नख्खु बम विस्फोट : मृतको परिवारलाई क्षतिपूर्ति, घाइतेलाई निशुल्क उपचार
ललितपुर : नख्खु बम विस्फोटमा मृत्यु हुनेको परिवारलाई सरकारले क्षतिपूर्ति दिने घोषणा गरेको छ। शनिबार विहान मेडिसिटी अस्पताल पुगेका गृहमन्त्री रामबहादुर थापाले विस्फोटमा घाइते हुनेहरूको पनि उपचार खर्च सरकारले नै व्यहोर्ने घोषणा गरे।
शुक्रबार बेलुका नख्खुस्थित एनसेलको टावरमा भएको बम विस्फोटमा घाइते भएका सिंहप्रसाद गुरुङको राति साढे १ बजे मृत्यु भएको थियो। गुरुङको दुवै खुट्टा चुँडिएको, कम्मरका हड्डीहरु भाँचिएका र रगत बग्ने ठूला नशाहरु काटिएको अस्पतालले जनाएको छ।
विस्फोटमा परी घाइते भएका प्रतिक्षा खड्का र उरुषा मानन्धरको मेडिसिटी अस्पतालमै उपचार भइरहेको छ।