वैशाखदेखि पाइपबाटै इन्धन

वैशाखदेखि पाइपबाटै इन्धन

सिमरा : मन्त्रिपरिषद् स्तरीय निर्णयको पर्खाइमा पर्सा राष्ट्रिय निकुञ्जको नौ किलोमिटर क्षेत्रमा रोकिएको बहुप्रतिक्षित मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन विस्तारको काम सुरु भएको छ।

निकुञ्जको नौ किलोमिटर क्षेत्रभित्र रहेको रुख कटानका लागि मन्त्रिपरिषद्ले समयमै निर्णय नगर्दा परियोजनाको काम रोकिएको थियो। गत माघ १० गतेको मन्त्रिपरिषद्को निर्णयसँगै आवश्यक प्रक्रिया मिलाएर निकुञ्जले रुख कटानको काम सुरु गरेको हो।

निकुञ्जले पथलैयास्थित टिम्बर कर्पोरेसनलाई रुख कटान गरी लगत राख्न पत्राचार गरेको छ। निकुञ्जको पत्राचारपछि विधिवत रूपमा पूजा गर्दै रुख कटानको काम सुरु भएको हो। निकुञ्जले जेठसम्म रुख कटानको समय दिएको भए पनि एक महिनाभित्रै सबै काम सम्पन्न गरी वैशाखमै पाइपलाइनबाट इन्धन भिœयाउने आयोजना कार्यालयको लक्ष्य छ।

अमलेखगञ्जस्थित नेपाल आयल निगमका डिपो प्रमुख प्रदीप यादवले रुख कटानको कामसँगै पाइप बिछ्याउने कामलाई अघि बढाइने हुँदा एक महिनाभित्र काम सम्पन्न गर्ने लक्ष्य रहेको बताए। ‘रुख कटान हुँदै गर्दा हामी पाइप बिछ्याउने कामलाई अघि बढाउँदै लैजान्छौं, निर्णय नभएका कारण रोकिएको कामलाई अब गति दिनुपर्छ’, यादवले भने।

निकुञ्जको नौ किलोमिटर क्षेत्रभित्र छाप लगाएका ६ हजार पाँच सय ६३ ठूला र ८१ हजार ६ सय लाथ्रा गरी काटिनेछन्। पहिलो चरणमा परियोजनाका लागि आवश्यक पर्ने त्रिभूवन राजपथबाट २३ मिटर पश्चिमतर्फका रुखहरू काटिने यादवले बताए। रुख कटानका लागि हेटौंडाको निशा सप्लायर्सले एक करोड ४७ लाखमा ठेक्का सकारेको छ।

भारतको ३२ किलोमिटर र नेपालको ३९ किलोमिटर गरी आयोजनाको लम्बाइ ६९ किलोमिटर छ। निकुञ्जको नौ किलोमिटर क्षेत्रबाहेक अन्य स्थानमा पाइप बिछ्याउने काम सम्पन्न भइसकेको छ। मन्त्रिपरिषद्को निर्णयकै कारण पथलैया–वीरगन्ज व्यापारिक मार्ग निर्माणको कामसमेत रोकिएको थियो। यो निर्णयसँगै दुवै आयोजनाले गति लिने यादवले बताए।

एक वर्षभित्र सक्ने गरी गत वैशाख ६ गतेबाट तीन सय २४ करोड लागत रहेको यस आयोजनाको पाइप बिछ्याउने काम सुरु भएको थियो। निर्धारित समयमै अन्य स्थानमा काम सम्पन्न भए पनि निर्णय ढिलो गरी आएका कारण निकुञ्ज क्षेत्रमा केही ढिलो हुने यादवले बताए। उनले एक महिनाभित्र पाइप बिछ्याउने काम सम्पन्न गर्ने र केही दिन परीक्षण गरेर वैशाख अन्तिममै पाइपलाइनबाट इन्धन ल्याउने लक्ष्य आफूले राखेको बताए। ‘अबको एक महिनामा नौ किलोमिटरको काम सकिनेछ, हामीले अन्य तयारी पनि गरिरहेका छौं’, यादवले भने, ‘पाइप बिछ्याउने काम सकिएको केही दिन परीक्षण गरी वैशाख अन्तिममा पाइपबाट इन्धन ल्याउँछौं।’

पाइपलाइन विस्तारसँगै परियोजनाले अमलेखगञ्जस्थित नेपाल आयल निगमको क्षेत्रीय डिपोको स्तरोन्नतिको काम गरिरहेको छ। भारततर्फको ३२ किलोमिटरको काम सकेर भारतीय प्राविधिक अहिले डिपोभित्रको काममा जुटेका छन्। डिपोभित्रको ७५ प्रतिशत काम सम्पन्न भएको प्रमुख यादवले बताए।

पाइपलाइनबाट इन्धन आएपछि ट्यांकरबाट हुने ढुवानी रोकिनेछ। भारतबाट सीधै पाइपमार्फत अमलेखगञ्ज डिपोमा डिजेल र पेट्रोल आउनेछ। पाइपलाइन सञ्चालनमा आएपछि ट्यांकरबाट हुने चुहावट नियन्त्रण हुने निगमको ढुवानी खर्च समेत बचत हुनेछ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.