पान नम्बर अनिवार्य गर्नुअघि लगानीकर्ताको सुझाव समेटिने
काठमाडौं : धितोपत्र बजारमा स्थायी लेखा नम्बर (पान) अनिवार्य गर्ने सम्बन्धमा लगानीकर्ताको सुझाव समेटिने भएको छ। नेपाल धितोपत्र बोर्ड (सेबन) ले पान व्यवस्था विषयक अन्तर्क्रिया तथा छलफलमा बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीले लगानीकर्ताको तर्फबाट प्राप्त सुझाव समेटेर सरोकारवाला निकायसमक्ष पेस गरी पान कार्यान्वयनमा सहजीकरण गर्ने बताए।
कार्कीले सरोकारवाला पक्षबीच पानमा रहेका समस्या तथा व्यावहारिक पक्षको जानकारी गराएका थिए। उनले भने, ‘सेयर बजारमा पान लागू गर्ने प्राविधिक विषय हो। यसका व्यावहारिक पक्ष र बजारको अवश्यकताअनुसार पान कार्यान्वयनमा आउँछ।’
सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत सेयर खरिद गर्न वैशाख १ गतेदेखि पान अनिर्वाय गर्ने घोषणा गरेको थियो। बजेटमार्फत पान अनिवार्य गर्ने मिति घोषणा भए पनि सरोकारवाला निकायले यसका लागि आवश्यक मस्यौदा तयार गरेका छैनन्। यसले लगानीकर्ता र सरोकारवाला निकायमा अन्योलता छ।
कार्यक्रममा आन्तरिक राजस्व कार्यालयका प्रमुख कर अघिकृत, नेप्से, सीडीएससी, मर्चेन्ट बैंकर एसोसिएसन, स्टक ब्रोकर एसोसिएसनका साथ विभिन्न लगानीकर्ता संघसंस्थाका पदाधिकारी उपस्थित थिए। कार्यक्रममा उपस्थित लगानीकर्ताले पानको विरोधी नरहेको धारणा राखेका थिए। तर, पान लागु गर्दा पुँजीगत लाभकर अन्तिम कर हो कि होइन भन्ने प्रश्न गरेका थिए।
पानमा जान सरकारको तर्फबाट आवश्यक मस्यौदा नभएकाले अन्यौता छाएको उनीहरूको भनाइ छ। नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियारले भने, ‘अघिल्लो वर्ष पुँजीगत लाभकर पाँच प्रतिशत थियो। चालु बजेटमार्फत यसलाई साढे सात प्रतिशत पुर्याइएको छ।’ पुँजीगत लाभकर ५० प्रतिशत वृद्धि गर्दा लगानीकर्ताले स्वीकार गरिसकेको अवस्थामा पान लागू गर्दा करको व्यवस्था कस्तो हुनेतर्फ मात्र लगानीकर्ता सचेत रहेको बताए।
लगानीकर्ताले अघिल्लो वर्षको वार्षिक कारोबारमा भएको घाटालाई नाफामा समायोजन नगरी कर निर्धारण गर्ने व्यवस्था मिलाएर मात्र पान लागू गर्न अनुरोध गरे। यस्तै सेयर खरिदकर्तालाई मात्रै पान अनिवार्य गरिएकोमा सेयर बिक्रीकर्तालाई सो व्यवस्था अनिर्वाय छैन।
‘पछिल्लो समय पुँजी बजार निरन्तर घट्दो क्रममा छ। खरिदकर्तालाई मात्रै पान अनिवार्य गर्दा नयाँ लगानीकर्ता पुँजी बजारमा आउन डराउनेछन्’, रौनियारले भने, ‘पुराना लगानीकर्ता सेयर बेच्दै भाग्ने अवस्था सिर्जना हुन्छ।’ यस्ता समस्या हल हुनेगरी पानको व्यवस्था गर्न आग्रह गरिएको उनले बताए।
यस्तै विदेशमा रहेका लगानीकर्ता र नाबालकलाई प्यानमा ल्याउने व्यवस्था कसरी गर्ने भन्ने विषयमा अलमल गरेको छ। पान स्वतस्फुर्त रूपमा लिने वातावरण तयार गर्न आवश्यक पूर्वाधार नरहेको लगानीकर्ताले बताएका थिए।
प्रमुख कर अघिकृत टंकनाथ पौडेलले पानसम्बन्धी व्यवस्थाबारे लगानीकर्तालाई जानकारी गराएका थिए। पान लिने प्रक्रिया तथा आवश्यक कागजातबारे उनले जानकारी गराएका थिए।