सुकेटार विमानस्थलमा बाक्लो हिमपात, शव लैजान समस्या
ताप्लेजुङ : सुकेटार विमानस्थलमा बाक्लो हिमपात भएपछि बुधबार भएको एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनामा परेका पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहितको शव काठमाडौँ लैजान समस्या भएको छ । बुधबार हिमपातबीच पाथीभरा मन्दिर परिसरबाट उडेको हेलिकोप्टर एक मिनेटमै दुर्घटनामा परेको थियो ।
दुर्घटनामा ज्यान गुमाएकामध्ये चारजनाको शव घटनास्थल तारेभीर क्षेत्रबाट संकलन गरेर नेपाली सेनाको हेलिकोप्टरले सुकेटार विमानस्थलमा ल्याएको थियो ।
संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीसहित विमानमा सवार सातजनाको निधन भएको थियो। दुर्घटनामा परेपछि जलेकामध्ये दुईजनाको मात्रै शव चिनिने अवस्थामा छ ।
खराब मौसम र भिरमा भएको दुर्घटनाका कारण तीनजनाको शव बिहीबार बिहान मात्रै सुकेटार विमानस्थलमा ल्याउन सकिएको थियो। बुधबार रातभर हिमपात परे पनि ताप्लेजुङका डीएपी सञ्जयसिंह थापाको नेतृत्वमा घटनास्थलमै प्रहरीसहितको उद्दार टोली बसेको थियो ।
सातैजनाको शव राखिएको सुकेटार विमानस्थलमा अहिले हिमपात भइरहेको छ । पानी र हिमपातका कारण शव काठमाडौँ लैजाने हेलिकोप्टर उड्न नसकेको हो ।