घरेलु मुढाबाट जीविका
भोजपुर : भोजपुर नगरपालिका टक्सार मालबासेका ५१ वर्षीय नरमान सार्कीलाई खेतीपातीले मात्र छाक टार्न पुग्दैन। उनलाई परिवारको बिहान बेलुका हातमुख जोर्न ज्याला मजदुरी वा मेलापात गर्नैपर्छ। तर, उनी ज्याला मजदुरी र मेलापात नगरी घरमै आफ्नो सीपको सदुपयोग गर्छन्। घरेलु मुढा बनाउने पेसा अँगालेपछि छाक टार्न मात्र नभइ बालबच्चाको पढाइ खर्चसम्म आरामले धानिएको छ।
नरमान र उनकी श्रीमती मिलेर मुढा बनाउने गर्छन्। उनीहरू करिब आठ किलोमिटर दूरीमा रहेको सदरमुकामस्थित मासु पसलबाट राँगाभैंसीको छाला ल्याएर मुढा बुन्छन्। दम्पत्ति मिलेर छाला सुकाउने, ढड्याउने, बाँस काट्ने, लठ्ठी ताछ्ने, बनाउने र मुढा बुन्ने गर्छन्। एक हप्तामा उनीहरूले करिब २० वटाभन्दा बढी मुढा तयारी गरेर सदरमुकाम र साप्ताहिक हटियाको मागअनुसार पु¥याएर बिक्री गर्छन्।
मुढाबाट राम्रो आम्दानी गर्ने नरमानले यही पेसाबाट आठ जनाको परिवार र छोरीको पढाइ खर्च धानेको सुनाउँछन्। ‘खेतीपाती गरौं भने एकछेउ पनि धान्दैन। अर्काकै मजदुरी र मेलापात गर्नुपर्छ’, उनले भने, ‘यही मुढा बनाउने पेसाले छोराछोरीको पढाइ खर्च आरामले टारेको छु।’
मुढाका लागि आवश्यक छाला नरमानले बजारका मासु पसलबाट ६ सय रुपैयाँमा ठेक्कामा लिने गर्छन्। एउटा राँगाभैंसीको छालाबाट सात वटासम्म मुढा बनाउन सकिने नरमानले सुनाए। स्थानीय बजारमा प्रतिगोटा दुई सय ५० देखि तीन सय रुपैयाँसम्म बिक्री हुने मुढाबाट नरमानले मासिक २० हजारसम्म आम्दानी गर्ने गरेको सुनाए।
कृषि पेसा गर्न प्रशस्त जग्गा र आम्दानीका अन्य स्रोत नभएपछि त्यही पुख्र्यौली पेसालाई नै अँगालेका सार्की दम्पत्तिले मुढा बेचेरै १८ वर्षीया छोरीलाई कलेज पढाएका छन्। घरमै बसेर आरामले मुढा तयारी गर्दा घरमै पनि अर्डर आउने गरेको सार्कीले सुनाए। राम्रो आम्दानी भएपछि खेतीपातीका अलावा पनि पुख्र्यौली पेसाले नरमानको परिवारलाई मनग्गे सन्तुष्टी दिएको छ।
घरमै बसीबसी आरामले बनाइने मुढाको काम अन्यभन्दा सहज भएको सुनाउँदै नरमानकी श्रीमती इन्दिरा सार्कीले कामले सन्तुष्टि मिलेको सुनाइन्। घरेलु तथा साना उद्योगबाट कुनै किसीमको कार्यक्रम, तालिम र अनुदानको व्यवस्था नभएको उनले बताइन। ‘यो पेसामा प्रोत्साहन गराउने किसिमको न कुनै तालिम छ न कुनै अनुदान। भएकाले पनि चासो दिँदैनन्’, नरमानले भने। मुढा पेसासँगै नरमानले आफ्नो तीन रोपनी जग्गामा व्यवस्थित ब्रोइलर कुखुरा पालन गरेका छन्। आम्दानीका लागि पारम्पारिक खेतीपातीभन्दा व्यावसायिक विकल्पका रूपमा मुढा र ब्रोइलर पालन रोजेको इन्दिराले सुनाइन्।
पछिल्लो पुस्तामा एका दुई घरले मुढा बनाउने गरे पनि अधिकांशले यो पेसा छोडिसकेको स्थानीय विमल रणपहेँली सुनाउँछन्। बढ्दो वैदेशिक रोजगारी र विलासीपनले मुढा बनाउने टक्सारका ६÷७ घरमध्ये नरमान सार्कीले मात्र यो पेसा गर्ने गरेका छन्। नयाँ पुस्तामा मुढा बनाउने पेसाप्रति चासो घट्दै गएको टक्सारकै अर्का स्थानीय दिपेश उदास बताउँछन्। भन्छन्, ‘मुढा बनाउने पेसालाई फोहोरी र लाजमर्दो काम भनेर उपेक्षा गर्छन्। यसले भविष्यमा मौलिकता बोकेको पेसा लोप नहोला भन्न सकिन्न।’