बालिका बलात्कारमा संलग्नलाई १७ वर्ष कैद
विराटनगर : जिल्ला अदालत मोरङले बालिकाको सामूहिक बलात्कारमा संलग्न दुई जनालाई जनही १७ वर्ष कैद सजाय सुनाएको छ।
मुख्य न्यायाधीश राजुकुमार खतिवडाको इजलासले मोरङको पथरी शनिश्चरे नगरपालिका-१ का २२ वर्षीय मनोज राई र २३ वर्षीय राजकुमार माझीलाई १७-१७ वर्षको कैद सजाय सुनाएको हो।
राई र माझीले पथरीशनिश्चरे-७ स्थित शिव पञ्चायत मन्दिरको चउरमा गत असोज ६ गते राति १३ वर्षीया बालिकाको सामूहिक बलात्कार गरेका थिए। बलात्कारमा संलग्न दुवै जनालाई प्रहरीले पक्राउ गरेर जवरजस्ती करणी ऐन अन्तर्गतको मुद्दा चलाएको थियो। प्रहरीका अनुसार साथीको जन्मोत्सव मनाउन भनेर घरबाट हिँडेकी बालिका सामूहिक बलात्कारको सिकार भएकी थिइन्।
जिल्ला अदालत मोरङका श्रेस्तेदार ईश्वरमणि ओझाका अनुसार कसुर ठहर गर्दै दुवै जनालाई बालिका बलात्कारमा १५ वर्ष र सामूहिक बलात्कारमा थप २ वर्ष गरेर जनही १७ वर्षको कैद सजायको फैसला भएको हो।