बेलुन

बेलुन

हत्तेरिका ! आमाको अगाडि, त्यो पनि बेलुन। केको बेलुन नि ? बेलुन त मेरो आफ्नो भाषामा थियो। अरूको लागि त कन्डम नै हो यो।


म बेलुनको एकदमै सोखिन मान्छे थिएँ। गाउँका दोकानमा विभिन्न थरीका बेलुन पाइन्थे। गोला। लाम्चा र च्याप्टा। ती रङमा पनि फरक थिए। राता। हरिया। नीला र पहेँला। विविधता नाममा पनि थियो। यस्तै, तिनको आकार पनि फरकफरक हुन्थ्यो।

म एउटा सादा बेलुनबारे जान्दथेँ। जुन हावा भरेपछि ठ्याक्कै लौका जत्रै बन्थ्यो। लौकाजस्तै बन्थ्यो। अर्को बेलुन अलि अर्कै खालको थियो। त्यसमा हावा भर्नुपर्दा दुई औंलाले च्यापेर पिँधतिरको भाग तन्काइन्थ्यो। ओठलाई पाइप बनाएर बेलुनको मुख आफ्नो मुखसँग लगेर जोडिन्थ्यो। अनि ‘फू’ गरेर त्यसमा हावा भरिन्थ्यो। बेलुनमा हावा भरिँदै गएपछि त्यो लिंगाकार बन्थ्यो।

एक दिन। मन साह्रै तरसतरस गर्‍यो, बेलुन उडाउन। मेरा हात बेस्सरी चिलाइरहेका थिए। बेलुनमा हावा भरेर उडाइरहेको कल्पना पनि गरिरहेको थिएँ। तर, बेलुन किन्न भनेर मसँग साथमा फुटेको कौडी थिएन। त्यही बेला मैले भगवान दाइलाई सम्झिएँ।

मनले भन्यो, ‘गएर एकपल्ट दाइलाई भेट्चु।’ म यही सोचेर भनेर भगवान दाइको घरतिर हान्निएँ। ‘दाइ सारै बेलुन उडाउन मन लाइच्च’, कुप्री परेर घरकै आँगनमा बाँसका दाउरा चिर्दै हुनुहुन्थ्यो दाइ। हातमा बन्चरो थियो। एकातिर चिरेका दाउराको थुप्रो थियो। अर्कोतिर चिर्न बाँकी बाँसका गिँड थिए।

भेटेपछि बेलुन उडाउने रहरबारे दाइसँग गुनासो पोखेँ, ‘तर, मसँ बेलुन किन्नी पैसा छैन।’

‘ए, होर ? ’ लय मिलाएर आश्चर्यको बोली बोल्नुभयो दाइले।

दाउरा चिरिरहेका दाइले ढाड सोझ्याउनुभयो। चोरऔंलाले पसिना पुछेर हात झट्कार्नुभयो। अनि बन्चरोको पासो आफ्नो खुट्टामा टेकाएर त्यसको बिँड हत्केलाले थाम्नुभयो।

‘ह्यैँ बस् तनि। मसँ रैच भने ल्याइदिन्चु’ बन्चरो बिसाएर आँगनबाट दाइ घरतिर लाग्नुभयो। लामा थिए दाइका पाइला। दाइले जहाँजहाँ टेक्नुभयो मैले त्यहीँत्यहीँ टेक्दै गएँ। पाइला भेट्न नसकेको ठाउँमा म फड्किएँ पनि। यसरी आँगनबाट म दाइको पिँढीसम्म पुगेँ। त्यसपछि दाइ घरभित्र पस्नुभयो। म पिँढीको खाटमा बसेर खुट्टा हल्लाइरहेँ। व्यग्रताका साथ दाइलाई पर्खिरहेँ। दाइले ल्याइदिने बेलुन कल्पिरहेँ।

 मेरा आँखाले दाइ निस्कने मूलढोकामा पहरा दिइरहे। ‘ला केटा। जम्मा दुइटा रैचन्’, एकछिनमै दाइ भित्रबाट निस्कनुभयो र बेलुन दिँदै भन्नुभयो, ‘अरू पछि दिम्ला।’

 मलाई केके न पाएजस्तो भइहाल्यो। बेलुन समातेर खुसीले बौरिँदै म घरतिर दगुरेँ।

सेतो प्लास्टिकको प्याकेटमा बन्द थिए, बेलुन। प्लास्टिक बाहिरबाट मसाइलो थियो। त्यसको तलमाथि आराका जस्ता काँडा उम्रिएका थिए। बेलुनको यस्तो खोल देखेपछि मलाई लाग्यो, बजारमा यति राम्रा पनि बेलुन पाइँदा रहेछन्। जुन, मलाई थाहै रहेनछ।

 मलाई कति बेला बेलुन निकालेर उडाऊँझैं भइरहेको थियो। बेलुनसँगै मन पनि उड्न थालिसकेको थियो।

दाँतको सहाराले बेलुनको प्लास्टिक एक कुनाबाट च्यातेँ। प्लास्टिक थोरै उध्रियो। उध्रिएको प्याकेट हातमा लिएँ र च्यातिन बाँकी हातैले च्यातेँ।

प्लास्टिकभित्र गोलो आकारमा डल्लो परेर बसिररहेको थियो, बेलुन। मैले त्यसलाई जतनका साथ बाहिर निकालेँ।

मैले देखेका आम बेलुनजस्तो थिएन यो बेलुन। चिल्लो लेप्सिएको थियो जताजतै। त्यसबाट गन्ध पनि आइरहेको थियो। त्यो गन्ध न तोरीको तेलसँग मिल्थ्यो। न घिउसँग। त्यो अनौठो गन्धले मेरो नाक उचाल्ने बनायो। अलिअलि घिन लागेजस्तो पनि भयो। चिल्लो जाओस् भनेर मैले देब्रे हत्केलामा राखेँ बेलुन। दाहिने हत्केलाले माथिबाट त्यसलाई मिचिरहेँ। मिच्दामिच्दै आफैं खुल्यो आधा बेलुन। हात घिउ दलेजस्ता चिल्ला भए।

तिनै हात नाक नजिकै लगेर सुँघ्न खोजेको के थिएँ, झन्डै उल्टी गरिनँ।  अब बल्ल मेरो बेलुन उडाउने रहर पूरा हुँदै थियो। अरू बेलुनभन्दा फरक थियो यो बेलुन। यसको मुखमा पहेँलो रिङजस्तो गोलाकार थियो। जति हावा फुक्यो उति बढ्दै गयो। ठूलो भइन्जेल पनि फुटेन। जस्तो कि अरू बेलुन भएको भए उतिबेलै फुटिसक्थे। लगभग मादल जत्रो बन्यो बेलनु। एउटा धागोको टुक्राले त्यसको मुख बाँधिदिएँ। अनि त्यसैसँग खेल्न थालेँ।

०००

बेलुन पाएपछि भगवान दाइसँग म पल्किएँ। किनकि मलाई मन पर्ने चीज, त्यो पनि निःशुल्क दिने गाउँमा यिनै एकजना दाइ हुनुहुन्थ्यो। मेरा लागि दाइ ‘दूध’ हुनुभयो। त्यही दूध खाने म ‘बिरालो’ भएँ।

 भेट्यो कि सोधिहाल्थेँ, ‘दाइ बेलुन छ ? ’ ‘हेहे’, दाइ काँसझैं फुलेर मुस्कुराउनुहुन्थ्यो, फिस्स। मलाई केके मन पर्छ भन्नेकुरा सब भगवान दाइ जान्नुहुन्थ्यो। मलाई जीवनजल मन पथ्र्यो। ग्यास्ट्रिकका गुलिया ग्यास्ट्रिक गोली मन पर्थे। बेलुन मन पथ्र्यो। यीबाहेक मलाई भगवान दाइ पनि मन पर्नुहुन्थ्यो।

एकदिन दाइकै पछि लागेर म स्वास्थ्यचौकी पुगेँ। पुग्दाबित्तिकै दाइले पाँचसातवटा जीवनजलका प्याकेट निकालेर दिनुभयो। मैले लगाइरहेको कमिज थापेँ तर ग्यास्ट्रिकका गुलिया गोली दिनुभएन। मैले मागिनँ पनि।

 ‘अनि बेलुन चाइन्च तो केटा ? ’ दाइले कस्तो मेरो मनको कुरा ठ्याक्कै जान्नुभयो।  म छक्क परेँ। दाइले कति धेरै माया गर्नुहुँदो रहेछ भन्ने मलाई बल्ल थाहा भयो। मेरा लागि बेलुन किनेर खल्तीमै राख्नुभएको छ भन्दा म मक्ख नपर्ने कुरै भएन।

‘उम्, चाइन्च’, टाउको हल्लाएँ। मुस्कुराएर दाइलाई हेरेँ। स्वास्थ्यचौकीमा बिरामीहरू जम्मा भइसकेका थिए। पहिलो चरणका बिरामीलाई हेर्दा यसको संख्या खासै नबढ्ने अनुमान लगाउन सकिन्थ्यो। किनकि गाउँको आयुर्वेदिक अस्पताल र स्वास्थ्यचौकीप्रति गाउँलेकै मोहभंग थियो। उतिसाह्रो विश्वास नै गर्दैनथे। बरु निजी क्लिनिक आकर्षणको केन्द्र बनिरहेको थियो।

स्वास्थ्यचौकीमा आउने बिरामी भनेका बूढाबूढी, कमाइ–धमाइ नभएका, बेसहारा वा मजस्ता बिनाबिमार ग्यास्ट्रिकका गोली खाने मान्छे आउँथे। आउँथे, मजस्ता जीवनजल लैजाने स्वस्थ मान्छेहरू पनि । स्वास्थ्यचौकीमा राम्रो औषधि कहिल्यै पाइएन। औषधिको नाममा अतिसामान्य औषधि मात्र पाइन्थ्यो त्यहाँ। एउटा स्लाइन चढाउनु परे वा सुई लगाउनु परे पनि बाहिर क्लिनिकबाट ल्याउनु भनेर पर्ची काटिन्थ्यो स्वास्थ्यचौकीमा दिएको औषधिले काम गर्छ त आमाले पनि कहिल्यै भन्नुभएन। फेरि पनि चित्त बुझाउनकै लागि भनेर स्वास्थ्यचौकी जानेहरू धेरै थिए।

‘ल ला केटा’, दाइले केही ल्याएर दिनुभयो मुठीमा।

दिँदा दाइको मुठी बन्द र लिँदा मेरो मुठी खुल्ला भयो।

‘के दिनुभओ र ? ’ स्वास्थ्यचौकीमै कार्यरत एउटी महिलाले सोधिन्। अनि बादलमा पानी भरिएजस्तै रहस्य भरिएका आँखा फारेर दाइलाई हेरिन्।

पहिले ती महिला भएतिर दाइले शिर घुमाउनुभयो। अनि भन्नुभयो, ‘केइ होइन। बेलुन उडाउनी रहर गरो र हो।’

यति भनिसक्दा दाइको हात मेरो मुठीबाट चिप्लिसकेको थियो।

‘कतै कन्डम त दिनुभन ? ’ उनले फेरि त्यही कुरा कोट्याइन्।

‘अँ... होहो’, दाइले भन्नुभयो।

लौ कन्डम रे ? होइन के भन्छिन् यिनी ? के त्यो बेलुन नभएर कन्डम पो हो ? बजारमा आएको नयाँ बेलुन भनेको यही कन्डम पो थियो ?       

राम राम राम।

लाजले पानीपानी भएँ म। अनुहार एकैछिनमा ताप्केको रोटीजस्तो पाक्यो। रातो भयो। निसास्सिएझैं भएँ। तर, भगवान दाइले पनि किन यसलाई बेलुन मात्रै भनिरहनुभयो, मैले जानिनँ।

म लाजले उँधोमुन्टो लगाइरहेको थिएँ।

‘तेती सानु मुन्छले के अर्च कन्डम लएर ? ’ भगवान दाइको मुखमा हेरेर मलाई प्रश्न सोधिरहेकी थिइन् उनले।

‘हाम्रै केटो हो। बेलुन उडाउँच रे का’, मतिर यसरी हेरेर जवाफ फर्काए कि दाइले, कहिल्यै नडराउने मान्छेसँग पनि म भयंकर डराएँ। आफू नांगै भएको जस्तो गरी लाज लाग्यो।

०००

मेरा लागि अब बेलुनको भाषा परिमार्जन भयो। जसलाई म बेलुन भन्ठान्थेँ, त्यो बेलुन थिएन। कन्डम थियो। तर, मैले कन्डमलाई पनि बेलुन नै भनिरहेँ। किनकि बेलुनभन्दा यसको उच्चारण असहज महसुस हुँदैनथ्यो। अर्को साँच्चिकै बेलुनमोह पनि थियो मसँग।

एक बिहानको कुरा।

पैयुँपाटाबाट सरुवा भएर भगवान दाइ अमलाचौर पुग्नुभएको थियो।

भात खाएर स्कुल जाने बेलामा आमालाई सोधेँ, ‘म मामाकाँ जान्चु।’

आमा अचानक आश्चर्यको लक्ष्मण रेखाभित्र पर्नुभयो। एक्कासि के भयो यसलाई भनेजस्तो गरेर मलाई शिरपाउ हेरिरहनुभयो।

म अपलक उभिइरहेँ।

‘कि होमक् अरेओ छैनस् र ? ’ आमाले कतै स्कुल नगएर मामाघर जान्छु भन्नुको कारण यही पो हो कि भनेर जान्न खोज्नुभयो।

‘अरिच्चु का,’

‘एक्लै होकि जानी कोइ छ साथे ? ’

 ‘हुनुन्च,’

‘को ? ’

‘भगवान दाइ,’

 ‘बेलैं आइपुनू नि फेरि,’

आमा केही बोल्नुभएन यसपछि। केही नबोल्नुको कारण मामाघर जाने अनुमति हो भन्ने मैले बुझेँ। आमालाई लाग्यो पनि होला— छोरो पाकै मान्छेसँग जान लागेको रहेछ। केही नहोला।

अमलाचौर स्वास्थ्यचौकीसम्म पुग्न पैयुँपाटाबाट एक घण्टा जति हिँड्नुपथ्र्यो। दैनिक आउजाउ गर्नुहुन्थ्यो दाइ। ड्युटी गर्न बिहान अमलाचौर। वास बस्न साँझ घर। मेरो मामाघर पनि त्यतै हुनाले म धेरैपटक अमलाचौरको बाटो हिँडिसकेको थिएँ।

कति बेला उछिट्टिऊँजस्तो भयो मलाई। खरायोको तालमा दौडेर भगवान दाइलाई भेट्टाउन म उहाँकै घरतिर भागेँ।  ‘दाइ... ए भगवान दाइ’, तालोबाट बोलाउँदै आँगन। आँगनबाट बोलाउँदै म खड्केरीमा पुगेँ।

‘किन होर बाबु ? ’ हरको पटुकी सज्दै देखा पर्नुभयो भाउजू। ‘दाइ खोइ र ? ’ मलाई यति सोधुन्जेल पनि हतार भइरहेको थियो।

 ‘ज्या ! दाइ त अल्लि अगि अमाल्चौर निस्किसक्नुभओ’, खबरको तेल कानमा हालिदिनुभयो भाउजूले। अब मलाई भाउजूको अरू कुरा सुन्ने वा सोध्ने फुर्सद भएन। बाँकी बोली नसुनीकन म दाइलाई भेट्टाउन दौडिएँ।

भोटेरुम्टा, राहाले, गैह्रा हुँदै लहरेबर पुग्दा बल्ल दाइ भेट्टिनुभयो।

खासमा, दाइ र मबीच अमलाचौर जाने भनेर कुनै सल्लाह भएको पनि थिएन। यो म आफैंंले अकस्मात् गरेको निर्णय थियो। जसरी कुनै परदेशीले आफ्नी प्रियतमालाई सम्झिन्छ, मैले भगवान दाइलाई पनि यसरी नै सम्झिएको थिएँ।

‘कम्तीमा भगवान दाइसँ गए बेलुन पाइन्च’, मेरो दिमागमा भगवान दाइ बेलुनका विम्ब बनेर बसेका थिए। यही स्वार्थ थियो— अकस्मात् निर्णयको पछाडि।

०००

त्यो दिन मैले स्वास्थ्यचौकीमा बेतलबी जागिर गरेँ। दुई भाइ अमलाचौर स्वास्थ्यचौकी पुग्यौं। त्यहाँ पुगेर दाइ आफ्नो काममा व्यस्त हुनुभयो। तर, म के गर्नु ? स्वास्थ्यचौकीदेखि नजिकै थियो, मामाघर। पैयुँपाटातिरबाट जाँदा पहिला मेरो मामाघर आउँथ्यो। मामाघर कटेपछि मात्रै आउँथ्यो, स्वास्थ्यचौकी। क्षेत्र मावली थियो। ठाउँ नयाँ। त्यसैले दिनभर लखरलखर कतै घुम्न जान पनि सकिनँ। बरु मुखले बाटो बताइदिएको भरमा टाढा पुगेर चियाखाजा ल्याएँ। ढुंगे धारामा पुगेर खाने पानी भरेँ। ओसारेँ।

लामो समयपछि मैले अमलाचौर पुगेर पेटभर खाजा खान पाएँ। खाजामा थियो, चिउरा र चनाको तरकारी। ट्वाक्क पिरो। त्यो दिन मैले खुब रमाई रमाई खाएँ। धेरैले मलाई भन्दा पनि मेरो खुवाइलाई हेरिरहेका थिए।

 भगवान दाइले मेरो इच्छा बुझ्नुभएको थियो सायद। त्यसैले अनुकूल मिलाएर बीचबीचमा मलाई भित्र आफू बसेको ठाउँमा बोलाउनुहुन्थ्यो। म चुपचाप त्यहाँ पुग्थेँ। अनि दाइले बेलुनका लहरा खुस्स लुकाएर दिँदै भन्नुहुन्थ्यो, ‘लुकार राख् है केटा। था पाएदेखिन् उठिबास हुन्च।’

दाइले दिएका लहरा सबै आफ्नो कट्टुभित्र घुसारेँ मैले। एक लहरामा त्यस्तै दसबाह्रवटा जति हुन्थे बेलुन। जब बेलुनका लहरा कट्टुुमा घुसारेँ, मलाई पाइला चाल्नै अप्ठ्यारो भयो। सर्‍याक्–सर्‍याक् आवाज आयो आफ्नै कट्टुुभित्रबाट। त्यसबाट बच्न मैले केही उपाय गर्नैपर्ने भयो।

हिँड्न अप्ठ्यारो नभएको जस्तो गरेर म स्वास्थ्यचौकीबाट मामाघरतिर आउने बाटो फर्किएँ। मामाको गाउँ चाम्टार। चाम्टार नजिकै बस्तीको अन्तिम सिमानामा एउटा खोल्सो थियो। बर्खामा त्यो उर्लन्थ्यो। अघिअघि बाँसघारीका स्याउला, फोहोर आदि काखी च्यापेर यत्तिकै बसिरहन्थ्यो। खोल्सो आफैंं अस्तित्वविहीन बन्दै गइरहेको थियो।

मूलबाटो मुन्तिर खोल्साको दुवैपट्टि डरलाग्दा घारी थिए, बाँसका। मैले सोचेँ, बेलुन लगेर त्यहीँ लुकाउँछु र भरे फर्किने बेला लिएर जान्छु। म कागजस्तो चनाखो हुन खोजेँ। कोही आइरहेको त छैन ? कसैले देखिरहेको त छैन ? दायाँबायाँ हेरेर बाटोमुन्तिर ओर्लिएँ फुत्त। बाँसको झ्याङ सुरु भयो। एकपटक त्यहाँ पुगेर पनि चारैतिर नजर डुलाएँ।

 ‘अब मौका यही हो’, मनले भन्यो, ‘छिटो लुकाइहाल्।’ बाटोतिर हेरेँ र कट्टुुभित्र हात छिराएँ। अझै पनि कोही आइरहेका छन् कि जस्तो लागिरहेको थियो।

सर्लक सर्लक कट्टुुभित्रबाट बेलुनका लहरा निकालेँ। कान्लामा तेस्र्याएर त्यसमाथि बाँसकै पातले छोपिदिएँ। अनि त्यसैमाथि पिसाब फेरेर म स्वास्थ्यचौकी फर्किएँ।

पटकपटक बेलुन लुकाउने चक्करमा यसैगरी बित्यो मेरो दिन। जब भरे घर फर्किने बेला भयो, दाइलाई एकछिन मूलबाटोमै रोकेँ मैले। अब जसले देखे पनि केही फरक पर्नेवाला थिएन। म बाटोमुन्तिर फदालेँ। बाँसका पात पन्छाएँ। जसरी जहाँ राखिएका थिए लहरा, उसैगरी थिए। ती सब बेलुनका लहरा मैले फेरि कट्टुभित्र कोचरेँ।

 हिँड्न अप्ठ्यारो त भयो नै। यद्यपि त्यसको कुनै वास्ता गरिनँ मैले। आँखाले धमिलो मात्रै देख्न सक्ने समय भएको थियो, घर आइपुग्दा।  ‘इस्कुल पड्न छोडेर मामाघर गको छोरो येस्बेला हो घर फर्किनी ? ’ आमा पिँढीमै केही गर्दै हुनुहुन्थ्यो। म केही बोलिनँ। बोल्नका लागि मसँग शब्द थिएनन्। समयमै आउँछु भनेर गएको म निकै ढिला गरी घर फर्किएको थिएँ।लुरुक्क घरभित्र पसेँ। जसरी बिरालो दूध चोर्न पस्छ।

मेरो पछिपछि आमा मसँगै भित्र पस्नुभयो। खै कसरी थाहा पाउनुभयो कुन्नि आमाले ? स्वाट्ट मेरो पछाडि हात हाल्नुभयो, ‘के हो हँ यो ? ’

‘हत्तेरिका ! आमाको अगाडि, त्यो पनि बेलुन। केको बेलुन नि ? बेलुन त मेरो आफ्नो भाषामा थियो। अरूको लागि त कन्डम नै हो यो। आज भक्कु धुलाइ हुन्छ’, मैले यही अनुमान लगाएँ। मेरो मुटु बुरुकबुरुक गर्न थाल्यो।

 ‘क्यै होइन आमा’, यति त भन्नैपर्ने थियो मैले। तर, आमाले पत्याए पो !  ‘अनि योचाहिँ पुछार् हो तो ? ’ बेलुनको लहरा जोडले खिच्नुभयो आमाले।

 कट्टुुभित्रको छाला चिथोर्दै लहरो बाहिर निस्कियो। म पीडाले मरेतुल्य भएँ। ‘तँलाई... तँलाई पड्नी भको छोरो। मुर्दार्। बैंसले बिर्मत्तल भएका खिल’, आमाले जानेजतिका गाली दिँदै जानुभयो। जहाँ हात पुग्छ, पिटिरहनुभयो त्यहीँत्यहीँ।

 ‘एइ...माइल् दिदी’

त्यसै बेला कसैले आमालाई सम्बोधन गर्‍यो।

‘उइ...’, आमा हत्तपत्त आँगनमा निस्कनुभयो।

मेरा लागि त्यो स्वर्णिम मौका थियो। त्यही मौका छोपेर बेलुनका सबै लहरा मैले घरमुन्तिर भुइँकटहरको झ्याङमा हुर्‍र्याइदिएँ।

 र, म बाँचेँ त्यो दिन।

(लेखकको आज विमोचन हुने उपन्यास पिपिरीबाट) 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.