उद्यमीको क्षमता विकासमा सहयोग पुग्छ
नेपाल फर्मा एन्ड हेल्थ एक्स्पो– २०१९ का संयोजक जी. नारायणबहादुर क्षेत्रीसँगको अन्नपूर्णपोस्टले गरेको कुराकानी :
नेपाल फर्मा एन्ड हेल्थ एक्स्पो २०१९ के हो ?
यो एक्स्पो नेपालमा स्वास्थ्य र औषधिको क्षेत्रमा भएका उपलब्धि प्रदर्शन गर्ने थलो हो। स्वास्थ्यसँग सम्बन्धित उद्योगी, चिकित्सक, वितरक र रोगजार गर्नेका लागि एक्स्पो फलदायी हुनेछ। एक्स्पोबाट सबैले केही न केही जानकारी पाउँछन्। यस क्षेत्रको विकास र क्षमता अभिवृद्धिमा एक्स्पोले ठूलो योगदान दिन्छ।
एक्स्पोमा के के हुन्छन् ?
स्वास्थ्य क्षेत्रका उल्लेख्य प्रविधि र विकासको प्रदर्शनी हुन्छ। औषधि उत्पादनमा लाग्ने सम्पूर्ण उपकरण र तिनको अपडेट यहाँ देखाइन्छ। एउटा कम्पनीभित्र हेरिने सबै कुरा यहाँ देखाइन्छ। पूरै फ्याक्ट्री एकै स्थानमा हेर्न सकिने सुविधाको प्रदर्शनी हो यो।
एक्स्पोमा अंगदानको अभियान सञ्चालन गर्नुको तात्पर्य र उद्देश्य के होला ?
मृत्युपछिको अंगदानलाई हामीले सामाजिक अभियानका रूपमा चलाएका छौं, ‘बाँचुन्जेल रक्तदान मरेपछि अंगदान’ भनेर। मृत्युपछि जलाइने अंग दान गरे अरूले जीवन पाउँछन्। त्यसैले मरणोपरान्त अंगदानको चेतना एक्स्पोमा बाँडिने छ। एक्स्पोमा अंगदानका लागि छुट्टै स्टल छ। त्यहाँ आएर आफ्नो मरणपछि अंगदानका लागि फारम भर्ने व्यवस्था गरिएको छ।
एक्स्पोबाट लाभ लिने समूह को को हुन् ?
एक्स्पोले औषधि उत्पादनसँग सम्बन्धित हरेक मानिस र प्राविधिकलाई गुणस्तरीय उत्पादनका लागि ज्ञान दिलाउँछ। यहाँ धेरै प्रयोगात्मक ज्ञान उपलब्ध हुन्छन्। यो सबै स्वास्थ्यकर्मीका लागि पनि लक्षित छ। औषधि उद्योग र औषधिसम्बन्धी सबै ज्ञान एकै थलोमा पाइन्छ।
औषधि उत्पादनमा हाम्रो उपलब्धि के छ ?
हामीले एक दशकदेखि आत्मनिर्भर भएका औषधिको आयातमा रोक लगाए बजार ठूलो भई स्वदेशी उद्योगको प्रवद्र्धन र विकास हुन्छ भनेका छौं। त्यसनिम्ति हामीले धेरै प्रयास गर्यौ। अब सरकारी तवरबाट यसका लागि काम हुनुपर्छ। राजनीतिक तथा कर्मचारी संयन्त्रमा यसको चिन्तन सुरु भएकाले एक्स्पोले यसको ठोस कार्यान्वयनमा पहल गर्ने छ। एक्स्पोमा स्वास्थ्य र उद्योगमन्त्रीसमक्ष यसबारे कुरा राखिने छ। हामीले अन्तर्राष्ट्रिय गुणस्तर कायम गरी कम मूल्यमा राज्यलाई औषधि दिन सक्छौं भनेर धेरैपटक प्रतिबद्धता जाहेर गरेका छौं। अब राज्यले कार्यान्वयन गरिदिए यस क्षेत्रको विकास हुन्छ भन्ने हाम्रो दाबी हो।