उमेर
ऊ मलाई कुरिरहेकी छ। क्यापोचिनोको चुस्की लिँदै। कफीसपमा उसका आँखाहरू सधैं धपेडीमा हुन्छन्, मलाई खोजिरहन।
म यतिखेर उसैलाई भेट्न जाँदै छु। ढिलो भएको आभास हुनासाथ मेरो मोटरबाइक बदमास हुन्छ। हात एक्सिलेटरमा छ, एउटा खुट्टा फुटब्रेक र अर्को गियरमा छ, तर मस्तिष्क ऊसितको सम्बन्ध उधिन्न व्यस्त छ।
ऊ, अर्थात् मेरी प्रेमिका।
आज हाम्रो एनिभर्सरी हो। बिहेको हैन। लभ एनिभर्सरी। त्यो पनि पाँच वर्षको। पाँच वर्षअगाडि आजकै दिन मैले राखेको प्रेम प्रस्तावमा उसले मुस्कुराउँदै, दुईवटै गालामा खोपिल्टा पार्दै ‘एस’ भनेकी थिई। तर मेरो त्यो प्रस्ताव पहिलो थिएन। त्योभन्दा अघि चारपल्टको प्रस्तावलाई उसले ‘हुँदै हुँदैन’, भनेर मलाई पन्छाउन खोजेकी थिई।
चौथो प्रयाससम्म त म हारेँ, पाँचौंमा ऊ हारी।
उमेरमा ऊ मभन्दा १० वर्ष बढी थिई। सुन्दरता, बुद्धि र व्यावहारिकतामा मभन्दा १० कदम अघि थिई। यसरी मरिहत्ते गरेर उसको पछि लाग्नुमा यति नै कारण काफी भयो।
हो, उमेरमा म ऊभन्दा १० वर्ष कान्छो थिएँ। र मैले उसलाई गर्ने प्रेम पनि उसले मलाई गर्ने प्रेमभन्दा दसै गुना कान्छो हुँदो हो। म २० को उमंगमा पुगेको थिएँ, ऊ ३० को अंकमा घुसेकी थिई। म जन्मिँदा ऊ कक्षा ५ मा पढ्थी। म कक्षा १ मा टेकिनसक्दै उसले एसएलसी पास गरिसकेकी थिई। बाआमाले मलाई डाइपर फेरिदिने उमेरमा हुँदा ऊ आफैं प्याड फेर्ने भइसकेकी थिई।
यो हिसाबकिताब गरेको दिन हामी मरीमरी हाँसेका थियौँ। हामी हाम्रो उमेरको फरकलाई लिएर एक अर्कालाई खुब उडाउँछौं।
मलाई आफ्ना उमेरका केटीहरू कोही मन नपर्ने। ती सबै बच्चा र कच्चा लाग्ने। चुलबुले उमेरमा भएका केटीहरूप्रति कहिल्यै आकर्षित भइनँ। हाइस्कुलमा हुँदा, क्लासमेट केटीहरू मेरो छेउमा आएर प्याट्ट पिट्थे। खितितिति हाँस्थे। टाँसिन्थे। उनीहरूको गन्धले कहिल्यै लठ्याएन। उनीहरूको आवाजले कहिल्यै मत्याएन। मेरो देहले उनीहरूको सामीप्य कहिल्यै रुचाएन। उनीहरूको रङले मेरो आँत कहिल्यै रंग्याएन।
बरु मन पथ्र्यो त आफूभन्दा धेरै उमेरका मिसहरू, म्यामहरू। बाटोमा देखिने हस्याङफस्याङ गर्दै अफिस आवात्जावत गर्ने केटीहरू। मेरो स्वादै भिन्नै थियो। मेरो मुटु मेरा तमाम साथीहरूभन्दा बेग्लै किसिमले धड्किन्थ्यो। मेरा आँखा मेरा साथीहरूले नदेख्ने दृश्यमा अड्किन्थ्यो।
म म्यानेजमेन्टको विद्यार्थी थिएँ। बिहानीको सत्रमा पढ्थेँ। दिउँसो काम गर्थें। म जुन अफिसमा काम गर्थें, ऊ त्यही अफिसमा मभन्दा तीन पोस्ट माथि थिई। ऊ मलाई तिमी सम्बोध गर्थी र परेका कामहरू अह्राइपराइ गर्थी। म उसलाई तपाईं सम्बोधन गर्थें र उसले जे भने पनि टेर्थें। कम बोल्नु, थोरै मुस्कुराउनु र धेरै काम गर्नु उसका विशेषता थिए। र उसका ती सबै विशेषता देखेर दिनप्रतिदिन कायल हुँदै जानु मेरो विशेषता थियो।
अफिस छुट्टी भएर गफ गर्दै निस्किँदा उसले सोधेकी थिई, ‘कहाँ घर तिम्रो ? ’
मैले ‘मैतीदेवी’ भन्दा ‘मेरो बाटैमा रैछ, म छाड्दिन्छु’ भनेर सँगै स्कुटीमा लैजाने उही थिई। उसको घर अनामनगर रैछ।
कहिलेकाहीँबाट सुरु भएको यात्रा सधैंमा परिणत भयो। यात्रा अफिसदेखि घरसम्मको मात्र भएन, यात्रा मनदेखि मनसम्मको पनि भयो। अफिसदेखि घरसम्मको यात्रामा आउँथे सडक, गल्ली, सटर, घर र जेब्राक्रसहरू। मनदेखि मनसम्मको यात्रामा आउँथे संवाद, मुस्कान, प्रश्न, जवाफ, जिज्ञासा, लाज आदि।
एकदिन मेरो घरनजिकै स्कुटर रोकिएपछि उसलाई भनेँ, ‘म तपाईंप्रति आकर्षित छु। सायद मन पराउँछु।’
ए तीन सेकेन्ड जति मेरो आँखामा आँखा जुधाएर स्कुटी अघि बढाउँदै गई।
दोस्रो पटक, अफिसमा उसलाई एक्लै भेट्दा भनेँ, ‘भित्रैदेखि माया गर्छु।’ यो पटक आँखा तरेर बेवास्ता गरी।
तेस्रो पटक फोनमा भनें, ‘रिसाउनुभा हो ? ’
‘छैन’ मात्रै भनेकी थिई।
‘मैले क्षणिक रूपमा अल्मलिनलाई माया गर्छु भनेको होइन, सोचेर जवाफ दिँदा हुन्छ,’ भनेको थिएँ।
उसले, ‘नमिल्ने कुरा,’ भनेर कुरा टुंग्याएकी थिई।
चौथो भेटमा मैले नै अघि सरेर भनेँ, ‘नमिल्ने के ? उमेर ? ’
ऊ मौन रहेपछि भनेँ, ‘केटीको उमेरभन्दा केटाको बढी हुँदा क्यै नहुने। केटाको भन्दा केटीको उमेर बढी हुँदा चाहिँ किन नमिल्ने ? ’
जवाफ ऊसित थिएन। जवाफ सायद कसैसित थिएन।
तर पाँचौं पटकको प्रस्तावमा उसले खुसीखुसी आफूले पनि मलाई प्रेम गर्ने बताई।
त्यसपछि अफिस झनै सुन्दर लाग्यो। प्रेम हुनुपर्छ, प्रेम गराउने तत्व झनै सुन्दर लाग्ने रैछ। काम गर्दा पनि मज्जा लाग्न थाल्यो। अरूलाई कतिखेर अफिस छुट्टी हुन्छ जस्तो, हामीलाई कतिखेर अफिस खुल्छ जस्तो। परपरबाट एकअर्कालाई हेरिराख्नु, अफिसियल कामको बहानामा घरिघरि बोल्नु। खाजा खाने बेलामा संँगै निस्कनु, सँगै फर्कनु, प्रेमको यो सुखद अनुभवले जिन्दगीलाई सन्तोष र आनन्दको उत्कर्षमा पुर्याइदिएको थियो।
अफिसमै सुरु भएको प्रेम अफिसमा कसरी लुक्न सक्थ्यो ? ऊ रुघाखोकीले ग्रस्त भएर अफिस नआएको दिन केही सिनियर स्टाफहरूले मलाई खिसी गरे।
‘आज दिदीभाइको जोडा कसरी फुट्यो ? ’
मलाई झनक्क रिस उठ्यो।
‘को दिदी ? ’ मैले रुखो आवाजमा भनेँ।
‘सधैं तिमीसित नारिएर हिँड्ने तिम्री दिदी भनेको, आइनन् ? ’
म उनीहरूसित एक शब्द नबोली निस्किएँ।
मेरै उमेरको एक जना स्टाफले कुनै अर्को दिन सोधेको थियो, ‘लभै परेको हो ? ’
‘कोसित ? ’ मलाई थाहा थियो, ऊ के सोध्न खोजिरहेको थियो, तर थाहा नपाए जस्तो गरिदिएँ।
‘म्यामसित के।’
‘त्यस्तो केही होइन। जे पायो त्यही नसोच,’ मैले भनेँ।
‘सही छिन् है म्याम,’ उसले र्याल काढ्दै भन्यो, ‘खै तिमीभन्दा अगाडिदेखि काम गरेको अफिस हो। हाम्रो चान्स कहिल्यै आएन।’
यो पटक भने मेरो रिसको सीमा रहेन। त्यसको बंगारा खुस्किने गरी हिर्काएँ। भोलिपल्ट मेरो जागिर खुस्कियो। जागिर मेरो खुस्किएको थियो। राजीनामा उसले पनि ठोकिदिई।
हामीलाई केही समय फुर्सद भो। एकअर्काबीच झनै नजिक भयौं। उसको नजिक हुँदा ऊबाट प्रसारित हुने एउटा परिपक्व गन्धमा म लठ्ठिरहेँ। पाकेर गुलियो भएको रसिलो फल जस्तो ऊ थिई। स्वभाव उसको सादा भए तापनि प्रकृतिका समस्त रङहरू चढेर गाढा भएकी देखिन्थी। अरूका लागि शुष्क देखिए पनि मेरा लागि लटरम्म माया फलाएकी थिई, आफ्नै यौवनका हाँगाहाँगामा।
ऊ अनेक योजना बनाउँथी। अब के गर्ने ? कहाँ काम खोज्ने ? कहाँकहाँ भ्याकेन्सी खुलेको छ ? पत्रिकाका सब कटिङहरू भेला पार्थी। ‘यहाँ तिमी जाऊ, तिमीलाई ठ्याक्कै सुट गर्नेछ यो,’ मलाई पेपर कटिङ देखाउँदै भन्थी।
कहिले भन्थी, ‘तिमी र म मिलेर छुट्टै केही स्टार्ट गरौं न।’
घरमा पनि थाहा पाए। किन थाहा नपाउनु ? रातरातभर निद्राको बलिदान दिएर मुलायम आवाजमा फोनमा एउटा वयस्क मान्छे अरू कोसित व्यस्त हुन सक्थ्यो ?
तर यो पनि तुरुन्तै थाहा पाइहाले, कि म आफूभन्दा १० वर्ष बढी उमेरकी केटीसित प्रेममा छु।
त्यसपछि सबैका गालीगलौज र हेयका प्रतिक्रिया आउन थाले।
‘कोही पाइनस् ? ’
‘थुइक्क, कसैलाई नआएको बैंस यसैलाई आएछ !’
‘नालायक !’ ‘बेइज्जती !’ ‘कुलांघार !’
कसैले मेरो भावनाको कदर गरेन। कसैले मेरो प्रेमको इज्जत गरेन। कसैले मेरो खुसीको वास्ता गरेन। म एक्लिएँ। परिवारबाट। म एक्लिएँ, साथीसर्कलबाट। तर ऊसले भने मलाई माया गरिरही।
एक दिन हामी कफीसपमा कफी खाँदै गर्दा ऊ नयाँ योजनाहरू बनाउँदै थिई। भन्दै थिई, ‘मैले एउटा प्रपोजल लेख्या छु, फन्ड आउने प्रबल सम्भावना छ। पहिले एउटा संस्था दर्ता गर्नुपर्यो। तिमी त्यो पाटो हेर, म बाँकीको पार्ट हेर्छु।’
म उसका कुरालाई त्यति सिरियस्ली लिइरहेको थिइनँ। म ऊसित एकान्त बिताउन चाहन्थेँ। एउटा प्रेमी भएर। मलाई उसलाई प्रेम गर्न पुगेकै थिएन। उसको नजिक हुन पुगेकै थिएन। उसका कपालमा हराउन पुगेकै थिएन। उसका आँखामा डुब्न पुगेकै थिएन। मलाई उद्वारा प्रेम गरिनै पुगेको थिएन। कहाँको यो प्रपोजल, कहाँको यो करिअर कहाँको पैसा कमाउ अभियान।
मैले धेरै चासो नदिएकाले ऊ पड्किई, ‘तिमीलाई केही कुराको वास्ता छैन, सबै मैले नै गरिँदिँदा, मेरो सहयोग पनि गर्दैनौ ? ’ पहिलो पटक म तर्सिएको थिएँ उसँग। उसको भिन्नै रूप देखेको थिएँ त्यस दिन। एउटी आमाले छोरालाई हकारे जस्तै। एउटी दिदीले भाइलाई कराए जस्तै। म डरले चुप लागेको थिएँ।
भोलिपल्टदेखि उसले भनेको काममा लुरुलुरु लागेँ। आज्ञाकारी बालकझैं।
हाम्रो संस्था दर्ता भयो। उसले आँटेको प्रोजेक्टको काम सुरु भयो। म प्रेममा बढी ध्यान दिन्थेँ। ऊ प्रेममा भन्दा काममा बढी ध्यान दिन्थी। भन्थी, ‘यो बेला पनि केही गरिएन भने, कहिले गर्ने ? ’
ऊ मलाई बारम्बार भनिरहन्थी, ‘तिमी सधैं अल्लारे रहने भयौ।’
अर्को दिन म आफूलाई परिपक्व सावित गर्न उसका हरेक साना साना कुरामा आफ्नो विमति जनाइरहेको थिएँ। ऊ जे भन्थी, मैले भने ‘त्यसो होइन, यसो हो’ भन्थेँ।
भलै उसले केही ठीक भनिरहेकी होस्, म कुरा काटेर ‘त्यो गलत हो,’ भनिरहेको थिएँ। यसो गरिरहँदा मलाई बडो आनन्द आइरहेथ्यो। आफू केही माथि भए जस्तो।
बेलुकी मलाई पाखुरामा समातेर भनी, ‘परिपक्वता अरूको कुरामा बिमति राख्दैमा आउँदैन। अरूलाई तल झार्दैमा माथि पुगिन्न। आफ्नो बुद्धिलाई तिखार। काममा सिनसियर होऊ। सिक।’
मलाई उसले अर्ती दिएको पटक्कै मन परेन। ‘तिमी नै जान्ने। तिमी नै बुद्धिमानी। म बेबकुफ,’ यति भनिसकेर रिसाउँदै हिँडे त्यहाँबाट। ऊ मलाई हेरेको हेर्यै भई।
कति दिनसम्म बोलचालै भएन। एक दिन उसैले फोन गरेर कफी पिउन बोलाई। म भाउ खाँदै गएँ।
‘सरी,’ भेट्नेबित्तिकै भनी, ‘तिमीले लिड गर, म तिमीलाई तिमीभन्दा पछाडि बसेर सहयोग गर्छु, तिम्रो सहयोगी भएर, सहयात्री भएर।’
बडो लज्जित भएँ म। तुरुन्तै माफी मागेँ।
त्यो विवादपछि हामी झनै नजिक भयौं। एकअर्कालाई झनै बुझ्ने भयौं। मलाई प्याराग्लाइडिङ गर्नुपर्ने। बन्जी मन पर्ने। पहाड चढ्न मन लाग्ने। र्याफ्टिङ गर्न मन लाग्ने। उसलाई यी सबै कुराप्रति कुनै रुचि थिएन। ऊ मन पराउँथी घरमै बसेर अंग्रेजी उपन्यासहरू पढ्न। ऊ रमाउँथी कोठाभित्रै इयरफोनमा बियोन्सेका गीतहरू सुनिबस्न।
म पनि ऊसँगै हुँदा एउटै इयरफोन बाँडेर बिसोन्से सुनेर बस्न थालेँ। उसले पढेका अंग्रेजी उपन्यासका सारांश सुन्न मन पराउँन थालेँ। उसले पनि प्याराग्लाइडिङ गरी मेरो लहैलहैमा। झोला बोकेर पहाड चढ्न थाली मसितै नारिएर।
हाम्रा रुचिहरू पनि साझा हुन थाले।
प्रोजेक्टको सिलसिलामा काठमाडौंबाहिर गइरहनुपथ्र्यो। सँगै जान्थ्यौं।
काम सिध्याइसकेपछि होटेलको कोठामा म उसको काखमा घण्टौंसम्म पल्टिन्थेँ। ऊ मेरा कपाल सुमसुम्याउँदै भन्थी, ‘चाहेको भए आफ्नै उमेरकी केटी पाउँथ्यौ, मसित फसे जस्तो लाग्दैन? ’
मैले भनँे, ‘यही प्रश्न मैले तिमीलाई गरेँ भनेँ। आफ्नो उमेरको केटो त तिमीले पनि पाउँथ्यौ। मसित किन फस्यौ ? ’
‘पाउँथेँ होला। आफ्नो उमेरको पनि। आफूभन्दा बढी उमेरको पनि। तर कोही पाउनु मात्र त ठूलो कुरा होइन नि। कसैलाई जति पाए पनि अझै पाइरहन पाऊँ भन्ने प्यास लागिरहनु ठूलो कुरा। तिमीलाई पाएर कहिल्यै पुगेन। तिमीलाई चाहेर पनि कहिल्यै अघाइनँ। उमेरको त के कुरा र। के मान्छेका भावनाहरू समयको धारमा परेर रेटिन्छन् र ? ’
‘नढाँटी भन एउटा कुरा,’ मैले भनेँ, ‘के मलाई भेट्नुअघि मेरो उमेरको मान्छेको सपना देखेकी थियौ ? ’
‘मलाई माया गर्ने मान्छेको उमेर त मैले कहिल्यै सोचिनँ। सोचेँ त माया मात्रै। पत्याइनसक्नु माया, जो अहिले तिमीले गरिरहेका छौ,’ सिलिङतिर हेर्दै उसले भनी।
एउटा प्रेम, जो हाम्रा आआफ्ना नमिल्दो उमेरमै भए पनि सुल्झिएको छ। बाआमाको सोच भने समाजका थोत्रा नियम र मान्यतामै अल्झिएको छ।
म उसलाई गुमाउन सक्दिनँ। ऊ जो एक बनेर आई र अनेक बनेर फिँजिएकी छे, मेरो जीवनमा। आमाले झैं माया गर्छे। बाले झैं कडा हुँदै मेरै भलाइ हुने कामका लागि आदेश दिन्छे। दाइदिदी झैं मीठो झगडा गर्छे। गुरुझैं मलाई कति कुरा सिकाउँछे। अफिसमा बोस ऊ छँदै छे। अनि सबैभन्दा महत्वपूर्ण त एउटी प्रेमिकाले दिने माया त झन् ऊ कहीँ चुकाउँदिनँ। ऊ मेरो अभिभावकजस्तै भएकी छे। साथी भएकी छे। म उसका यति धेरै रूपहरूसित परिचित छु कि उसलाई छाड्ने कुरा सम्झिँदा मात्र एउटा ठूलो परिवार, मेरो सिंगो समाजलाई छाडे जस्तो हुनेछ।
भन्नेहरू भन्दै गर्छन्। कुनै दिन कफीसपबाट मसँगै कफी खाएर ऊ एक्लै अगाडि निस्कन्छे। पछि बिल मगाउँदा वेटरले भन्छ, ‘तपाईंको दिदीले बिल पे गरिसक्नु भो।’
फगतमा म मुस्कुराउँछु मात्र। २० वर्ष सानी केटी लिएर कोही लोग्नेमान्छे हिँड्यो भने अफेयर भनेर अफवाह फैलाउँदै आनन्द मान्ने समाज आफूभन्दा १० वर्ष सानो केटोसित हिँड्दा दिदीभाइको नाता भिराएर लज्जित बनाउन पछि पर्दैनन्।
भन्छन् नि, आफन्तहरू, ‘छोराछोरी पाउने उमेर नाघ्न आँटिसकेकीलाई के च्यापेर हिँडिरा ? ’
साथीहरू पनि त भन्छन्, ‘जोडी त त्यस्तो होस्, जोसितको फोटो फेसबुक र इन्स्टाग्राममा राख्दा पनि अरूले मेड फर इच अदर भनेर कमेन्ट गरुन्।’
सम्बन्ध भित्र जति धुम्मिएको होस्, बाहिर खुलेको देखिनुपर्ने। व्यावहरिकता जति विध्वंश होस्, तस्बिरमा मिलेको देखिनुपर्ने।
उमेर त मेरा ठूलाबा र ठुल्यामाको खुब मिल्थ्यो। ठुल्यामाभन्दा एक वर्ष मात्र जेठा मेरा ठूलाबा। तर उहाँहरूको मन कहिल्यै मिलेन। विचार कहिल्यै मिलेन। त्यसैले होला ठूलाबाले बिहे गरेको पाँच वर्षमै दोस्रो बिहे पनि गर्नुभो।
मेरो साथीले आफ्नै क्लासमेट बिहे गर्यो। र बिहे गरेको दोस्रो वर्षमा डिभोर्स पनि गरिहाल्यो। उनीहरू जस्तो उमेर कसको मिलेको थियो र ?
हजुरबा र हजुरआमाको १४ वर्षको फरक उमेर छ। हजुरबाले नखाई हजुरआमा आफू कहिल्यै खाना खानुहुन्न। हजुरआमाले एकादशीको व्रत बस्दा, मचाहिँ किन खानु भन्दै हजुरबुवा भोकै बस्नुहुन्छ।
प्रेमलाई उमेरले कहाँ छेक्दो रहेछ र ? कहाँ बाँधेर राख्दो रहेछ र। प्रेम अंकगणितभन्दा माथि हुन्छ। यो त समयभन्दा पनि माथि हुन्छ। प्रेम यति अग्लो छ कि आकाश पनि होचो लाग्छ। प्रेम यति गहिरो छ कि सागर पनि सतही लाग्छ। प्रेम यति फैलिएको छ कि यो धर्ती पनि साँघुरो लाग्छ।
मेरो मोटरबाइक कफीसप अगाडि घ्याच्च रोकियो। कफी सपभित्र छिरेँ। एउटा चिटिक्कको केक उसले अर्डर गरिसकेकी रहिछ। उसलाई एउटा गुलाबको फूल दिँदै भनेँ, ‘ह्याप्पी फिफ्थ एनिभर्सरी प्रिय।’
‘थ्यांक यु’ दुईवटै गालामा खोपिल्टा पार्दै उसले भनी, ‘थ्यांक यु। ह्याप्पी एनिभर्सरी प्रिय।’