सुझाव समितिले भेट्यो ढकाल परिवालाई
इलाम : जालसाजीका कारण गुमेको जमिन फिर्ता गराउन चार दशकदेखि अदालतको ढोका चहारेको सूर्योदय नगरपालिका-११ का इन्द्रप्रसाद ढकालको वास्तविकता बुझ्न सूर्योदय नगरपालिकाको जग्गा विवाद समाधान समितिले ढकाल परिवार र स्थानीयलाई भेटेको छ।
वडानं ५ का अध्यक्ष तथा समितिका संयोजक प्रेम तामाङ, सदस्य टेक बहादुर राई, नरबहादुर सुवेदी, नगरपालिकाका अमिनसहितको टोलीले ढकाल परिवार र स्थानीयलाई शुक्रबार भेटेर वास्तविकता बुझेको वडानं ११ का अध्यक्ष एवं समिति सदस्य टेकबहादुर राईले बताए। समितिले स्थानीयलाई भेटेर सर्जमिन मुजुल्का समेत गरेको छ।
यो पनि पढ्नुहोस : मुद्दा लड्दा सुकुम्बासी
मुजुल्कामा स्थानीयले ढकालका बाबु खडानन्दले पञ्चकन्या मन्दिरको फुलबारीका लागि ३५ फुट दिएकोमा ३५ रोपनी पास गराएर तत्कालीन पञ्चले जालसाजी गरेको भन्दै अदालतले हराएको भूमि ढकाल परिवारकै भएको राय दिएका छन्।
स्थानीय खेम ढकालले भने, ‘यो परिवारसँग ३५ रोपनी जग्गा दान गर्ने हैसियत देखिदैन। जालसाजी गरी ढकाल परिवारलाई अन्यायमा पारियो।’
समितिका सदस्य नरबहादुर सुवेदीले समितिले बनाएको प्रतिवेदन नगर कार्यपालिकामा पेश गर्ने बताए। समितिले कार्यपालिका, नगर परिषद, परिषद हुँदै जग्गा फिर्ताका लागि मन्त्रिपरिषद्मा पठाउने गरेको छ।
पीडित परिवार, स्थानीय र ढकाल परिवारले उपलव्ध गराएको प्रमाणका आधारमा समितिले प्रतिवेदन तयार पार्ने छ।
ढकाल परिवारलाई व्यवस्थापन गरी उद्यानको काम सुरु गर्ने वडाअध्यक्ष राईले जानकारी दिए। नगरले यहाँ उद्यान बनाउन यो वर्ष १५ लाख रुपैयाँ विनियोजन गरेको छ। वडाले ढकाल परिवारका लागि अन्तरिम व्यवस्थापन गर्ने तयारी गरेको छ। अन्नपूर्ण पोस्ट्ले समाचार प्रकाशित गरेकै दिन समितिले ढकाल परिवारलाई भेटेको हो।