एकीकृत कसुरमा पहिलो फैसला, अभियुक्तलाई ३७ वर्ष कैद

एकीकृत कसुरमा पहिलो फैसला, अभियुक्तलाई ३७ वर्ष कैद

विराटनगर : जिल्ला अदालत मोरङले नयाँ मुलुकी अपराध संहिता ऐन लागू भएपछि एकीकृत कसुरमा पहिलो फैसला गरेको छ ।

ऐनको फौजदारी कार्यविधि लागु भएपछि एकीकृत कसुर अन्तर्गतको कर्तब्य ज्यान र ज्यान मार्ने उद्योगको दावी गरिएको मुद्दामा एकजना प्रतिवादीलाई अदालतले ३७ वर्ष ६ महिना कैदको फैसला सुनाएको हो ।

भदौ १ गतेबाट ऐन लागू भएपछि एकीकृत कसुरमा प्रतिवादीलाई यति धेरै वर्ष कैद सजायको पहिलो र ऐतिहासिक फैसला सुनाइएको अदालतले जनाएको छ । जिल्ला अदालत मोरङका मुख्य न्यायाधीश राजुकुमार खतिवडाको इजलासले विराटनगर महानगरपालिका–१७ का १९ वर्षीय चुन्नु भनिने बब्लु सिंहलाई ३७ वर्ष ६ महिनाको कैद सजाय सुनाएको हो ।

सिंहलाई प्रहरीले पक्राउ गरेर कर्तब्य ज्यान र ज्यान मार्ने उद्योग अन्तर्गतको एकीकृत कसुरमा मुद्दा चलाएको थियो । बब्लुले धारिलो हतियार तरवार प्रहार गरेर आफ्ना झड्केला बुवा शशी सिंहको गत मंसिर २७ गते राति हत्या गरेका थिए ।

झड्केला दाजु मोहम्मद आकाश आलमलाई पेटमा तरवार प्रहार गरेर गम्भीर घाइते बनाएका थिए । मादक पदार्थ सेवन गरेर झड्केला दाजुसँग झगडा गरिरहेका बेला छुट्याउन पुगेका बुवा शशीको तरवार प्रहार गरेर बब्लुले हत्या गरेको र दाजुलाई घाइते बनाएको प्रहरीले जनाएको छ ।

प्रहरीले घटनाको अनुसन्धान सकेर मिसिल बुझाएपछि सरकारी वकिल कार्यालय मोरङले गत पुस २२ गते उनीविरुद्ध कर्तब्य ज्यान र ज्यान मार्ने उद्योग अन्तर्गतको एकीकृत कसूरमा अदालतमा मुद्दा दर्ता गरेको थियो । अदालतले उनलाई त्यतिबेला तत्काल प्राप्त प्रमाणका आधारमा पुर्पक्षका लागि थुनामा राखेर घटनाको अनुसन्धान अघि बढाउन आदेश दिएको थियो ।

अदालतका स्रेस्तेदार ईश्वरमणि ओझाका अनुसार बब्लुलाई ३७ वर्ष ६ महिना कैद सजायको फैसला सुनाएको न्यायाधीश खतिवडाको इजलासले फैसलाको पूर्ण पाठ आएपछि बिहीबार त्यसलाई प्रमाणीकरण गरिदिएको हो । प्रचलित कानुनमा भएको व्यवस्था बमोजिम माघ २४ गते अदालतले कसूर ठहर गरेको र माघ २९ गते मुद्दाको अन्तिम सजाय निर्धारण गरेको ओझाले जानकारी दिए । उनका अनुसार अहिलेको कानुनी व्यवस्था अनुसार कसुर ठहर भएको ३० दिन भित्रमा सजाय निर्धारण गरिसक्नु पर्छ ।

नयाँ ऐनमा कुनै कसुरदारले एकै पटक एउटै वारदातमा एकभन्दा बढी कसुर गरेमा अधिकतम सजाय हुने कसुरको डेडी सजाय (पूरा सजायमा आधा थप गरेर) हुने कानुनी व्यवस्था छ । ऐनले जन्मकैदमा अधिकतम सजाय २५ वर्ष हुने व्यवस्था गरेको छ ।

सोही व्यवस्था अनुसार बब्लुलाई कर्तब्य ज्यान मुद्दामा २५ वर्षको जन्म कैद र ज्यान मार्ने उद्योग मुद्दामा १२ वर्ष ६ महिना गरेर कूल ३७ वर्ष ६ महिना कैदको सजाय अदालतले सुनाएको स्रेस्तेदार ओझाले बताए । उनले नयाँ मुलुकी अपराध संहिता ऐन लागू भएपछि एकीकृत कसुरमा जिल्ला अदालत मोरङबाट पहिलो र सबैभन्दा बढी कैद सजायको फैसला भएको बताए ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.