छोरीबुहारी पढाउन अभियान
गाईघाट : उच्चशिक्षाका लागि विद्यार्थी गाउँभन्दा सहर बजार केन्द्रीत हुन थालेपछि उदयपुरको रौतामाई गाउँपालिका–७ स्थित रौता क्याम्पसले विद्यार्थीको संख्या बढाउन ‘छोरीबुहारी राष्ट्रसेवक भर्ना’ अभियान सुरु गरेको छ। विद्यार्थीलाई गाउँकै क्याम्पसमा पढ्ने वातावरण तयार गर्न अभियान ल्याइएको क्याम्पस प्रमुख माधव राउतले जानकारी दिए। ‘विद्यार्थी संख्या बढाउने हाम्रो योजना हो। त्यसका लागि यो अभियान सार्थक हुने विश्वास लिएका छौं।’
छोरी, बुहारी र सरकारी कर्मचारीका परिवारलाई मध्यनजर गर्दै अभियान सञ्चालन गरिएको क्याम्पस सञ्चालक समितिका अध्यक्ष अम्बरबहादुर रायामाझीले बताए। अध्ययनको गुणस्तर बढाउन र क्याम्पसलाई टिकाई राख्न छोरीबुहारीको शिक्षालाई प्राथमिकता दिइएको उनले बताए। गाउँमा क्याम्पस नहुँदा स्थानीय विद्यार्थी २ घण्टाको यात्रापछि सदरमुकाम गाईघाट आउने गरेका थिए। गाउँमै क्याम्पस खुलेपछि विशेषगरी छोरी र बुहारीलाई सहज भएको स्थानीयको भनाइ छ।
यस क्याम्पसमा हाल शिक्षा र व्यवस्थापन संकायको अध्ययन हुँदै आएको छ। प्राविधिक, व्यवहारिक र रोजगारमुलक विषय पनि सञ्चालन गर्ने तयारी भइरहेको अध्यक्ष रायमाझीले जानकारी दिए। मुर्कुची मावि परिषरभित्र रहेको क्याम्पसका लागि भौतिक पुर्वाधार निर्माणमा ध्यान दिइएको उनको भनाइ छ। क्याम्पस व्यवस्थापनले प्रशासनिक, खेलमैदान र छात्राबास निर्माणलाई प्राथमिकतामा राखेको अध्यक्ष रायामाझीले बताए।
क्याम्पसले पूर्वसहरी विकास राज्यमन्त्री मञ्जुकुमारी चौधरीलाई सम्मान गरेको छ। क्याम्पसको भौतिक संरचना निर्माणमा सहयोग पु¥याएवापत चौधरीलाई सम्मान गरिएको क्याम्पस प्रमुख राउतले जानकारी दिए। उक्त अवसरमा क्याम्पसका संस्थापक अध्यक्ष जीतुहर्क तामाङ, उपाध्यक्ष गणेश थापामगर, उदयपुर सिमेण्ट उद्योग, खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, क्याम्पस स्थापनाका लागि ४ विगाहा जग्गा र एउटा भवन निर्माण गरिदिने नवज्योति सामुदायिक वन उपभोक्ता समिति, त्रिशक्ति, डुम्रिथुम्का, पुवाँरे सामुदायिक वन समितिलाई पनि सम्मान गरिएको थियो। त्यसैगरी प्राध्यापक जनार्दन दाहाल, उत्कृष्ट छात्र दानबहादुर मगर र छात्रा पुष्पा मगर समेत सम्मानित भएका थिए।
कार्यक्रममा सांसद सुरेश राईले प्राविधिक र व्यवहारिक शिक्षामा जोड दिनुपर्ने बताए। प्रत्येक स्थानीय तहमा क्याम्पस र स्वास्थ्यसम्बन्धी अस्पताल स्थापना गर्ने लक्ष्य सरकारले लिएकाले आफ्नोतर्फबाट पनि सक्दो सहयोग गर्ने सांसद राईले प्रतिवद्धता जनाए। प्रदेश सांसद नारायण बुर्जामगर र गाउँपालिकाका अध्यक्ष गजेन्द्रबहादुर खड्काले अभाव बोकेका जनताका छोराछोरीको शैक्षिक भविश्यका बारेमा क्याम्पस सम्बेदनशिल हुनुपर्ने बताए।
क्याम्पसको तेस्रो सभाले अम्बरबहादुर रायमाझीलाई पुनः अध्यक्षको जिम्मेवारी दिएको छ। उपाध्यक्षमा बिरेन्द्र मगर, कुमारी आलेमगर र लोकबहादुर खड्का चयन भएका छन्। १९ सदस्यीय समितिमा पूर्वअध्यक्ष भरतबहादुर खड्का, पूर्व कोषाध्यक्ष एवं गाउँपालिकाका अध्यक्ष गजेन्द्रबहादुर खड्का, ईश्वर रानामगर, धर्मसिंह तामाङ, मनोज रानामगर, रमेश मगर, लोकबहादुर तामाङ, अमृत गदाल, सोमबहादुर बस्नेतलगायत छन्।