । भ्रष्टाचारमा फसेका मान्छेलाई नै नियुक्ति, सरुवा र बढुवा आदि हेर्दा, देख्दा र सुन्दा निराशाबाहेक केही भएन । हिजो त्याग गरेका,विभिन्न आन्दोलन गरेका, युद्ध लडेका र ती मुक्तियुद्धमा ज्यान गुमाएका परिवार, सहिद र बेपत्ता परिवारका सदस्यलाई आज दैनिकी चलाउन कठिन भइरहेको छ । विदेशमा गएर चिहान खन्न ऊँट र भेडा चराउनुपरेको छ । कसरी चित्त बुझाउने गरिबीले विदेशिन बाध्य युवा र तिनका परिवारका सदस्यलाई ? के बलिदानी यसैका लागि थियो ?