रानीमहलमा थपिँदै होटल
तानसेन : नेपालको ताजमहलका भनेर चिनिने पाल्पाको रानीमहल क्षेत्रमा होटलमा लगानी बढ्दै गएको छ। पछिल्लो समय पर्यटकको आवागमनमा वृद्धि भएपछि होटल खुल्ने क्रम बढेको हो। पाँच वर्ष अघिसम्म रानीमहलमा एकाध चिया पसलमात्रै थिए।
अहिले आवासीय सुविधा सहितका होटलको संख्या १२ पुगेको छ। सदरमुकाम तानसेनबाट रानीमहलसम्म जाने १३ किलोमिटर सडकमध्ये ७ किलोमिटर पिच भएको र ६ किलोमिटर ग्राबेल भई सञ्चालनमा आएपछि रानीमहल पुग्ने पर्यटक बढ्दै गएका छन्। पर्यटकको आगमन बढेसँगै तानसेनदेखि रानीमहलसम्मको बाटोमा विभिन्न किसिमका होटल रेष्टुराँ खुल्ने क्रम बढ्दै गएको हो।
पर्यटकलाई लक्षित गरेर, क्याम्प फायरिङदेखि, कृषि फर्म, कृषि रेष्टुरेष्ट, कटेज, कृषि भान्साघरजस्ता होटल सञ्चालनमा आएका हुन्। अहिले दुई सयजना पर्यटकलाई खाने र बस्ने सुविधा प्रदान गर्ने गरी होटल सञ्चालन गर्दै आएको रानीमहल होटलका सञ्चालक सुरेश पाण्डे क्षत्रीले बताए। रानीमहलमा आउने पर्यटकलाई लक्षित गरी होटल व्यवसायमा ६० लाखभन्दा बढी रकम लगानी गरिसकेको छ।
पयर्टकको आवागमन बढ्दै गएपछि बसन्त कँुवरले रानीमहल क्षेत्रमा होटल व्यवसाय सुरु गरेका छन्। दुई वर्षदेखि रानीमहल क्षेत्र गाईघाटमा डेउ क्यापिङ रेजोट एन्ड रानीमहल होम स्टे सञ्चालन गर्दै आएका छन्। पर्यटकले चाहे अनुसारको खाना, मनोरञ्जन, तथा रमाइलो वातावरणका लागि माछा पालन, स्थानीय परम्परागत खाना, स्थानीय जातका कुखुरा, हाँसजस्ता मासुजन्य पंक्षीसमेत होटल परिसरमा पालन गर्दै आएको कुँवरले बताए।
रानीमहल आएका पर्यटकलाई प्याकेजको रूपमा यस क्षेत्रको प्राकृतिक भ्रमण, विभिन्न स्थानबाट रानीमहलको दृश्यावलोकन, विभिन्न क्षेत्रका अनौठा पहाडको अवलोकन गराउने प्याकेज आदि तयार गरेको उनले बताए।
रानीमहलमा आउने सबै पर्यटकलाई यस क्षेत्रका होटल व्यबसायीले मात्र धान्न सकेका छैनन्, यस क्षेत्रमा अझै स्तरीय, थ्री स्टार, फाइभ स्टारका होटल जरुरी देखिँदै गएको छ। विदेशी पाहुना, नेपाल सरकारका वरिष्ठ पदाधिकारीलाई केन्द्रित होटल तथा सेमिनार भवनको जरुरी रहेको सञ्चालक कुँवरले बताए। रानीमहलमा दैनिक एक हजार पाँच सयसम्म पर्यटक घुम्न आउने गरेको अस्थायी प्रहरी चौकी रानीमहलले जनाएको छ।
धार्मिक, पुरातात्विक, ऐतिहासिक र पर्यटकीय महत्वको उक्त क्षेत्रमा सबै किसिमका पर्यटक पुग्ने गरेका छन्। उक्त क्षेत्रमा उत्तरबाहिनी कालीगण्डकी भएकाले हिन्दू धर्मावलम्बी तीर्थ ब्रत र दान धर्मका लागि पुग्ने गरेका छन् भने १ सय २५ वर्षअघि बेलायती शैलीमा निर्माण भएको दरबारको प्रविधि, निर्माण र भौगोलिक अवस्थाको अवलोकन गर्न भूगोलविद्, इन्जिनियर, प्राविधिक तथा इतिहासविद्हरू पुग्ने गरेका छन्।