क्याट क्याफेकी बिराली

क्याट क्याफेकी बिराली

टोकियोको सडकमै ‘क्याट वाक’ हेरेर अलमलिन्छु भनेर सोचेकै थिइनँ । सिबुया स्टेसनबाट बाहिर निस्कँदा मानवसागर आफ्नै लयमा चलिरहेको थियो । त्यही सागरबीचमा म पनि हेलिँदै गएँ । अथाह मानवसागरमा देखिएका मोती जस्ता रूपवतीहरू चम्किरहेका थिए, मेरा आँखामा ।

सिबुया जेब्राक्रस पार गरेर लसकलसक पाइला अघि बढाइरहेको थिएँ । फेसनको भारीले थिचिएका थरीथरीका जापानी परीका ‘क्याट वाक’ले मलाई रोके । राता, हरिया, नीला आदि रङले कपाल रंग्याएका गुडिया जस्ता देखिने युवतीले आँखा जुधाए । रूप र बैंसको उन्मादमा मात्तिएकाले टेढो नजर लगाए । कमिक्स र कार्टुन चलचित्रमा देखिने फेसनमा सजिएका युवतीले म हिँड्ने बाटो ढाके । तिनका रूप, अनौठा फेसन र हिँडाइका चाललाई निकैबेर हेरिरहेँ । टोकियोको सडकमा देखिएको विचित्रको दृश्यमा अलमलिरहेँ ।

विचित्र फेसनमा सजिएका युवतीको पछि लागे जस्तो भयो । केही युवतीले मलाई अघि लगाए जस्तो देखियो । वास्तवमा मेरा अघि र पछि ती बहुरूपी युवतीहरू हिँडिरहेका थिए । टोकियोको सडकमा ‘विन्डो सपिङ’ गर्दै अगाडि बढिरहेको थिएँ । अचानक पसलभित्रबाट एउटा हात माथि उठाएको बिरालोले मलाई बोलायो । अलिक पर्तिरको पसलबाट त्यस्तै अर्को बिरालोले फेरि बोलायो । बिरालोले जति बोलाए पनि म आफ्नै तालमा लम्किरहेँ ।

एउटा हात उठाएर बसेको ‘मानेकी निको’ नामको बिरालोको मूर्ति प्रायः जापानी तथा चिनियाँ पसलहरूमा देख्न पाइन्छ । त्यो बिरालोले राम्रो भाग्य ल्याउने कुरामा उनीहरू विश्वास गर्छन् । सुख र समृद्धि प्राप्त होस् भन्न पसलमा राख्छन् । अहिले त बिजुली वा ब्याट्रीबाट चल्ने त्यस्ता बिरालोले माथि उठेको हात अघिपछि हल्लाइरहेको हुन्छ । त्यसको हात हल्लाइले ग्राहकलाई पसलमा आउनू भनेको त हो नि । आउनू भनेर बोलाएपछि पसलमा ग्राहक जाने नै भए । पसलमा गएपछि तिनीहरूले केही सामान खरिद गर्लान् । सामान बिक्री भएपछि नाफा हुने भयो । नाफा भएपछि सुख र समृद्धि आउने नै भयो । सम्झिल्याउँदा ग्राहकले आफ्नो खल्तीमा पसलेको भाग्य बोकेर हिँडेका हुन्छन् जस्तो लाग्यो । हिँड्दै गर्दा त्यस बिरालोबारे यस्तै धारणा बनाएँ ।

मैले बिरालीको आँखाको भाषा बुझिसकेको थिएँ । तर समय अभावले ऊसँग गफिन सकिनँ । सायोनारा भन्दै उसलाई हात हल्लाएँ । बिचरी निरास पो भई ।

ती व्यापारीको विश्वासमाथि मेरो मनले एकछिन ठट्टा गर्‍यो । हुन त अर्काको धार्मिक विश्वासप्रति खिसिट्युरी र ठट्टा गर्नु जायज होइन । बाहिर अभिव्यक्त नगरीकन मनमनै गरिने कुरा कसलाई थाहा हुन्छ र ? मनमा यस्तै सवालजवाफ चलिरहँदा म लम्किरहेको थिएँ ।

पसलभित्रको बिरालो र सडकका बिराली हेरेर सन्तुष्ट भइसकेको थिएँ । कफीको तलतल निकै बेरदेखि लागिरहेको थियो । कतै नअलमलिई ‘क्याट क्याफे’तिर हिँड्ने निश्चय गरेँ । त्यहाँभित्रका बिरालाबिरालीको चर्तिकला हेर्दै कफी पिउने योजना लन्डनमै जो बनाएको थिएँ ।

जापान बिरालोप्रेमीहरूको देश हो । जापानमा बिरालोको बारेमा नेपालमा भन्दा ठीक उल्टो मान्यता प्रचलित छ । कालो बिरालोलाई यहाँ शुभ मानिन्छ । काला बिरालो पाल्न तिनीहरू मरिहत्ते गर्छन् । त्यसले भाग्य लिएर आउने कुरामा उनीहरूको विश्वास छ । कालो बिरालोले बाटो काट्यो भने शुभ मान्छन् ।

जापानका अरु टापुमा भन्दा पनि ‘बिरालो टापु’मा जान पाए हुन्थ्यो भन्ने लागिरहेको थियो । वास्तवमा जापान टापुहरूको समूह हो । त्यसमध्ये तीनवटा टापुमा मानिसभन्दा बिरालाको संख्या बढी छ । ती ‘क्याट आइल्यान्ड’ पर्यटकबीच लोकप्रिय छ । ती टापुमा बसोवास गर्ने परिवारहरू क्रमशः बसाइ सर्दै अन्यत्र जानाले मानिसको संख्या घट्दो छ । तर बिरालोको संख्या बढिरहेको छ । घरमा पालेर होस् वा पूजा गरेर नै किन नहोस्, जापानीहरू बिरालोलाई माया गर्छन् । जापानमा बिरालो पुज्ने थुप्रै धार्मिक स्थल छन् । टोकियोमा अवस्थित बिरालाको मन्दिर ‘गोतोकुजी’ निकै प्रसिद्ध छ । त्यसको ठीक उल्टो चीनको ग्वाङदोङ प्रान्तमा भने बिरालाको मासु लोकप्रिय छ ।

जापानको ओगाकी सहरमा क्याट ट्रेन पनि सञ्चालनमा आएको कुरा जापानमा पुगेपछि थाहा पाएको थिएँ । उक्त ट्रेनमा बिरालोसँग यात्रा गर्न पाइन्छ । क्याट टे«न चढेर क्याट क्याफे जान पाएको भए क्या मजा हुन्थ्यो होला । म त मानिसको भीडले भरिएको सामान्य ट्रेन चढेर सिबुया स्टेसनमा ओर्लेको थिएँ । क्याट वाक, क्याट स्टोर, क्याट आइल्यान्ड, क्याट टेम्पल, क्याट क्याफे, क्याट ट्रेन ! जतिजति पाइला चल्थे, उतिउति क्याट नै क्याट दिमागमा आइरहे । बिरालाहरू आँखाभरि दौडिन थाले ।

क्याट क्याफेको ढोका अगाडि पुग्दा रोमाञ्चित भएँ । तर क्याफेभित्र प्रवेश गर्न त्यहाँको नियमले मलाई रोक्यो । मन्दिरमा दर्शन गर्न गए जस्तो नियमअनुसार जुत्ता बाहिर फुकाल्नुपर्दो रहेछ । र हात धुनु पर्दोरहेछ । सो नियम पुरा गरेर बल्ल क्याफेभित्र पुगेँ । कुनाको एउटा टेबल ताकेर गएँ । कुर्सीमा बसेपछि चारैतिर दृष्टि दौडन थाले ।

यसो हेर्छु— टेबलमा कफीको कप राखेर कोही बिरालासँग खेल्दै थिए । कोही चिया घुट्काउँदै थिए । नढाँटी भन्नुपर्छ, बिरालो मलाई मन पर्ने जनावर होइन । आजका मितिसम्म बिरालोलाई स्पर्श गर्ने अवसर पाएको छैन । क्याट क्याफेभित्र बिरालोसँग मेरो कस्तो सम्बन्ध विकास होला ? सामीप्यता महसुस गरूँला र ? त्यहाँ मलाई दिक्क पो लाग्ने हो कि ? दिङ्दिङ्ती लागेर कफी नै नपिई फुत्त बाहिर पो निस्कने हुँ कि ? अघिसम्मको उत्साहित मनमा आशंकाले कालो बालद मडारिन थाल्यो ।

अधबैंसे उमरकी एक जना डल्ली वेट्रेस ठमठम हिँड्दै मेरो टेबलमा आइन् । र मेन्यु र क्याटलग छाडेर गइन् । छेउछाउमा रहेको टेबलका मानिसतिर दृष्टि लगाएँ । बिरालोको तस्बिर भएको ‘हेल्लो किट्टी’ लेखिएको टिसर्ट लगाएकी युवतीमा मेरो नजर पर्‍यो । सानो आँखा भएकी डल्ली बिराली जस्ती त्यस जापानी युवतीले मलाई पुलुक्क हेरी । उसको नजरलाई मैले मुस्कानसहित हार्दिक स्वागत गरेँ । लजाउँदै टेबलमा भएको बिरालोको तस्बिर भएको ब्याग सम्हाली । तर कुनै प्रतिक्रिया जनाइन ।

अर्को टेबलमा चिम्सा आँखा भएकी युवती थिई । एउटा हातमा कफीको कप समातेर आफ्नोे खुट्टामा लुटपुटिँदै गरेको बिरालो सुमसुम्याउँदै थिई । बिरालोसँग खेल्न पाउँदा दंग थिई ऊ । कफी अर्डर गर्नुपर्ला भनेर जापानी र अंग्रेजी भाषामा लेखिएको मेन्यु पल्टाउन थालेँ । त्यो त मेन्युभन्दा पनि नियम पुस्तिका पो रहेछ ! क्याट क्याफेका नियमले सातो लियो— बिरालोलाई अँगालो मार्न नपाइने, १० वर्षमुनिका बच्चालाई प्रवेश निषेध, फ्ल्यास आउने फोटो खिच्न मनाही, मानिसले खाने खाना बिरालोलाई खुवाउन नपाइने, बाहिरबाट ल्याएको खाना दिन नपाइने आदि ।

एक कप क्याफे लाते मगाएँ । यसो हेर्छु, सामुन्ने टेबलकी उही बिरालीले मलाई हेरिरहेकी थिई । मैले पुलुक्क हेरेको हत्तनपत्त आफ्नो हातको मोबाइलमा आँखा टाँसी । म पनि के कम ? मैले पनि टेबलमा भएको बिरालाका क्याटलग पल्टाउन थालेँ । क्याफेमा भएका विभिन्न रङ, रुप र जातका बिरालाका मायालाग्दा तस्बिरले भरिएको थियो, क्याटलग । तस्बिरको साथमा बिरालोको नाम, जन्ममिति र तिनका स्वभावबारे थोरै कुरा लेखिएको थियो ।

क्याटलगका बिराला हेर्न छाडेर त्यस कक्षमा रहेका वास्तविक बिराला हेर्न थालेँ । थरीथरी रूपरङका २०–२५ वटा बिराला थिए । एकै पटक त्यति धेरै बिराला जीवनमा कहिल्यै देखेकै थिइनँ । मायालाग्दा ती बिराला कुनै मानिससँग लुटपुटिँदै थिए । केही निदाइरहेका र कुनै यताउता हिँडिरहेका थिए । केही बिराला खेलौनासँग खेलिरहेका थिए । बिरालोसँग मानिसको सामीप्यता जंगलबाट घर र घरबाट निस्केर क्याट क्याफेमा आइपुग्नु ठूलो परिवर्तन हो ।

टोकियो सहरका बिरालाप्रेमीको समस्यालाई बुझेरै क्याट क्याफे खोले जस्तो लाग्यो । संसारको सबैभन्दा बढी जनघनत्व भएको टोक्यो सहरमा मानिसलाई बस्ने कोठाको अभाव छ । मानिसहरू साँघुरो कोठामा जीवन गुजारा गरेका छन् । मानिसलाई नै ठाउँको अभाव भएपछि बिरालोलाई कहाँ राख्नु ? कैयौं अपार्टमेन्टमा ठाउँ हुन्छ, बिरालो पाल्न पाइँदैन । त्यही भएर बिरालोको तिर्सना मेटाउन क्याट क्याफेमा जाने गर्छन् । क्याट क्याफेमा धीत नमर्ने कतिले बिरालोलाई भाडामा लिएर जान्छन् ।

एउटा सेतो रङको सानो बिरालो मछेउ आइपुग्यो । त्यसले के गर्ला भनेर विचार गर्दै थिएँ । वेट्रेसले कफी लिएर आइन् । छेउमा आएको बिरालोउपर मैले कुनै प्रतिक्रिया नजनाएकाले होला, तिनले भनिन्, ‘तपाई यसलाई प्रेमपूर्वक छुन र सुमसुम्याउन सक्नुहुन्छ । तर बोक्न वा काखमा राख्न पाउनुहुन्न ।’

दायाँबायाँका मानिस हेर्छु— केही मानिस बिरालोलाई खाना खुवाउँदै थिए । मलाई छाडी जाने बिरालोलाई एक जना युवकले खाना खुवाउँदै गरेको देखेँ । बल्ल कुरा बुझें, त्यस बिरालोले मसँग खानाको अपेक्षा गरेको रहेछ । वास्तवमा बिरालोलाई खाना खुवाउन भनेर म त्यहाँ गएको थिइनँ । त्यो बिरालोले मलाई छाडेर के भो त ? सामुन्ने टेबलमा बसेकी बिराली छँदै छे नि । बरु त्यसैलाई कफी र खाजा खुवाउँला । यस्तै कुरा खेलाउँदै कफी घुटयाउन थालेँ ।

बिरालाहरू दैनिक पन्ध्र घण्टा सुत्ने भएकाले केही बिराला सुतिरहेका र कुनै उँघिरहेका थिए । मानिसको चलमल देखेर हो वा निद्रा पुगेर कुनैकुनै बिराला जुरुक्क उठ्थे, कुनै सुत्ने तर्खरमा उँघ्ने गर्थे । एउटा खैरो रङको बिरालोको क्याट वाक हेर्दै थिएँ । उ त मेरो छेउमै आइपुग्यो । त्यसलाई बिस्तारै सुम्सुम्याएँ । फेरि मेरो नजर सामुन्नेकी बिरालीमा परे । त्यसले त कर्के नजरले मलाई नै पो हेर्दै रहिछ । अबचाहिँ यससँग चिनजान नगरी भएन, कति आँखा मात्र जुधाउनु भन्ने सोची ‘हाई’ भनें । मुसुक्क हाँसी । कुरा अगाडि बढाउन खोज्दै थिएँ ‘नो इङ्लिस’ भनी । बिचरीलाई अंग्रेजी नआउने; मलाई जापानी नआउने । हामी दुईबीच संवादको भाषा नहुँदा बर्लिनको पर्खाल उभिएको महसुस गरेँ ।

अर्को टेबलमा रहेका एक जना जापानी पुरुषसँग चिनजान भयो । उनको कामचलाउ अंग्रेजीले हाम्रो संवादलाई एकछिन निरन्तरता दियो । उनी मसँग बोलिरहेका हुन्थे । तर छिनछिनमा बिरालोतिर आँखा लगाउँथे । त्यो स्वभाव मलाई अनौठो लागिरहेको थियो । गफकै सिलसिलामा उनले रोचक कुरा सुनाए, ‘बिरालोसँग हुरुक्क हुने केही व्यक्ति निश्चित बिरालोसँग मात्र खेल्न मन पराउँछन् । भएभरको माया त्यही बिरालोलाई खन्याउँछन् । म पनि लामो समयदेखि एउटै बिरालोसँग खेलिरहेको छु । मलाई मन पर्ने बिरालो अहिले सुतेकोले कति खेर उठ्ला भनेर प्रतीक्षा गरिरहेका छु ।’

के त्यो बिरालालो बेलाबेलामा आएर मसँग खेल्ने मानिस यही नै हो भनेर चिन्न सक्ला त ? दिनमा सयौं ग्राहकको छेउ पुग्ने बिरालोले कहिलेकाहीँ आउनेलाई कसरी चिन्छ होला ? बिरालोले मलाई चिन्छ भनेर त्यसै मक्ख परेको त होइन ? उनको कुरामा त्यसै शंका गर्न थालेँ । मेरो टेबलअगाडिकी बिरालीबाहेक सबै जना बिरालोसँगको सामीप्यतामा रमाइरहेका थिए । वास्तवमा मानव जातिलाई जहिले पनि कसै न कसैको साथ र सामीप्य चाहिन्छ । मानिससँग टाढिएकाहरू पनि पशुसँग बिताएर एकाकीपन हटाउन चाहन्छन् । त्यो अवसर क्याट क्याफेले जुराइदिएको थियो ।

कफीको अन्तिम घुट्को पिएँ । घडी हेर्दा एक घण्टा पुग्न अझै १५ मिनेट बाँकी थियो । सामुन्नेकी बिरालीलाई यसो के हेरेको थिएँ, उसले मलाई नै पो हेर्दै रहिछ । क्याफेमा त्यत्रो बेर त्यहाँ बस्दा त्यसले बिरालोसँग खेलेको वा स्पर्श गरेको देखिनँ । न कसैसँग बोली । उसका आँखा कि मोबाइल फोनको स्क्रिनमा हुन्थे, कि मतिर । उसको कर्के नजरले मेरो मनमा अनेक खालका तर्क उत्पन्न गराए ।

ऊ चारखुट्टे बिरालोभन्दा पनि म जस्तो ढाडे बिरालोसँग खेल्न चाहन्थी कि ? हुन त हाम्रो संवादको बीचमा भाषाको समस्या थियो । तर हामी खुबैको हातमा स्मार्टफोन थियो । स्मार्टफोनमा भएको भाषा अनुवाद गर्ने एप्सका माध्यमले सामान्य संवाद त गर्न सकिन्थ्यो । त्यसै पनि प्रेमको भाषा अन्तर्राष्ट्रिय हुन्छ भनिन्छ । प्रेम दिन र लिन बोलिरहनुपर्दैन । प्रेममा मौन संवाद नै काफी हुन्छ । जसरी बिरालाले मानिसबाट माया र स्नेह पाउँछन्, त्यसरी नै बिरालाले पनि हामीलाई माया दिन्छन् ।

मैले त्यस बिरालीको आँखाको भाषा बुझिसकेको थिएँ । तर समय अभावले ऊसँग गफिन सकिनँ । सायोनारा भन्दै उसलाई हात हल्लाएँ । बिचरीले निरास हुँदै हात हल्लाई ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.