‘छोरीलाई सानैबाट प्रतिकार गर्न सिकाऔं’
काठमाडौं : महिला हिंसामा प्रतिकार गर्न सानैदेखि बालबालिकालाई सिकाउनु पर्ने महिला नेतृत्वले आह्वान गरेका छन्। महिलालाई सहनसिल, नम्र बन्न मात्रै सिकाएको कारण हिंसा बढेको उनीहरुको भनाइ छ। महिला नेतृले सानैदेखि आफूविरुद्ध कसैले हिंसा गरेमा प्रतिकार गर्न सिकाउनु पर्ने बताए।
भूमि व्यवस्था, गरीबी निवारण र सहकारीमन्त्री पद्माकुमारी अर्यालले उनले अब छोरी हुर्काउँदा नै गलत कामका लागि प्रतिकार गर्न सिकाउँदै हुर्काउनुपर्ने बताइन्।
छोरालाई सबै छोरीमान्छेको सम्मान गर्न र छोरीलाई सामाजिक विकृतिविरुद्ध प्रतिकार गर्न आमाले नै सिकाउनुपर्छ’, उनले भनिन्, ‘छोरीलाई सहनुपर्छ भनेर सिकाएका कारण महिला हिंसा बढेको छ।’
शुक्रबार अखिल नेपाल महिलासंघ महिला हिंसा विरुद्धको अभियान र केन्द्रीय युवा समितिले आयोजना गरेको लैङ्गिक हिंसा अन्त्यका लागि विद्यमान कानुनी व्यवस्था विषयक छलफलमा बोल्दै उनले अबको प्रधानमन्त्री महिला हुनुपर्ने बताएकी छन्।
उनले अबका युवाहरुले हरेक लगानीको प्रतिफल खोज्ने भएकाले राजनीतिमा पनि युवालाई त्यसै आकर्षित गर्न नसकिने बताइन्। उनले अब पहिला राजनीतिमा लागेका महिलाले ठूलो योगदान दिएको भए पनि अब त्यस्तो राजनीतिका लागि युवालाई आकर्षित गर्न कठिन रहेको बताइन्।
‘अब हाम्रा शैली परिवर्तन गर्नु जरुरी छ’, उनले भनिन्, ‘अब महिलाको मन छुने विषय उठाउनुपर्छ।’ उनले अब महिलाहरुलाई सम्पत्तीको अधिकारको दिशामा अगाडी बढाउनुपर्ने बताइन्। उनले अब त्यसका लागि ठूलो अभियानको आवश्यकता रहेको बताइन्।
उनले कतिपय युवा सामाजिक सञ्जालमा आएका त्यस्ता गलत सूचनाको लहैलहैमा लागेको समेत बताइन्। ‘त्यस्ता कुराहरु के हुन् राम्रोसंग अध्ययन गर्नुस् र गलत कामको प्रतिकार गर्नुस्’ उनले भनिन्।
कानुन न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले महिला पक्षमा धेरै कानुन निर्माण भएको बताए। उनले पनि घरेलु हिंसाविरुद्ध महिलाले प्रतिकार गर्नु पर्ने बताए। उक्त कार्यक्रम अखिल नेपाल महिला संघकी अध्यक्ष गोमा देवकोटा, दीपा शर्मा लगायतले बोलको थिए।