वीर अस्पतालको लिफ्ट चुडिँएर दुई जनाको मृत्यु, एक गम्भीर
काठमाडौँ : वीर अस्पतालको निर्माणाधीन भवनमा जोडिएको अस्थायी लिफ्ट चुडिँदा दुईजनाको घटनास्थलमै ज्यान गएको छ। लिफ्ट चुँडिएर झरेका तीनजनामध्ये सप्तरीका २५ वर्षीय नवीनकुमार चौधी र २० वर्षीय भूमिकुमार चौधरीको ज्यान गएको हो ।
बिहीबार राति करिब आठ बजे भएको यो घटनामा उनीहरुसँगै झरेका सप्तरीका सचितानन्द चौधरी गम्भीर घाइते भएका छन् । उनको वीर अस्पतालस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
महानगरीय प्रहरी वृत्त जनसेवाका प्रमुख डिएसपी टेकुनन्द इवालिम्बुका अनुसार चार तलामाथि लिफ्ट चुँडिएर खस्दा रक्तश्राव बढी भएकाले घाइतेको अवस्था गम्भीर रहेको छ ।
लिम्बुका अनुसार ज्यान गुमाएका र घाइते सबै निर्माण मजदुर हुन् । उनीहरुको जीवन बिमा निर्माण कम्पनीले गरिदिएको खुलेको छ। प्रहरीका अनुसार सामान लिएर माथि गएका उनीहरु चारतलामा डोरी चुँडिएपछि भुइँमा बजारिएका थिए ।
दुवै जनाको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ। वीर परिसरमै निर्माणाधीन ९ तले सर्जिकल भवनको लिफ्ट चुँडिएको हो । यो भवनको छैटौँ तला बनिरहेको छ ।