ग्यास उद्योगीको माग पूरा गरिने
काठमाडौं : नेपाल आयल निगमले ग्यास उद्योगीको माग सम्बोधन गर्ने आश्वासन दिएको छ। ग्यास उद्योगीले उठाएका कमिसन वृद्धिलगायत माग जायज रहेको उल्लेख गर्दै सरकारद्वारा गठित कार्यदलको प्रतिवदेनपछि माग सम्बोधन गर्ने निगमका नवनियुक्त कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले बताए।
पौडेलले भने, ‘उद्योगीका माग जायज छ। लामो समयदेखि कमिसनको दर वृद्धि नभएकाले निगम सम्बन्धित माग पूरा गर्न निगमले गृहकार्य थालेको छ।’ अधिकार र पहुँचभन्दा बाहिरको माग भने सम्बोधन गर्न नसकिने पौडेलले बताए।
पौडेलले पेट्रोलियम पदार्थको भण्डारण क्षमता वृद्धि गर्न भौतिक पूर्वाधार निर्माण, सहज आपूर्तिसहित निगमको सुधारका पक्षमा कार्ययोजना बनाएर निकट समयमै कार्यान्वयन गर्न लागेको आश्वासन दिए। पौडेलले पेट्रोलियम व्यवसायलाई व्यवस्थित गर्न त्रिभुवन विमानस्थल, अमलेखगन्ज र थानकोट डिपोमा पूर्णरूपमा स्वचालित प्रणाली कार्यान्वयनमा ल्याउन लागेको बताए।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिका यादवले आम उपभोक्ता र व्यावसायिक गरी दुई प्रकारका सिलिन्डर ल्याउने तयारी भइरहेको बताइरहँदा कार्यकारी निर्देशक पौडेलले निगमको एक्लो प्रयासबाट दुई प्रकारको सिलिन्डर प्रणाली कार्यान्वयनमा ल्याउन नसकिने जानकारी दिए।
यसैबीच ग्यास बिक्रेता महासंघले ग्यास उद्योगीको आन्दोलनलाई समर्थन गर्ने जनाएको छ। महासंघले पत्रकार सम्मेलन गरी उद्योगीको मागप्रति ऐक्यबद्धता जनाएको हो।
महासंघले विज्ञप्ति जारी गरी ग्यास उद्योगीको माग सम्बोधन गर्न सरकारसँग माग गरेको छ। यस्तै बिक्रेता प्रमाणीकरण प्रक्रिया तत्काल सुरु गर्नुपर्ने, बिक्रेता तथा वितरक कमिसन ग्यासको मूल्यको कम्तीमा ६ प्रतिशत हुनुपर्ने, उपभोक्ता जनचेतना कार्यक्रम प्रत्येक स्थानीय तहमा सञ्चालन गर्नुपर्ने, डिलर तथा डिलरमा काम गर्ने व्यक्तिको बिमा गर्नुपर्ने तथा ग्यास बिक्रेतालाई आवश्यक तालिमको व्यवस्था गर्नुपर्ने माग महासंघले अघि सारेको छ।
नेपाल एलपीजी ग्यास उद्योग संघले एक दिनअघि मात्रै पछिल्लो ६ वर्षदेखि ग्यासको कमिसन बढ्न नसकेको र उद्योग सञ्चालन गर्न समस्या आएको भन्दैे प्रोडक्ट डेलिभरी अर्डर (पीडीओ) नउठाउनेदेखि ग्यास बजारमा नपठाउनेसम्मका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका थिए।