चेलीको असुरक्षित भविष्य
हामीकहाँ गरिबी, पारिवारिक तथा सामाजिक दुर्व्यवहार, प्रेममा असफल, इच्छाविरुद्धको विवाह आदिका कारण मृत्युवरण गर्ने किशोरीहरू अधिक छन् ।
गएको माघ महिनामा दुई समाचारले मन छोयो। झापामा बीस/पच्चीस जनाले आत्महत्या गरेकोमा अधिकांश १२–१४ वर्षमुनिका नाबालिका रहेछन्। गाउँबाट आएर वीरगन्जमा पढ्न बसेका तराई मूलका दुई चेली निमाकुमारी साह र किरण चौरसियाको मृत्युवरण पनि निकै दुःखद भएको पाइयो। तिनका डेरामा प्रतीकात्मकस्वरूप राखिएको पत्र, पत्रमाथिको रातो गुलाबको फूल र उपहारको घडी पनि रहेछ।
पत्रमा मर्नुअघि आमाबुवाका इच्छा पूरा गर्न नसकेकोमा माफी मागिएको रहेछ। उनीहरूले भारततर्फको रेलको लिकमा पेलिएर आत्महत्या गरेका रहेछन्। नेपालमा गरिबी, पारिवारिक तथा सामाजिक दुव्र्यवहार, प्रेममा असफल, इच्छाविरुद्धको विवाह आदिका कारण मृत्युवरण गर्ने किशोरीहरूको संख्या अधिक छ।
हिन्दु धर्मले दिएको मूल्य र मान्यता
जहाँ नारी पुजिन्छन् त्यहाँ ईश्वरको वास हुन्छ भन्ने हिन्दु धर्मको मान्यता हो। नेपालमा अधिकांश हिन्दु छन्। कुनै पनि धर्ममा भन्दा बढी नारी यही धर्ममा सम्मानित छन्। तेत्तीसकोटी देवता मात्र होइन, देवीहरू पनि पूजनीय छन् तर व्यवहारमा तिरस्कृत छन्। छोरी मरी कालै टर्यो, अरूलाई दान गर्ने जात –यस्तैयस्तै संज्ञा दिइन्छ तर छोरालाई भने खानदानको बीउ मानिन्छ। कानुन–व्यवसायी हुँदा मैले एउटा मुद्दा हेरेकी थिएँ।
सम्बन्ध–विच्छेद भयो महिला र पुरुषबीच। पुरुष परिवारले छोरा जबर्जस्ती खोसेर लगे तर छोरीलाई छाडिदिए। पुरुष पक्षको परिवारले छोरा त बीउ हो। खानदानकी छोरी मोरी जतासुकै जाओस्। कसले खर्च गर्ने अर्काका घरमा जाने जातलाई भनेको सुनेकी थिएँ। सम्पत्ति हुँदै नभएकी आमाको भाग्यमा छोरीको भाग्य टाँसो लगाएको त्यो घटनाले मलाई धेरै दिनसम्म पिरोलिरह्यो।
समाज रूपान्तरण हुन नसक्नु
हाम्रो देशमा ७० प्रतिशत जनता ग्रामीण क्षेत्रमा बसोवास गर्छन्। ग्रामीण क्षेत्रमा बस्नेहरू कोही अर्धशिक्षित छन् भने कोही अशिक्षित। पढेलेखेकाहरूको संख्या कम छ। झन् युवा वर्ग गाउँमा छँदै छैन भने पनि हुन्छ। ग्रामीण क्षेत्रमा कुनै रूपान्तरण आएको छैन। विकास भए मानिसको चिन्तनमा रूपान्तरण आउने हो। त्यसले सहर–बजारमा बस्नेहरूको सोचाइमा पनि खासै परिवर्तन आएको छैन। अहिलेको किशोरकिशोरी शिक्षादीक्षाका निम्ति सहरमा बस्ने गरेका छन्। टेलिभिजन, युट्युब र अनलाइन र मोबाइलका एप्सहरूले सम्पूर्ण विश्वलाई एउटै आँगनजस्तै बनाइदिएको छ। मोबाइलमा संसारभरिको समाचार सुन्न र जान्न सकिन्छ। प्रविधिले युवामा यति ठूलो मानसिक परिवर्तन ल्याएको छ कि यसको प्रभावकै कारण किशोरकिशोरी जीवनको उपल्लो सीमासम्म उडान भर्न चाहन्छन्।
हरेक किशोरीका सपना हुन्छन्। राम्रो भविष्य, सुखमय जीवन, राम्रो परिवार र सम्पन्न घरवार। त्यसका निम्ति उनीहरू योग्यता बनाउन चाहन्छन्। तर परिवारको हकमा पुरातन चिन्तन कायमै छ– ‘बिहेनिम्ति केटालाई चित्त बुझाउन ११/१२ पढाऊ अनि कन्यादान गर’, ‘हातखुट्टा धोएर बिदा गरी पठाइदेऊ’, ‘गरेर खाए खान्छे, नखाए मर्छे।’
अझ तराईमा छोरीलाई धेरै पढाए वा नोकरी लगाइदिए बढी दाइजो दिनुपर्ने वा समान स्तरमा शिक्षा प्राप्त गरेको केटा नपाउने समस्या व्याप्त छ। छोरीले मन परेको केटासँग गरे इज्जत जाने मान्यता छ। छिमेकी मुलुक भारतमा चेलीहरू ‘स्पेस’ मा घुम्न थालिसके। हामीकहाँ छोरी अलिकति उमेर भएपछि बाबुआमालाई पोइल जाली र कुनै स्तरहीन केटासँग भाग्ली भन्ने चिन्ता हुन्छ। समाजमा बढेका छोरीका बारेमा चिन्ता र खसखस भएको पाइन्छ। छोरी के चाहन्छे, उसको भविष्यबारे के सोचाइ छ भन्नेबारेमा छोरीसँग परिवारभित्र कहिल्यै सरसल्लाह हुँदैन। सानै उमेरमा आत्मनिर्भर नभई बिहे गरिदिँदा कति दुःख पाउने हो भन्नेबारेमा कसैलाई चिन्ता हुँदैन। कन्यादान गरी पतिको घर पठाएपछि बाबु आफ्नो जिम्मेवारी सकिए झैं गर्छन्। यसरी जबर्जस्ती वा इच्छाविरुद्ध विवाह गरिदिँदाको असन्तुष्टिले किशोरीहरू जीवनबाट पलायन भएको देखिएको छ।
गरिबीको मार
धनीका छोरीहरू धनले मातिएका छन् भने गरिबका छोरी गरिबीका कारण सास्ती भोग्छन्। धनीका छोरी ठूलाठूला बोर्डिङ स्कुलमा भर्ती हुन्छन्। ब्याग भिरेर खाजाका बट्टा बोकी ड्रेस लगाई चिटिक्क परी पढ्न जान्छन्। गरिबका छोरी साउँ–अक्षर पढ्न पाउँदैनन्। गाईबाख्रा चराऊ, पानी, घाँस दाउरा अनि चुलोचौको गरिबको नियति हो। धनी बाबुका सबै छोरी धन खर्च गरेर पनि उच्च शिक्षा प्राप्त गर्न असफल छन्। थोरै मात्र उच्च शिक्षा प्राप्त गरी हैसियत बनाउन सफल छन्। छोरीलाई आत्मनिर्भर हुन सक्ने बनाउनेभन्दा पनि आधुनिक युगमा पढ्न/लेख्न जानेका पत्नी वा बुहारी बिहे गर्ने मान्यता छ। यसनिम्ति आवश्यक मात्र शिक्षा दिने प्रचलन छ।
स्थानीय क्षेत्रमा स्थानीय निकायका प्रतिनिधि र स्कुल शिक्षकहरूले बेलाबेलामा अभिभावकलाई भेला गरेर सम्झाउने र कानुनी प्रक्रियाका बारेमा जानकारी दिने गरेमा छोरीचेलीलाई घरपरिवार र समाजमा जिउन सहज हुन्छ।
परिवारको सपना हुन्छ— पुतलीको बिहे गरेजस्तो समाजलाई देखाउने गरी धुमधाम पैसा खर्च गरी छोरीको बिहे गर्ने। छोरीलाई आवश्यकता पर्दा कमाइ खाली भन्ने उद्देश्य धनाढ्य वर्गको रहन्न। उनीहरूको उद्देश्य कोही पढेमा डाक्टर, इन्जिनियर वा धनाढ्य घरमा छोरीको बिहे होला र सुखसँग बस्ली भन्नेसम्मको हुन्छ। यो सपना पूरा पनि हुन सक्छ नहुन पनि। पढाइ बिहेको निम्ति मात्र हो भन्ने चिन्तनले कतिपय सम्पन्न परिवारका छोरी स्कुल र कलेजमा आफ्ना पुरुष मित्रसँग अल्पायुमा घरजम गर्न पुगेका पनि छन्। एकातर्फ धनधान्यले पुरेका कारण छोरीको भविष्य बिग्रने अर्कोतर्फ गरिबको पढ्ने हैसियत नपाउने विसंगति छन्। अर्कोतर्फ गरिबका छोरी आफू गरिब परिवारमा जन्मेका कारण जन्मका आधारमा विभेद भएबाट निराश बन्न पुग्छन्।
प्रेममा विफल हुनु
किशोरी र किशोर प्रायः दुवै वर्ग जीवनदेखि निराश हुने अर्को कारण हो— प्रेममा असफल हुनु। आजभोलि सबै शिक्षण संस्थामा केटाकेटी एकसाथ राखेर पढाइन्छ यो सहशिक्षा आफूमा नराम्रो भने होइन। प्रायः ग्रामीण क्षेत्रमा त १२/१३ वर्षका केटाकेटी प्रेम गरी भागेका प्रशस्त उदाहरण छन्। सहरी क्षेत्रमा पनि छिटै प्रेम सम्बन्ध हुने तर सफल नभएका प्रशस्त घटना छन्। त्यसको कारण हो, किशोरीहरू प्रायः पढाइ सकिनेबित्तिकै आमाबाबुले बिहेकै लागि दबाब दिन्छन्। किशोरको बिहे आयआर्जन, नोकरी वा पेसाव्यवसाय नभएसम्म परिवारले मञ्जुर गर्दैन।
प्रेम सम्बन्ध—विच्छेद भएका कारण धेरै युवक—युवती डिप्रेसनको सिकार भएको देखिएको छ। अर्कोतर्फ मुसलमानको पारिवारिक सम्मानका निम्ति छोरी—बुहारी र पत्नीको हत्या गरे झैं हिन्दु संस्कारमा पनि छोरीचेलीको प्रेम सम्बन्ध देखिएमा हत्या गरी मुक्ति लिनेको कमी छैन। तराईमा छोरीलाई कोसी नदीमा बगाउने गरी फ्याँकेको र छोरीको हत्या गरी चितामा जलाउँदा बाबुआमा खित्का छोडी हाँसीहाँसी रमाएका घटना भएका छन्।
पढाइको दबाब
हाम्रो समाजमा हरेक कुरा देखासिकीका आधारमा अनुकरण गर्ने प्रचलन छ। सन्तानको पढ्ने क्षमता छ/छैन, उसले इन्जिनियर, डाक्टर पढ्न सक्ने इच्छा वा अवस्थामा छ/छैन, परिवारको दबाब र प्रभावमा पढ्नैपर्ने हुन्छ। हर हुनेखाने परिवारलाई आफ्नो सम्पन्नता देखाउन छोराछोरीलाई डाक्टर र इन्जिनियर पढाउनैपर्छ। अर्कोतिर छोराछोरी, सन्तान विदेशमा छन् भन्ने देखाउन सके परिवारको प्रतिष्ठा बढ्छ भन्ने छ। धेरैजसो ११/१२ पढेपछि छोराछोरीलाई अनजान सहरमा बाध्य पारेर पढाउने गरेको पाइन्छ। एकजना डाक्टरले भन्दा बढी पैसा १२ कक्षा पढेका व्यापारीले कमाउँछन्। यसरी पढाइको मामलामा हुनेखानेले छोराछोरीलाई दिने दबाब नैराश्यको कारण बन्न सक्छ। विदेशमा गएका कैयन् नेपाली युवाले सफलता प्राप्त गर्न नसक्दा मृत्युवरण गरेको पाइन्छ। स्वदेशमै पनि पढाइमा सफलता हासिल गर्न नसक्दा कतिपयले आत्महत्या गरेका छन्।
अन्त्यमा
झापामा आत्महत्या गर्ने नाबालक छोरीहरू गरिबी, यौनशोषण, बाबुआमाको दुव्र्यवहार र सामाजिक भेदभावका कारण मृत्युवरण गरेका हुन सक्छन्। वीरगन्जमा मर्ने किशोरीहरू भविष्यको चिन्ता र आमाबुवाको दबाब झेल्न नसकी वा सामाजिक परम्पराविरुद्ध संघर्ष गर्न नसकी मरेका हुन सक्छन्।
यस्ता कर्णधारको अल्पायुको मृत्यु रोक्न सकिन्छ। त्यसका निम्ति अभियानको खाँचो छ। बालबालिकाका निम्ति पाठशालाले नै उनीहरूको भविष्यको बाटो निर्धारण गर्न सक्छ। विद्यार्थीलाई शिक्षकले उसको गतिविधि र मनोदशा के छ त्यसको जानकारी राख्ने र सम्झाइबुझाइ गरेमा उपयुक्त हुन्छ। बालबालिका आमाबुवाबाट प्रताडित छन्/छैनन्, घरमा पढ्न लेख्न वाधा–अड्चन छ/छैन भन्नेबारेमा बुझेर शिक्षण संस्था र शिक्षकशिक्षिकाले अभिभावकलाई बोलाई सम्झाइबुझाइ गरे त्यो प्रभावकारी हुन्छ।
बालबालिका भनेका काँचो माटोका भाँडा हुन्। परिवार र पाठशालाले चाहेमा तिनलाई जुनसुकै आकार पनि दिन सक्छन्। ती निर्दोष हुन्छन्, तिनलाई प्रेमपूर्वक माया गरेर ढिँडोपिठो वा मीठोमसिनो खान दिएर माया गरेमा आमाबुवाका निम्ति मित्र नै बन्न सक्छन्। तिनलाई पनि राम्रो व्यवहार गर्न सिकाउनुपर्छ। त्यसो भएमा तिनले घरमा सघाउँछन्। सही विद्या हासिल गर्नेछन्। हामीकहाँ चरम गरिबी छ। समाज अशिक्षित छ। सन्तानमाथि कुट्ने, पिट्ने र दुव्र्यवहार गर्ने प्रचलन पनि छ। पाठशालाका गुरुवर्गले पीडित बालबालिकाका आमाबुवालाई सम्झाउनुपर्छ। गरिबीमा उन्नति हुन सक्दैन भन्ने होइन, हामीकहाँ कैयन् उदाहरण छन्, गरिबले पढेलेखेर सक्षम भएको। धनले मात्र पढाइ हुने अवस्था हुन्थ्यो भने तस्कर, माफिया, भ्रष्टाचारी र दलालसँग धेरै पैसा हुन्छ। तर तिनका सन्तान महात्मा गान्धी बनेको देखिएको छैन। जीवनलाई सन्तुलित रूपमा सञ्चालन गरेमा र मेलमिलापपूर्ण पारिवारिक वातावरण भएमा राम्रैसँग बाँच्न सकिन्छ। तर सन्तानको शिक्षाप्रति भने सजग र सचेत हुनैपर्छ।
सरकारले सरकारी शिक्षण संस्थामा प्रशस्त लगानी गरेको छ। तर ती संस्था कि त राजनीति गर्ने थलो बनेका छन् कि त धनी र गन्यमान्य व्यक्तिका काम गर्ने नोकरचाकर वा तिनका सन्तान पढ्ने थातथलो बनेका छन्। शिक्षामा व्यापक भ्रष्टाचार छ। जति रकम छुट्याइएको हुन्छ, त्यति नै त्यहाँ जाँदैन। जति जान्छ त्यो सञ्चालकबाट गमन हुन्छ। अर्कोतर्फ सरकारी शिक्षण संस्थाको हविगत समाप्त पार्ने काम सरकार र संसद्मा बसेका ठूलाठालुबाटै भएको छ। किनकि तिनै ठूलाठालुको शिक्षण संस्थामा लगानी सेवामूलक नभई व्यापारिक दृष्टिकोणबाट मुनाफा कमाउने गरी भएकाले सरकारी शिक्षण संस्थाको कार्यशैली र व्यवस्थामा ह्रास आएको हो। तसर्थ सरकारले शिक्षा क्षेत्रमा भएको भ्रष्टाचार रोक्नुपर्यो। शिक्षकलाई राजनीतिमा प्रवेश गर्नै दिनु भएन। छात्रवृत्तिको हकमा गरिबका सन्तान मारेर नेतालाई पोस्नु भएन। अर्थात् नेताकार्यकर्ताका सन्तानलाई दिनुभएन। स्थानीय क्षेत्रमा स्थानीय निकायका प्रतिनिधि र स्कुल शिक्षकहरूले बेलाबेलामा अभिभावकलाई भेला गरेर सम्झाउने र कानुनी प्रक्रियाका बारेमा जानकारी दिने गरेमा छोरीचेलीलाई घरपरिवार र समाजमा जिउन सहज हुन्छ।