स्वास्थ्य सेवाको जानकारी एप्सबाट
काठमाडौं : समयमा एम्बुलेन्स र सरकारी अस्पतालमा बेड नपाउने समस्या समाधान गर्न सरकारले डिजिटल हेल्थको अवधारणा अघि सारेको छ। त्यसका लागि एप्स तयार पारिँदैछ। सेवाग्राहीलाई डिजिटल हेल्थ सेवा दिन मोबाइलमै जानकारी उपलब्ध गराउने तयारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको छ। त्यसका लागि स्वास्थ्य संस्थाका सेवा र साधनबारे जानकारी दिन एप्स बनाउन थालिएको छ।
मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा.दीपेन्द्ररमण सिंहले ई—हेल्थ स्ट्राटेजी बनाइएको जानकारी दिए। ‘अब रोडम्याप बनाउन बाँकी छ। अहिले सुचारु स्वास्थ्य सेवा र सम्भाव्यताका बारेमा थप छलफल गर्न बाँकी छ। थप के के कुरा विकास गर्न सकिन्छ यसबारे पनि अध्ययन भइरहेको छ’, उनले भने।
मन्त्रालयकी सचिव डा.पुष्पा चौधरीका अनुसार स्वास्थ्य सुविधाबारे जानकारी दिन एप्सको व्यवस्था गर्न लागिएको हो। ‘नजिकको अस्पताल, ब्लड ब्यांक, एम्बुलेन्सलगायत स्वास्थ्य सेवा प्रदायक संस्था एप्समा समेट्ने परिकल्पना गरिएको छ’, डा.चौधरीले बताइन्। अनलाइन सेवा पनि लिन सकिने गरी एप्सको तयार पारिँदैछ। एप्स तयार पार्न मन्त्रालयले प्रविधिविज्ञ सहितको समूह बनाएको छ।
उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादव डिजिटल हेल्थबारे जानकारी लिन भारतको राजधानी नयाँ दिल्ली पुगेका छन्। त्यहाँ हुने ‘ग्लोबल डिजिटल हेल्थ पार्टनरसिप’ सम्बन्धी चौथो सम्मेलनमा भाग लिन गएका उनले स्वास्थ्य क्षेत्रमा अपनाइएका सूचना प्रविधिमा संलग्न विज्ञ तथा वैज्ञानिकसँग प्रविधिको व्यावहारिक प्रयोगसम्बन्धी जानकारी लिने छन्। पहिलो र दोस्रो दिन विभिन्न देशले अपनाएका नीति, चिकित्सा पद्धति, तथ्यपरक मूल्यांकन, साइबर सेक्युरिटी र स्वास्थ्यमा सर्वव्यापी पहुँच तथा दिगो विकासको लक्ष्य हासिल गर्न सूचना प्रविधिको भूमिकासम्बन्धमा तीनदिने सम्मेलनमा छलफल गरिनेछ।
तेस्रो दिन भने प्रदर्शनीमा सहभागी हुने विभिन्न देशका सरकारी अधिकारी, प्राज्ञ, अनुसन्धानकर्ता, उद्योगपतिका साथै स्वास्थ्य प्रविधि क्षेत्रमा क्रियाशील अन्तर्राष्ट्रिय प्राविधिक तथा विज्ञले व्यावहारिक प्रयोगमा ल्याइएका सूचना प्रविधिबारे प्रदर्शनी गरिने भएको छ। सम्मेलनमा विश्वका ६० देशका स्वास्थ्यमन्त्री एवं प्रविधिविज्ञको सहभागी हुनेछन्।
स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री सुरेन्द्रकुमार यादवका अनुसार मोबाइल एप्समार्फत नजिकको अस्पतालमा खाली बेडको जानकारी एप्समार्फत दिइनेछ। प्रतिनिधिसभा बैठकमा मंगलबार बोल्दै राज्यमन्त्री यादवले भने, ‘उपप्रधानमन्त्रीजी यसबारे जानकारी लिन दिल्ली जानु भएको छ। डिजिटल हेल्थ सेवा यहाँ भिœयाउन लागिरहेका छौं।’