हेलिकप्टर दुर्घटना : हिउँ छिचोल्दै फर्कियो उद्धार टोली

हेलिकप्टर दुर्घटना : हिउँ छिचोल्दै फर्कियो उद्धार टोली

ताप्लेजुङ : ताप्लेजुङमा बुधबार भएको हेलिकप्टर दुर्घटनामा पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित सातजनाको निधन भयो। त्यही दिन सबै शव सुकेटार विमानस्थल ल्याउन सकिएन। रातभरि रुँघेर राखेको तीनवटा शव बिहीबार बिहान सुरक्षाकर्मीले दुर्घटनास्थलबाट हेलिकप्टरमा उठाइदिए।

शव र दुईजना सेनालाई डोरीमा झुन्ड्याएर हेलिकप्टर सुकेटार विमानस्थल उडेलगत्तै हिमपात सुरु भयो। खुला आकाशमुनि हिउँमा रात कटाएको उद्धार टोलीलाई कसरी फर्कने भन्ने समस्या भयो। ‘मौसम एकैछिन खुलेको बेला शव पठाउन सफल भयौं,’ उद्धारमा खटिएका ताप्लेजुङ प्रहरी प्रमुख डिएसपी सञ्जयसिंह थापाले भने, ‘लगत्तै वर्षा र हिउँ पर्न थालेकाले फर्कन समस्या भयो।’ दुर्घटनास्थल पाथीभरा क्षेत्रको फेदीबाट करिब एक किलोमिटर दूरीमा पर्छ। कडा चट्टानी पहाड छिचोल्दै दुर्घटनास्थल पुग्न अत्यन्तै कठिन छ ।

अघिल्लो दिन राति कम हिउँ भएकाले स्थानीय र सुरक्षाकर्मीको टोली पहराको बीचमा धुवाँ आएको ठाउँ पहिल्याउँदै त्यहाँसम्म पुगेका थिए। चार शव उठाउन सघाएर उनीहरु फर्किए। राति सुरक्षाकर्मी मात्रै बसे। ‘तीन ठाउँमा आगो फुकेर वरिपरि बस्यौं,’ सशस्त्र प्रहरी निरीक्षक युगहाङ पतङ्वाले भने, ‘चिसोले बिरामी परिन्छ कि भन्ने डर थियो। तर कसैलाई केही भएन।’ उनका अनुसार वन्यजन्तुबाट जोगाउन पनि शव रुँघेर बस्नैपर्ने बाध्यता थियो।

उज्यालो हुँदा मौसम खुलेर सामुन्नेमा रहेका सुकेटार विमानस्थल र फुङलिङ बजार देखेपछि आशाको सञ्चार भएको थापाको भनाइ छ। हेलिकप्टरलाई घटनास्थलभन्दा माथि आकाशमै ‘ओभरिङ’ गराएर नेपाली सेनाका प्रताप लामा र तेज भुजेल डोरीबाट झरेका थिए । शवसहितको डोरीमै झुन्डिएर उनीहरू सुकेटार विमानस्थलसम्म आए । बिहीबार बिहान साढे सात बजे हेलिकप्टरले शव लगेपछि सबै ढुक्क बनेर फर्कने सुरसार गरे।

‘अघिल्लो दिनदेखिको भोको र अनिँदो थियौं,’ थापा भन्छन्, ‘राज्यले नै यति ठूलो क्षति व्यहोरेको बेला हाम्रो पीडा केही पनि होइन भन्ने ठानेर अघि बढ्यौं।’ उनका अुनसार हिउँ बाक्लै गरी जमेकाले जोखिम थियो। ‘केही गरी खुट्टा चिप्लिएमा भीरबाट सीधै तल खसिन्थ्यो। माथिबाट हिउँ र ढुंगा झरेर लाग्ने डर पनि उस्तै थियो,’ थापाले भने, ‘हिउँ छिचोल्दै हामी फर्कियौं। हिउँले ढाकेका कारण छोटो बाटो काट्न पनि धेरै समय लाग्यो।’

सबैले चस्मा नलगाएका कारण हिउँमा आँखा हेर्न समेत कठिन भएको सशस्त्रका इन्सपेक्टर पतङ्वा बताउँछन्। निकै नै होसियारी अपनाएर उद्धारका लागि खटिएको सुरक्षाकर्मीको टोली तीन घन्टामा फेदीमा आइपुगेको उनले बताए। अघिल्लो दिन मालिंगोको टुसा खोज्नजाने बाटोबाट स्थानीय र खानेपानीको पाइप टाँगिएको बाटो पहिल्याएर सुरक्षाकर्मीको टोली घटनास्थलमा गएको थियो।

नेपाली सेनाको टोली भने शुक्रबारसम्म फर्किएको छैन । उनीहरू दुर्घटनामा परी मृत्यु भएका मन्त्री अधिकारीका अंगरक्षकको पेस्तोल खोजिरहेका छन्। ‘दुर्घटनामा परेका अंगरक्षकको पेस्तोल खोज्ने काम भइरहेको छ। भेटिने आशा पनि मरिसक्यो,’ सेनाका एक अधिकारीले भने, ‘डढेर सबै खरानी भयो कि जस्तो लाछ। तीनदिनदेखि खोजी गरिरहे पनि भेटेका छैनौं।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.