अर्गानिक स्वादबाट लोभिँदै पर्यटक

अर्गानिक स्वादबाट लोभिँदै पर्यटक

भोजपुर : आफ्नो एकहप्ते विद्यालयको छुट्टि मनाउन परिवारसँग टेम्केडाँडा घुम्न आएका षडानन्द नगरपालिका दिङ्लाका शिक्षक श्रीकृष्ण बोगटी अर्गानिक स्वाद र सत्कारमा रमे।

‘यहाँ आउँदा धेरै तनाव हटेर फ्रेस भइयो। अन्य होटेलभन्दा यहाँ सस्तो र राम्रो व्यवस्थापन रहेछ’, बोगटीले भने, ‘प्राकृतिक सुन्दरता र पारिवारिक वातावरणमा रम्न चाहनेका लागि यहाँको होमस्टे एकदमै राम्रो रहेछ। पारिवारिक वातावरण, किराती संस्कृति र स्वादिष्ट परिकारले होमस्टेको बसाइ रमाइलो भएको भयो।’

बोगटीजस्तै आफ्ना २३ जना कलेजका साथीसँग जाडो बिदा मनाउन टेम्केडाँडा, चखेवाभञ्ज्याङ घुम्दै भोजपुर नगरपालिका हेलौंछाका प्रकाशसिंह राईको पनि होमस्टेमा दुई दिन रमाइलो गरी बित्यो। यहाँ आउँदा डाँडाकाँडा घुम्दा, बस्दा मानसिक बोझसमेत कम भएको उनले अनुभव सुनाए। जिल्लामा निकै चर्चा कमाएको होमस्टेको नाम मात्र सुनेका प्रकाश सिंहले साथिहरूसँग भरपुर प्राकृतिक आनन्दसँगै भरपुर मनोरञ्जन लिएर फर्किए। उनका अनुसार यहाँ एक हजार पाँच सय रुपैयाँमै एकछाक मिठो खाना खान र बास बस्न सकिन्छ।

सरकारले एक सय पर्यटकीय गन्तब्यमध्ये भोजपुरको टेम्केडाँडा ‘मुन्दुम ट्रेल’लाई पनि सूचीकृत गरेसँगै यहाँ घुम्न आउने बाह्य तथा आन्तरिक पर्यटकको संख्या बढ्न थालेको छ। फुर्सदलाई सदुपयोग गर्दै आफ्ना परिवार र साथीभाइसँग टेम्केडाँडा घुम्न आउने पर्यटकको प्रमुख रोजाइमा ‘गोठेसिंह होमस्टे’ पनि पर्न थालेको छ। टेम्केमैयुङ गाउँपालिका छिनामखुको श्यामशीलामा रहेको यो होमस्टे सदरमुकामदेखि ४२ किलोमिटर पश्चिममा पर्छ। मिठो किराती संस्कारको न्यानो अतिथि सत्कार, अर्गानिक मीठो खाना र आरामदायी बासस्थानबाट प्राकृतिक सुन्दरता नियाल्न पर्यटकका लागि यो होमस्टे पर्यटकीय गन्तव्य बन्दै गएको गाउँपालिका अध्यक्ष ध्रुवराज राईले बताए।

उनका अनुसार टेम्केडाँडा मुन्दुम पदमार्गमा पर्ने भएकाले यहाँ घुम्न आउने पर्यटकका लागि एक मात्र आरामदायी बिसौनी बनेको ‘गोठेसिं होमस्टे’ बस्न नचाहने कमै हुन्छन्। गत भदौ पहिलो हप्ता स्थानीय प्रकाश राईले करिब २६ लाखको निजी लगानीमा व्यावसायिक ‘होमस्टे’ सञ्चालन गरेका हुन्। आफ्नो ५७ रोपनी जग्गामा उनले सञ्चालन गरेको ‘होमस्टे’मा टेम्के, चखेवाडाँडाको अवलोकनपछि वि श्राम गर्ने पर्यटकको आगमनमा वृद्धि हुन थालेको छ। ‘होमस्टे खोलेपछि यहाँको पर्यटन प्रवद्र्धन र अन्य विकाससँगै यसले आम्दानीको स्रोत पनि बढाएको छ’, राईले भने, ‘यहाँ आउने पाहुनालाई आफूले सक्दो आफ्नै हात र अर्गानिक स्वाद दिने निरन्तर कोसिस गरिरहेको छु। सबैबाट राम्रो प्रतिक्रिया र सुझाव पनि पाइरहेको छु।’

किराती संस्कार अनुसार मिठो भोजनका परिकार र स्वागत सत्कारले पर्यटकका लागि पुनः फर्केर जाने वातावरण पनि बन्ने गरेको स्थानीय बताउँछन्। अर्गानिक स्वाद र सत्कारले यहाँ आउने पर्यटकलाई मोहनी लगाउने गरेको स्थानीय सरोज बस्नेतले बताए। जिल्लाको पहिलो होमस्टेमा किराती संस्कारअनुसार सामग्री, लवाइखवाइ, साँस्कृतिक महत्त्वका सामग्री, खाना, बासको राम्रो प्रबन्ध रहेको उनको भनाइ छ।

होमस्टेमा हरेक महिनामा आठभन्दा बढी समूहमा आन्तरिक पर्यटक पुग्ने गरेको बस्नेतले बताए। ‘एक/दुई जनाको संख्यामा पनि आउँछन्। समूह बनाएर आउने पनि बढिरहेका छन्’, उनले भने, ‘यो ठाउँ पछिल्लो समय बाह्य पर्यटकको रोजाइमा पर्न थालेको छ। यसले स्थानीयस्तरको पर्यटन प्रवद्र्धनमा ठूलो मद्दत गरिरहेको छ।’

सुरुमा सामूहिक रूपमा व्यावसायिक ‘होमस्टे’ खोल्ने प्रस्ताव गरिए पनि गाउँका स्थानीयबासीले चासो नदिएपछि आफू एक्लैले ‘होमस्टे’ खोलेको सञ्चालक राई सुनाउँछन्। उनका अनुसार ४० जनालाई एक रातमा बास बसाउन सकिन्छ। राईले आगामी दिनमा बास घर र कटेज थप्दै लैजाने योजना रहेको बताए। पर्यटकको स्वागतमा माछाको परिकारका लागि सञ्चालक राईले अस्थायी रूपमा ६ वटा प्लास्टिक पोखरी बनाएर ट्राउट माछा पनि पालेका छन्।

उक्त ‘होमस्टे’लाई प्रवद्र्धन र प्रोत्साहन गर्न टेम्केमैयुङ गाउँपालिकाले भौतिक पूर्वाधारको व्यवस्था गरिदिने भएको छ। गाउँपालिकाले होमस्टेसम्म बिजुलीबत्ती र तीन सय मिटर दूरीको सडक पु¥याउन प्रबन्ध मिलाउने गाउँपालिका अध्यक्ष धु्रवराज राईले बताए। सुन्दर टेम्केडाँडा चुचुरोबाट तराईका सुन्दर हरिया फाँट, कञ्चनजंगा, मकालुलगायत उत्तरतर्फ सेताम्मे मनोरम हिम श्रृंखला, सुन्दर हरिया डाँडाखर्क, खोटाङको दिक्तेल र भोजपुर सदरमुकाम र अनगिन्ती प्राकृतिक सुन्दरताको भरपुर मनोरन्जन लिन सयौंको संख्यामा यहाँ पर्यटक चक्कर लगाउने गरेको उनले सुनाए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.