कृषि क्षेत्रको स्तरोन्नतिमा जापानको सहयोग
काठमाडौं : काभ्रेपलाञ्चोक जिल्लामा कृषिको स्तरोन्नति र कृषि उपजको बजारीकरण गर्न जापानले १९ लाख रुपैयाँ सहयोग गरेको छ । नेपालका लागि जापानी राजदूत मासामिची साइगो आम्दा बहुक्षेत्रीय तथा एकीकृत विकास सेवाकी राष्ट्रिय निर्देशक माइको कोबायासीले बुधबार सहयोगसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
आम्दा बहुक्षेत्रीय तथा एकीकृत विकास सेवाले कार्यान्वयन गर्ने कृषि क्षेत्रको स्तरोन्नति र कृषि उपजको बजारीकरण कार्यक्रम काभ्रे जिल्लाका भूकम्प–प्रभावित समुदायमा केन्द्रित हुने बताइएको छ । आम्दाले स्थानीय तहमा गैरसरकारी संस्था सगुनसँग मिलेर काम गर्ने जनाएको छ ।
तीन वर्षे उक्त परियोजनाको पहिलो र दोस्रो वर्ष स्थानीय किसानलाई सिँचाइ प्रणाली निर्माण र मर्मतमा सहयोग गर्ने तथा प्रांगारिक र स्थानीय मलखाद प्रयोगका लागि तालिम सञ्चालन गर्नेछ । तेस्रो वर्षमा स्थानीय कृषि सहकारीको क्षमता विकास गरी कृषि उपज बजारीकरणमार्फत स्थानीयको आयआर्जन वृद्धिमा सहयोग गर्ने उल्लेख गरिएको छ । परियोजनाले रोशी गाउँपालिकाका ३०० घरपरिवारलाई लाभान्वित तुल्याउने लक्ष्य राखेको छ।