औषधिमा उन्‍नति

औषधिमा उन्‍नति

बिरामी हुँदा औषधि सेवनका लागि विदेशी मुलुकबाट आउने औषधिको भर पर्नु पर्ने अवस्थाको अन्त्य हुन लागेको छ। झन्डै ५० वर्षको इतिहासमा स्वदेशी औषधि उद्योगले औषधिमा मुलुकलाई आत्मनिर्भरतातर्फ डोर्‍याउँदै छन्।

बजारमा उपलब्ध औषधिको गुणस्तरलगायतका विषयमा अनुगमन तथा परीक्षण गर्न औषधि व्यवस्था विभागलाई हम्मेहम्मे पर्न थालेको छ। विभागका महानिर्देशक नारायण ढकालका अनुसार, एलोपेथी र आयुर्वेदसमेत गरी एक सय ३५ औषधि उद्योगका नौ हजार ब्रान्ड रहेका छन। ट्याब्लेट, क्याप्सुल तथा अन्य झोलदेखि इन्जेक्सनबाट दिइने औषधि स्वदेशमै उत्पादन भइरहेको छ। पशुहरूलाई चाहिने भ्याक्सिनसमेत स्वदेशमै उत्पादन सुरु भएको छ। ‘स्वदेशमा जति औषधिको माग छ त्यसको आपूर्ति गर्ने क्षमता अझैं विकास भइसकेको छैन।’ महानिर्देशक ढकालले भने।

आत्मनिर्भरतातर्फ अग्रसर

२०४५ सालमा नाकाबन्दी हुँदा नेपाललाई औषधिको क्षेत्रमा ठूलो झट्का लागेको थियो। औषधि अभाव भएको थियो। तर, अहिले भने स्वदेशी औषधिका कारण २०७२ सालको भूकम्प र नाकाबन्दीमा पनि उपभोक्ताले औषधि नपाएर छटपटाउनुपर्ने अवस्था आएन।

स्वदेशी औषधि कम्पनीले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को मापदण्डअनुसार गुणस्तर कायम गरी स्वदेशमै औषधि उत्पादन भइरहेको छ। औषधि उत्पादनलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसारको गुणस्तरीयता कायम गर्दै आत्मनिर्भरतातर्फ अगाडि बढाएका छन्। मुलुकलाई आवश्यक पर्ने गुणस्तरीय औषधिहरू स्वदेशमै उत्पादन गर्दै विदेशी कम्पनीहरूसँग प्रतिस्पर्धा गर्ने क्षमता देखाएका छन।

स्वदेशमा ५३ वटा औषधि उद्योगहरू रहेको औषधि उत्पादक संघले जनाएको छ। संघका सदस्य एवं नेपाल हेल्थ तथा फर्मा एक्स्पोका सञ्चार संयोजक विप्लव अधिकारीका अनुसार स्वदेशीलाई प्रोत्साहित गर्ने हो भने दुई वर्षभित्रमा ८० प्रतिशत औषधिमा आत्मनिर्भर हुने अवस्था छ। निकट भविष्यमा ३० वटा उद्योगहरू सञ्चालनमा ल्याउने तयारी छ। जसमध्ये आधा जति अर्को वर्ष नै सञ्चालनमा ल्याउने तयारी छ। भवन बन्दैछन्। नीति व्यवसायीमैत्री हुनुपर्छ। काठमाडौं, चितवन, बारा, विराटनगर, हेटौंडा, नेपालगन्ज, दाङलगायतका क्षेत्रमा उद्योगहरू खुल्दैछन्। उनी भन्छन, ‘विदेशबाट आयातीत औषधिलाई निरुत्साहित गर्ने गरी राज्यले नीति बनाई कार्यान्वयन गर्नुपर्ने खाँचो रहेको छ।’

अहिले झन्डै २५ हजारले स्वदेशी औषधि उद्योगमा प्रत्यक्ष रोजगारी पाएका छन्। अप्रत्यक्षरूपमा साढे दुई लाख संलग्न रहेका छन। नेपालमा औषधिको बजार झन्डै ४५ अर्बको रहेको छ। जसमध्ये १८ देखि २० अर्ब बजार हिस्सा स्वदेशी औषधिको हिस्सा ओगटेको छ। झन्डै २५ अर्बको हिस्सा आयातीत औषधिले लिएका छन्। दैनिक सात करोडको औषधिको आयात हुन्छ। जसमध्ये ९३ प्रतिशत भारतबाट आउँछ। त्यसबाहेक अमेरिका, चीन, बंगलादेश, जर्मनलगायतका मुलुकबाट आयत हुने गरेको छ।

व्यापार घाटा न्यूनीकरण

औषधि उद्योगहरूले हजारौंको संख्यामा रोजगारी सिर्जना गर्नुका साथै व्यापार घाटा न्यूनीकरणमा टेवा पुर्‍याएका छन्। तीन दशक अघिसम्म औषधिका लागि नै दैनिक करोडौं रुपैयाँ बाहिरिन्थ्यो। तर, अहिले औषधिका लागि बाहिरिने रुपैयाँमा कमी आएको छ। नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणा नेपालमा उत्पादित औषधिले बजार हिस्सा बढाउँदै लैजाँदा व्यापार घाटा न्यून गर्न सहयोग पुगेको बताउँछिन्। सरकारले लगानीमैत्री वातावरण बनाउने हो भने औषधि उत्पादनमा केही वर्षभित्रै आत्मनिर्भर हुने संकेत देखिएको छ।

नेपाली बजारको झन्डै ८० प्रतिशत स्वदेशी औषधिले लिन सक्ने सम्भावना रहेको महासंघकी अध्यक्ष राणा बताउँछिन। हाल नेपाली औषधिले झन्डै ४५ प्रतिशत बजार हिस्सा ओगटेको छ। ‘व्यापार घाटा बढिरहेको बेला स्वदेशमै उत्पादित औषधिलाई प्रोत्साहनको खाँचो छ। औषधि आयातमा नियन्त्रण गरेर भए पनि स्वदेशी औषधि उद्योगलाई प्राथमिकता दिनुपर्छ। आयातलाई निरुत्साहित गर्नुपर्छ।’ उनले भनिन्।

नेपालमा विशेषगरी जनरल मेडिसिनहरू उत्पादन गरिन्छन्। भिटामिनका क्याप्सुल, झोल, चक्की, पाउडर, मल्हमलगायतका मेडिसिनहरू उत्पादन हुने गरेका छन्। उत्पादनको अनुपात बढे जसरी आयातको अनुपात पनि सोही रूपमा बढेको हुनाले नेपाली उत्पादनको बजारीकरण ४० देखि ४५ कै हाराहारीमा छ। जटिल खालका रोगका लागि आवश्यक पर्ने औषधिमा भने परनिर्भर हुनुपर्ने बाध्यता छ। यद्यपि, स्वदेशमा स्थापनामा रहेका नयाँ औषधि उद्योगहरूले जटिल खालका औषधि उत्पादन गर्ने प्लान्ट जडान गर्ने क्रममा रहेकोले आशावादी हुने ठाउँ रहेको उत्पादक संघका सदस्य अधिकारी बताउँछन्।

स्वदेशी औषधि उद्योगले औषधिमा मुलुकलाई आत्मनिर्भरतातर्फ डोर्‍याउँदै छन्।

झन्डै आधा हिस्सा नेपाली औषधि खपत हुनु विश्वसनीय र गुणस्तरीय भएर नै हो। उपभोक्ता र चिकित्सकको विश्वास र सहयोगका कारण नै स्वदेशी औषधिहरूले बजार विस्तार गर्न सफल भइरहेका छन्। चिकित्सहरूले पनि नेपाली उत्पादनलाई प्राथमिकता दिन थालेका छन्। आयातीत औषधिभन्दा स्वदेशमै उत्पादित औषधिमा चिकित्सकहरूले प्रेस्क्राइब गर्न थालेका छन्। त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल महाराजगन्जका कार्यकारी निर्देशक प्राडा प्रेमकृष्ण खड्गा नेपाली औषधिहरू गुणस्तरीय नै रहेको बताउँछन्। उनी भन्छन्,‘ स्वदेशमै उत्पादित औषधिको गुणस्तर धेरै राम्रो भइसकेको छ। सकेसम्म नेपालमै उत्पादित औषधिलाई जोड दिएका छौं। नेपाली औषधिहरू गुणस्तरीय नै देखिएको छ।’ नेपाली औषधिको गुणस्तर र विश्वसनीयता वृद्धि गर्न औषधि व्यवस्था विभागले ध्यान दिनुपर्ने आवश्यकता रहेको डा. खड्गा बताउँछन्।

उद्योगीलाई लगानीमैत्री वातावरणका लागि सरकारले कच्चा पदार्थको आयातमा छुट दिने, बैंक तथा वित्तीय संस्थाहरूले ऋण उपलब्ध गराउने, चिकित्सकहरूले प्रेस्क्राइब गर्ने र उपभोक्ताहरूले स्वदेशी औषधिप्रति विश्वास दिलाउने पर्ने आवश्यकता देखिएको छ। अर्थविद् डा. गोविन्द थापाका अनुसार, सरकारले औषधि उत्पादनमा प्रयोग हुने उपकरण आयातमा भन्सार छुट दिनुपर्ने आवश्यकता छ। करमा छुट दिने र उद्योग सञ्चालनका लागि बैंकको कर्जामा ब्याज अनुदानको व्यवस्था गरेर स्वदेशी उद्योगलाई प्रोत्साहित गर्नुपर्ने आवश्यकता छ।

मुलुकमा उपलब्ध बहुमूल्य जडीबुटीबाट अधिकतम फाइदा लिन जडीबुटी प्रशोधन तथा जडीबुटीमा आधारित औषधिजन्य वस्तुको उत्पादन र निकासीमा विशेष जोड दिइने चालू चौधौं योेजनामा उल्लेख छ। ‘स्वदेशमै बहुमूल्य जडीबुटी छ। यसलाई औषधिजन्य वस्तुमा उत्पादन गर्ने हो भने औषधि निर्यातसमेत गर्न सक्ने सम्भावना छ।’ अर्थविद् डा.गोविन्द थापाले भने।

गुणस्तरमा सुधार

मानिस तथा पशुपंक्षीलाई हुने रोग निको पार्न वा रोग ल्याउने कीराको नास गर्न प्रयोग गरिने पदार्थ नै औषधि हो। मानिस एवं पशुपंक्षीको शारीरिक वनावट वा प्रक्रियालाई असर पार्न समेत औषधिको प्रयोग गरिँदै आएको छ। रोगको रोकथाम गर्न प्रयोग गरिने औषधिको उत्पादन गर्दै स्वदेशमै उन्नति भएको छ। औषधि बनाउने, तयार गर्ने, प्रशोधन गर्ने, औषधिमा परिणत गर्ने, प्याकिङ गर्ने, पुनः प्याकिङ गर्ने वा लेबुल लगाउने प्रक्रिया वा सो सम्बन्धमा अपनाइने सम्पूर्ण वा कुनै प्रक्रिया हो।

इनोभेटिभ फर्माल्याब प्रालिका प्रबन्ध निर्देशकसमेत रहेका अधिकारी स्वदेशी औषधि उत्पादकहरूले अन्तर्राष्ट्रिय स्तरको प्रविधि, स्तरीय उत्पादनका साथ सुलभ मूल्यमा नेपाली औषधिहरू बजारमा उपलब्ध गराएको दाबी गर्छन्। उनी भन्छन्, ‘स्वदेशी उत्पादकहरू सबल रूपमा अघि बढिरहेका छौं। सरकारले औषधि उद्योगलाई प्राथमिकता दिई अघि बढाउने हो भने लगानमैत्री वातावरण बन्छ। दुई वर्षभित्रमा औषधिलाई आत्मनिर्भर बनाउने सरकारी घोषणा कार्यान्वयनमा सहयोग पुग्छ।’

औषधि व्यवस्था विभागका महानिर्देशक ढकालका अनुसार, औषधि उत्पादन गर्दा गुणस्तरलाई ख्याल गर्नुपर्ने हुन्छ। निर्धारित मापदण्डअनुसार नै औषधिहरू बन्छ। उपभोक्ताको खल्तीमा औषधि पुग्दासम्म गुणस्तरमा कमी कमजोरी देखा पर्ने सम्भावना हुन्छ। बेलाबेलामा बजारमा उपलब्ध औषधि संकलन गरेर औषधि व्यवस्था विभागले परीक्षण गर्दै आएको छ।

विभागका महानिर्देशक ढकालका अनुसार, उत्पादकहरूले पनि उत्पादित औषधिहरूको अनुगमन गरिरहेका हुन्छन्। गुणस्तरहीन औषधि आफैं पनि फिर्ता लिने गरेका छन्। ‘हामीले परीक्षण गर्दा पनि औषधिमा गुणस्तर कायम नभएको पाइएपछि बजारबाट फिर्ता गरेका छौं। विदेशबाट आयात भएका कतिपय औषधि पनि गुणस्तरहीन भएको पाइएको छ।’ महानिर्देशक ढकालले भने। उत्पादकले गुणस्तरीय उत्पादन गर्ने प्रयास गर्दागर्दै पनि उपभोक्तासम्म पुग्दा गुणस्तरहीन हुन सक्ने भएकोले औषधि उत्पादनको जीवनचक्र नै हेर्ने गरेको महानिर्देशक ढकालको दाबी छ। सुरुमा बजारमा दिँदा मापदण्डअनुसार बजारमा औषधि पठाइएको हुन्छ।

सबै प्रदेशमा प्रयोगशाला

स्वदेशी एवं विदेशी औषधिको उत्पादन र बिक्रीवितरण संख्यात्मकरूपमा वृद्धि भइरहेको बेला बजार अनुगमन र औषधिको परीक्षण गर्न जनशक्ति र प्रयोगशालाको विस्तार गर्नुपर्ने खाँचो छ। औषधि व्यवस्था विभागका महानिर्देशक ढकाल औषधि परीक्षणका लागि सबै प्रदेशमा एक÷एक प्रयोगशाला स्थापना गर्नुपर्ने खाँचो रहेको बताउँछन्। ‘अहिले जनशक्ति न्यून छ। प्रयोगशाला पनि अपर्याप्त छ। प्रादेशिक तहमा नै परीक्षण गर्न प्रयोगशालाको विस्तार गर्नुपर्छ। त्यसो भए मात्र नियमन गर्न पनि सहज हुन्छ।’ महानिर्देशक ढकालले भने।

अहिलेको जनशक्तिको संख्यामा वृद्धि गरी परीक्षण गर्न सक्ने क्षमता वृद्धि गर्नुपर्छ। प्रणालीगत विषय भएकोले औषधिको परीक्षण मात्र अपर्याप्त हुन्छ। कुरा हो। कच्चा पदार्थको गुणस्तर, सञ्चय र उत्पादनलगायतका पक्षमा ध्यान दिनुपर्छ।

महँगो लागत, सुलभ मूल्य

औषधि उत्पादनका लागि आवश्यक कच्चापदार्थ भारतलगायतका मुलुकहरूबाट ल्याउनु पर्दछ। कच्चा पदार्थ आयात गरेको मुलुकबाटै आउने औषधिसँग स्वदेशमा उत्पादित औषधिले प्रतिपर्धा गर्नुपर्ने अवस्था छ।

कच्चा पदार्थबाहिरबाट ल्याएर औषधि उत्पादन गर्दा औषधिको लागत बढी हुने गरेको छ। जसबाट औषधिको मूल्यमा बढी पर्न जान्छ। औषधि उत्पादक संघका सदस्य विप्लव अधिकारी नेपाली औषधि उद्योगको लागत पनि बढी भएको बताउँछन्। ‘भारतीय औषधिसँग एकरूपता गर्न मूल्यमा समायोजन गरेर बजारमा ल्याउनुपर्छ। कच्चा पदार्थ आयात गर्नुपर्ने भएकोले मार्जिनमा खेल्ने कार्य नेपाली उद्योगहरूले गर्न सक्दैनन्। लागत बढी भए पनि प्रतिस्पर्धा गर्नुपर्ने अवस्था छ।’ संघका सदस्य अधिकारीले भने।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.