हेलिकप्टर दुर्घटना : ताप्लेजुङवासी स्तब्ध
ताप्लेजुङ : पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित सातजनाको निधन हुने गरी बुधबार पाथीभरा मन्दिर नजिकै भएको हेलिकप्टर दुर्घटनाले ताप्लेजुङबासीलाई १३ वर्षअघिको घुन्सा दुर्घटनाको घाउ बल्झाइदिएको छ। बुधबार दिउँसो भएको हेलिकप्टर दुर्घटनाको खबरलाई सुरुमा धेरैले विश्वास गर्न सकेनन्। सञ्चारमाध्यमबाट हेलिकप्टर दुर्घटनामा मन्त्रीसहित सातजनाको मृत्यु भएको खबर आएपछि सबैलाई पत्याउन करै लाग्यो।
‘माथिल्लो फेदीबाटै हेलिकप्टर भिरमा खसेको खबर आयो,’ पाथीभरा बहुमुखी क्याम्पस सञ्चालक समितिका सदस्य प्रजिन हाङवाङले भने, ‘सुरुमा त पत्याउनै सकिनँ। तर जे नहुनु थियो, भएरै छाड्यो।’
छिनमै छ्यांग खुला हुने र छिनमै बादलले ढाक्ने यहाँको मौसमी विशेषता हो। एक सातायता वर्षासहित हिमपात भइरहे पनि मन्दिर क्षेत्र खुल्ने र छोपिने भइरहन्थ्यो। पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहितको टोली चढेको हेलिकप्टर बुधबार दिउँसो करिब एक बजे अवतरण ग¥यो। त्यतिबेला यस क्षेत्रमा बाक्लो हिमपात भइरहेको थियो। अत्यधिक चिसोमा पूजा गरेर फर्किएको टोली सदाका लागि बिदा भयो।
पाथीभरा क्षेत्रको विकासमा क्रियाशील तारानाथ घिमिरेका अनुसार पाथीभरा हेलिकप्टर उडानका लागि जोखिमयुक्त क्षेत्र होइन। ‘मैले धेरै पाइलटसँग कुरा गरेको छु। उहाँहरूले पाथीभरामा ल्यान्डिङ र टेकअप दुवै सजिलो छ भन्नुभएको छ,’ घिमिरेले भने, ‘बुधबार अकल्पनीय घटना भयो।’ पाथीभरा दर्शनका लागि पछिल्ला वर्षमा हेलिकप्टरबाट आउनेको संख्या बढ्दो छ। प्रत्येक दिनजसो कुनै न कुनै हेलिकप्टर उडान हुने गरेको छ। पूर्वका विभिन्न स्थानमा हुने मेला तथा महोत्सवमा समेत हेलिकप्टरबाट पाथीभार दर्शनको प्याकेज राख्न थालिएको छ। दुई महिनायता दिनहुँजसो कम्तीमा तीनवटा उडानमा दर्शनार्थी आइरहेको मन्दिरका मुख्य पुजारी डिल्लीराम आचार्यले बताए। ‘पाथीभरामा हेलिकप्टर ल्यान्ड गर्न भन्दा उड्न सजिलो हुन्छ भन्ने सुनेका थियौं,’ आचार्य भन्छन्, ‘यसपटक उल्टो भयो।’
देवी मन्दिर क्षेत्र संरक्षण तथा संवद्र्धन समितिले बिहीबार शोक प्रस्ताव पारित गरेको समितिका अध्यक्ष तारानाथ घिमिरेले बताए। ‘हामीलाई जानकारी नै नगराई आउनुभयो, अगाडि थाहा पाएको भए मौसम खराब छ, नआउनुस् भन्थ्यौं,’ उनले भने।
नेकपाका नेता मातृका भट्टराईले बुधबारको दुर्घटना जिल्लाका लागि मात्रै नभएर मुलुककै लागि दुर्भाग्यपूर्ण रहेको बताए। ‘मदन भण्डारीपछिको अर्को आशालाग्दो नेतासहित पर्यटन क्षेत्रका हस्तीको निधनले स्तब्ध छु,’ उनले भने, ‘यसले देशको समृद्धिमा क्षति पुगेको छ।’ कांग्रेस जिल्ला सभापति लीलादेवी बोखिमले मुलुकले विकासप्रेमी नेता र त्यक्तित्व गुमाएको बताइन्।
शव काठमाडौं लगियो
सातैवटा शव बिहीबार नेपाली सेनाको हेलिकप्टरबाट लगिएको छ। दुर्घटनास्थल फुङलिङ नगरपालिका– १० फुरुम्बुको सिस्नेभिरबाट शव संकलन गरी सुकेटार ल्याइएको थियो। हेलिकप्टर र प्यारासुटको प्रयोग गरेर बुधबार चारजना र बिहीबार बिहान तीनजनाको शव घटनास्थलबाट उठाइएको थियो।
बिहानै काठमाडौं लैजाने तयारी भए पनि वर्षा, हिमपात र कुहिरोले अवरोध गरेपछि चार घन्टा ढिलो भएको प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले बताए। ज्यान जोखिममा राखेर सुरक्षाकर्मीले शव संकलन गरेर उठाएका हुन्। डिएसपी सञ्जयसिंह थापाको नेतृत्वमा नेपाली सेना र सशस्त्र प्रहरीको टोली हिउँको पर्वाह नगरी शव रुँघेर बसे। सुकेटार विमानस्थलमा शव ल्याउने भएपछि बजारवासी बिहानै पुगेका थिए। सबैको अनुहार मलिन देखिन्थ्यो।