जन्मदर्ता नगरिदिने बाबु र वडाध्यक्षलाई उच्च अदालतको कारण देखाउ
दाङ : उच्च अदालत तुलसीपुरले तुलसीपुर उपमहागनरपालिका वडा नम्बर ३ का नाममा कारण देखाउ आदेश जारी गरेको छ। जन्मदर्ता सिफारिस नपाएको भन्दै उच्च अदालत तुलसीपुरमा परेको रिटमा उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले तुलसीपुर उपमहानगरपालिका वडा नं ३ का वडाअध्यक्ष विजय भन्ने वीरबहादुर विकको नामा कारण देखाउ आदेश जारी गरेको हो।
कारण देखाउ आदेशमा बालिकाका बाबु तुलसीपुर–३ निवासी लक्ष्मणबहादुर डाँगी समेतलाई जन्मदर्ता नबनाइदिनु र नदिनुपर्ने कारण सहित म्याद तामेल भएको १५ दिन भित्र उपस्थित हुन आदेश दिइएको अभिवक्ता रामशरण चौधरीले जानकरी दिए।
१२ वर्षीया बालिका देवी डाँगीको जन्मदर्ता बनाउन सिफारिस नदिएको भन्दै वडाअध्यक्ष विक र बालिकाका बाबु डाँगी समेतलाई विपक्षी बनाई संरक्षकको तर्फबाट गायत्री डाँगीले दायर गरेको निवेदनमा आदेश जारी गरिएको हो। बाबुले सहज रुपमा बालिकाको जन्म दर्ता नबनाईदिएपछि सर्वोच्चले फैसला गरेको नाता कायमको प्रतिलिपि लिएर पिडित पक्ष वडा कार्यालयमा पुगेका थिए।
तत्तकालीन पुनरावेदन अदालत तुलसीपुर र सर्वोच्च अदालते लक्ष्मण र लेमा लोग्ने स्वास्नी भएकोले निजबाट जायजन्म भएको देवी डाँगीबीच बाबु छोरीको नाता कायम हुने ठहर सहित अंश भराउन फैसला गरेको छ।