डोल्पाका ३ स्थानीय तहमा ताला
डोल्पा : माथिल्लो डोल्पाका शे–फोक्सुण्डो र डोल्पोबुद्ध गाउँपालिकाको कार्यालयमा ताला लागेको दुई महिना पुगेको छ । जाडो बढेको भन्दै सहर छिरेका कर्मचारी त फर्केनन् नै, तहमै बसेर सेवा दिने कसम खाएका जनप्रतिधिसमेत लामो समयसम्म जिल्लामा फर्केका छैनन् । सामान्य सिफारिसलगायत अन्य सेवाका लागि स्थानीय तहका कार्यालयमा पुग्ने अधिकांश नागरिक रित्तो हात फर्किनुपरेको नागरिक समाज डोल्पाका अध्यक्ष शेरबहादुर बुढाले बताए ।
त्यस्तै, छार्काताङसोङ गाउँपालिका कार्यालयमा पनि ताला लागेको साता पुगेको छ । तीनवटै स्थानीय तहका जनप्रतिनिधि कोही कात्तिक र कोही पुसदेखि गाउँपालिकामा नबसेको स्थानीय बताउँछन् । ‘भौगोलिक कठिनताका कारण नागरिक एक दिनसम्मको पैदल यात्रा गरी पालिकाको कार्यालयमा पुग्छन्’, बुढाले भने, ‘अब सामान्य नागरिकले जनप्रतिनिधि खोज्दै काडमाडौं नै जाने कुरा पनि भएन, तीन महिनादेखि पालिकाबाट उपलब्ध हुने सेवा पाउन सकिरहेका छैनौं ।’
जाडो सुरु हुनेबित्तिकै कर्मचारी जिल्लामा नबस्ने गरेको प्रवृतिबाट हैरान भएका यहाँका नागरिकलाई जनप्रतिनिधि आएपछि नियमित सेवा पाइने आस थियो । तर, अहिले स्थानीय तहका अधिकांश जनप्रतिनिधि नै जिल्लाबाहिर छन् ।
तहको कामको सिलसिलामा देशका विभिन्न सहरमा पसेका जनप्रतिनिधि दुई÷तीन महिनादेखि फर्केका छैनन् । जनप्रतिनिधि र कर्मचारी जाडो छल्न जिल्लाबाहिर गएपछि डोल्पाका केही स्थानीय तहमा ताला लागेको हो । स्थानीय सरकार गठन भएपछि आँगनबाटै सरकारी सेवा पाउने आशा राखेका नागरिक दैनिक तहका कार्यालयमा धाउने र सेवा नपाएर फर्किने गरेका छन् ।
स्थानीय तहका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृत सहरतिरै बसेका छन् । जिल्लाका दुई नगरपालिका र ६ गाउँपालिकाका जनप्रतिनिधि अहिले पालिकाको कामका लागि भन्दै कोही संघीय राजधानी, कोही प्रदेश राजधानी त कोही आफ्नो घर भएका तराईका जिल्लामा बसिरहेका छन् । आठ वटा तहमा गरी जम्मा दुई वटा पालिकाका उपप्रमुख मात्रै जिल्लामा उपस्थित छन् । त्रिपुरासुन्दरी नगरपालिकाका उपप्रमुख चन्द्रकुमारी बुढा र जगदुल्ला गाउँपालिकाका उपाध्यक्ष अमृता लामा आफ्ना तहमा बसेर सेवा प्रदान गरिरहेका छन् । यस्तै, तहका प्रमुख र प्रशासकीय अधिकृत मंसिरदेखि नै जिल्लाबाहिर छन् । जसले गर्दा पालिकाका प्रशासनिक कामसमेत ठप्प छन् ।
‘गाउँबाटै सबै अधिकार दिन्छौं भनेर निर्वाचित भए तर हिउँद लाग्नेबित्तिकै उही पुरानै चलन सुरु भइहाल्यो’, मिसन नेपाल डोल्पाका अध्यक्ष ओमेन्द्र केसीले भने, ‘कर्मचारीलाई रोक्नुपर्ने ठाउँमा धमाधम आफैं जिल्लाबाहिर बस्न थालेपछि जनप्रतिनिधिबाट सेवाको के अपेक्षा गर्नु ? ’ पालिकाको काममा भन्दै यति लामो समयसम्म कार्यालय नै बन्द गरी जिल्ला बाहिर बसेपछि सेवाग्राही आक्रोशित भएका छन् । कर्मचारी र जनप्रतिनिधि सबै लामो समयसम्म अनुपस्थित हुँदा असारसम्म सम्पन्न गर्नुपर्ने विकासे योजना अहिलेसम्म सम्झौता हुन नसकेको स्थानीय ओमबहादुर चन्दले बताए ।