मन्त्रीको जबाफ : मेलम्चीमा काम त भएकै हो, तर फाइनल रिजल्ट आएन
काठमाडौँ : खानेपानी मन्त्री बीना मगरले राष्ट्रिय गौरबको मेलम्ची खानेपानी आयोजना रि–टेन्डर गरेर भए पनि बनाउने बताएकी छन् । ९५ प्रतिशत काम भइसकेको अवस्थामा निर्माणको जिम्मा लिएको इटालियन कम्पनी सीएमसी बाहिरिएपछि अन्योल बढेको अवस्थामा मन्त्री मगरको यस्तो जबाफ आएको हो ।
सीएमसी बाहिरिएपछि मेलम्चीलाई लिएर मन्त्री मगर र तत्कालीन सचिव (हाल सरुवा) गजेन्द्र ठाकुरबीच जुहारी चलेको थियो । मन्त्री मगरले आफू सीएमसीलाई नै काममा फर्काउने तयारीमा रहेको बताउँदै त्यही कुरामा सचिव ठाकुर तयार नभएपछि सरुवा भएको प्रष्टिकरण दिइन् ।
‘म अहिले पनि सीएमसीलाई नै काममा फर्काउने कोशिशमा छु, हामीले त्यसैका लागि पहल गरिरहेका छौँ’, मगरले भनिन्, ‘सीएमसी आएमा अर्को ठेक्का गरिरहनुपर्दैन, यदि सीएमसी नफर्किएको अवस्थामा रि–टेन्डर गरेर भए पनि मेलम्ची बनाउँछौँ ।’
उपत्यकाबासीलाई पानी खुवाउने अन्तिम चरणमा पुगेको अवस्थामा असफल भएकोमा दुःख लागेको बताउँदै मन्त्री मगरले रिटेन्डर गरेर भए पनि छिटो भन्दा छिटो पानी ल्याउने विकल्पमा पनि छलफल भइरकेको जिकिर गरिन् ।
मन्त्री मगरले सचिव ठाकुरले कमिशन उठाए भनेर आफूले नबोलेको पनि बताइन् । ‘सचिवजीले कमिशन मागे भनेको छैन मैले, मेलम्ची राष्ट्रिय गौरवको आयोजना हो । मेलम्चीमा कुनै पनि गिद्धे नजर पर्न दिने छैन’, उनले भनिन्, ‘मलाई राष्ट्र डुबाउन खोजेको छ भनियो, तर मेरो अहिलेको प्राथमिकता भनेको सीएमसी कम्पनी आउनुपर्छ भन्ने हो ।’
आफूले भने अनुसार सचिवले काम नगरेको पाइएकाले सरुवा भएको उनले दोहोर्याइन् । आफूले कुनै भ्रष्टाचार नगरेको पनि उनले जिकिर गरिन् । ‘मिडियाले नियोजित ढंगले आवाज उठाए । एक अर्ब रुपैयाँ खायो भनेर पनि समाचार लेखियो’, मगरले भनिन्, ‘म आएपछि ८४ करोड १५ लाख रुपैयाँ भुक्तानी भएको रहेछ । मिडियाले नियोजितरुपमा एक अर्ब खाइ भनेर प्रचारबाजी गरिदिए ।’