लोकप्रिय बन्दै भोजपुरे थुक्पा

लोकप्रिय बन्दै भोजपुरे थुक्पा

भोजपुर : थुक्पाको स्थानीय उत्पादनले भोजपुरको स्थानीय बजार मागलाई धानेको छ। माग बढेसँगै स्थानीयस्तरमै उत्पादित थुक्पा लोकप्रिय पनि छ।

स्थानीय उत्पादनको माग धानेपछि बाहिरबाट ल्याउनुनपर्ने व्यापारीहरू बताउँछन्। विशेष गरी खाजाका लागि प्रयोग हुने थुक्पा होटेल, किराना तथा थोक पसलमा खपत हुन्छ। बाहिरबाट आयात हुने थुक्पाको तुलनामा स्थानीय उत्पादन गुणस्तरीय रहेकाले बजार पनि फस्टाउँदै गएको व्यापारीको भनाइ छ।

थुक्पा उद्योग सञ्चालक लक्ष्मी प्रधानले ताजा, सफा, स्वादिलो र स्वस्थकर हुनाले उपभोक्ताको माग बढ्दै गएको बताए। उनले डेढ वर्षदेखि भोजपुर सदरमुकामको हटिया लाइनमा सिंहशाहिनी थुक्पा उद्योग सञ्चालन गर्दै आएका छन्। उनका अनुसार जिल्लाबाहिरबाट थुक्पा ल्याउँदा धेरै समय लाग्ने, बाटो खराब रहेका कारण बीच बाटोमै आधाजसो बिग्रिने, मिसावट हुनेलगायत गुनासो छ। बाहिरको भन्दा स्थानीय उत्पादनलाई बढी रुचाउने उनले बताए।

बाहिरबाट प्याकेटमा आउने थुक्पाभन्दा स्थानीय उत्पादन गुणस्तरीय र स्वस्थ रहेको होटेल व्यवासायी गणेश श्रेष्ठ सुनाउँछन्। ‘बाहिरबाट आउने थुक्पा पकाउँदा पकाउँदै टुक्रिन्छ। पकाउँदा खानै नहुने गरी बिग्रन्छ’, उनले भने, ‘यसको तुलनामा यहीँ बनाएको थुक्पा सफा र स्वस्थकर छ। बाहिरबाट ढुवानी गरेर ल्याउँदा महँगो पर्छ।’

अर्की होटेल व्यवासायी विष्णु राईले बाहिरको थुक्पा राम्रो नहुने र महँगो हुने प्रतिक्रिया आएको बताइन्। ‘यहाँ उत्पादन हुने थुक्पा राम्रो र सलक्क परेको हुन्छ’, उनले भनिन्, ‘घरमै अर्डरअनुसार आउने भएपछि किन्न फ्याक्ट्री गइरहन पर्दैन।’

सामान्य ढुसीले बिगार्ने भएकाले पूर्ण तयारी नहुन्जेलसम्म थुक्पालाई राम्ररी सुकाउनुपर्ने लक्ष्मीको भनाइ छ। प्रतिकुल मौसम र थुक्पा बनाउने मेसिनको मोटर बिग्रिरहँदा उत्पादनमा समस्या हुने गरेको उनले बताए। उपभोक्ताको संख्या र माग बढेअनुसार उत्पादन बढाउने तयारी गरेको उनले बताइन्। ‘मैले थुक्पामा राम्रै लगानी र परि श्रम खर्चिएको छु’, लक्ष्मीले भने, ‘लगानीअनुसार बजार लिन सकेकाले त्यहाँबाट भएको आम्दानीले सन्तुष्ट पनि छु।’ माग धान्न नसक्दा उत्पादन बढाउने तयारी गरिएको उनले बताए।

१०० किलो मैदाबाट थुक्पा निकाल्न करिब तीन घण्टा लाग्ने तर पूर्णरूपमा तयार हुन एक दिन लाग्ने उनले बताए। मैदालाई मेसिनमा बेलेर थुक्पा निकालेपछि घाममा राम्ररी सुकाएर दरिलो बनाउँदै साइजअनुसार टुक्रा बनाएर प्याकिङ उनी आफैं गर्छन्। एक बोरा मैदाबाट करिब ४६ देखि ४८ किलोसम्म थुक्पा बनाउन सकिने उनले बताए।

‘राम्रोसँग सुकाउन सकिएन भने भाँचिने, नमिठो हुने, छिट्टै बिग्रिने र पकाएर खाँदा स्वाद पनि नआउने हुन्छ’, लक्ष्मीले भने। एक बोरा मैदाको थुक्पा तयार गर्दा एक हजार दुई सय रुपैयाँसम्म नाफा हुने गरेको उनले सुनाए।

आफ्नो उद्योगबाट उत्पादित थुक्पा बजारमा प्रतिकिलो ७५ रुपैयाँ खुद्रामा बिक्री भइरहेको उनको भनाइ छ। सात किलो थुक्पाको पाँच सय १० रुपैयाँमा बिक्री गर्ने गरिएको लक्ष्मीको भनाइ छ। उनको फ्याक्ट्रीबाट उत्पादित थुक्पाले एक सय ८० भन्दा बढी साना–ठूला होटेल, किराना, थोक र खुद्रा पसलको माग धानेको छ। जिल्लाभित्रका विभिन्न ठाउँ र बाहिरबाट पनि माग आइरहेका कारण उत्पादन बढाउनुपर्ने स्थिति आएको उनले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.