नख्खुको बम विस्फोटमा घाइते एक जनाको मृत्यु
ललितपुर : शुक्रबार राति ललितपुरको नख्खुमा भएको बम विस्फोटमा परी घाइते भएका एक जनाको मृत्यु भएको छ । नख्खुस्थित एनसेलको टावरमा गराइएको बम विस्फोटमा परी घाइते भएका सिंहप्रसाद गुरुङको मेडीसीटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अस्पतालका जेनेरल मेनेजर विजय रिमालले जानकारी दिएका छन् ।
रिमालकाअनुसार गुरुङको राति साढे १ बजेतिर मृत्यु भएको हो । घाइते गुरुङको दुवै खुट्टा चुँडिएको, कम्मरका हड्डीहरु भाँचिएका र रगत बग्ने ठूला नशाहरु काटिएको पाइएको मेनेजर विजय रिमालले बताए । अत्याधिक रक्तश्राबका कारण उनलाई बचाउन नसकिएको उनले स्पष्ट पारे ।
घाइते गुरुङलाई सुरुमा अल्का अस्पताल लगिएको, त्यसपछि बीएन्ढ बी हुँदै अन्तिममा मेडिसिटी अस्पताल लगिएको थियो । लमलुङ स्थायी घर भएका ४९ वर्षीय गुरुङ हाल ललितपुरको भैंसेपाटी बस्दै आएका थिए ।
बम विस्फोट कसले गराएको भन्नेबारे खुलेको छैन ।