दुईजना फरार अभियुक्त पक्राउ
विराटनगर : दुई फरक मुद्दामा अदालतले दोषी ठहर गरे पनि फरार रहेका दुई प्रतिवादीलाई प्रहरीले मोरङको लेटाङ नगरपालिकाबाट पक्राउ गरेको छ ।
प्रहरी सहायक निरीक्षक दीपक कटवाल नेतृत्वको टोलीले जवरजस्ती करणी र वन पैदावार मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेर शुक्रबार जिल्ला अदालत मोरङमा बुझाएको हो ।
जवरजस्ती करणी मुद्दामा दुई वर्ष चार महिना २७ दिन कैद सजायको फैसला सुनाइएका लेटाङ नगरपालिका–१ का २२ वर्षीय साने भनिने हस्तबहादुर लिम्बूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । लिम्बूलाई जिल्ला अदालत मोरङले २०७३ साल फागुन ४ गते कैद सजायको फैसला गरेको थियो । घटनापछि उनी फरार थिए ।
यस्तै वन पैदावार मुद्दामा १ महिना कैद र २९ हजार ४ सय ८८ रुपैयाँ जरिवानको फैसला सुनाइएका लेटाङ–८ का ३३ वर्षीय डिल्लीबहादुर राईलाई पनि प्रहरीले पक्राउ गरेको छ । अदालतको फैसलापछि उनी फरार थिए । पक्राउ परेका दुबैजनालाई पेस गरेपछि अदालतले कैद सजाय भुक्तानका लागि कारागार चलान गरेको छ ।