लघु जलविद्युतले ग्रामीण बस्ती झलमल्ल

लघु जलविद्युतले ग्रामीण बस्ती झलमल्ल

फिदिम : पाँचथरको फालेलुङ गाउँपालिकाको सिदिनमा सातवटा लघु जलविद्युत सञ्चालनमा छन्। संघसंस्थाको अनुदान सहयोग र स्थानीयको लगानीबाट सञ्चालन गरिएका जलविद्युतले यो गाउँ अँध्यारोबाट मुक्त भएको छ। उपभोक्ताले विद्युत्को चर्को महसुल तिर्नु नपरेको सिद्धदेवी मावि सिदिनका प्रधानाध्यापक सुरेन्द्र केरुङ बताउँछन्। ‘टुकीको उज्यालोमा जीवन जीउने मानिसको घरमा बिजुली बलेको छ’, केरुङ भन्छन्, ‘लघु जलविद्युतको विकासले सबैतिर उज्यालो छाएको छ।’

जिल्लाका आठवटा स्थानीय तहमध्ये डेढ दर्जन ग्रामीण बस्तीमा केन्द्रीय विद्युत् लाइन विस्तार गरिएको छ। बाँकी सबैजस्तो गाउँमा लघु जलविद्युतको विकासले बस्ती उज्यालिएका छन्। स्थानीयकै सक्रियताले ग्रामीण क्षेत्रमा जताततै जलविद्युतको विकास भएको हो। ‘नजिकैको गाविसमा झिलिमुली बिजुली बलेपछि अर्को गाविसका स्थानीयले पनि विद्युतीकरणको पहल सुरु गर्छन्’, प्राङबुङका स्थानीय भरत खपांगीले भने, ‘यो गाँउमा मात्रै चारवटा लघु जलविद्युत सञ्चालनमा छन्।’ उनका अनुसार बिजुली बाल्ने स्थानीयको प्रतिस्पर्धाले गाउँमा लघु जलविद्युतको विकास तीव्र भएको हो।

जिल्लामा सञ्चालन गरिएका लघु जलविद्युत विश्व बैंक, ऊर्जासम्बन्धी काम गर्ने संस्था र स्थानीय उपभोक्ताकै लगानीबाट सञ्चालन गरिएको हो। जिल्लामा कुनै पनि निकायसँग लघु जलविद्युतको आधिकारिक तथ्यांक नभए पनि जिल्लाका आठवटा स्थानीय तहका विभिन्न गाउँमा गरी ३० वटाभन्दा धेरै लघु जलविद्यत् योजना सञ्चालनमा छन्। यसमध्ये दर्जन बढी आयोजना स्थानीयकै लगानीबाट मात्र सञ्चालनमा ल्याइएको हो।

एउटै गाउँमा एउटै खोलामा सातवटासम्म लघु जलविद्युत आयोजना सञ्चालन गरिएको छ।

ग्रामीण क्षेत्रका अधिकांश बस्तीमा लघु जलविद्युतको विकास गरिएको छ। एउटै गाउँमा एउटै खोलामा सातवटासम्म लघु जलविद्युत आयोजना सञ्चालन गरिएको छ। जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने मिक्लाजुङ गाउँपालिकाको लेकगाउँमा मात्रै ६ वटा लघु जलविद्युत सञ्चानमा रहेको स्थानीय सञ्जय राईले जानकारी दिए। पाँच सय ९४ जनसंख्या रहेको यो गाउँमा सधैंभरि बिजुली बल्छ।

विश्व बैंकको आर्थिक सहयोगमा १५ वटा जलविद्युत आयोजना सञ्चालनमा छन्। विश्व बैंक ऊर्जा शाखा र उपभोक्ताको संयुक्त लागानीबाट सञ्चालन गरिएका १५ आयोजना नौ करोड ४९ लाख ५१ हजार रुपैयाँको लागतमा सञ्चालन गरिएको हो। उक्त आयोजनाबाट उत्पादित तीन सय ३५ किलोवाट विद्युत्बाट ग्रामीण क्षेत्रका करिब चार हजार घरधूरीमा बिजुली बलेको छ। बाँकी घरधूरीमा स्थानीयकै मात्र लगानीबाट सञ्चालन गरिएका आयोजनाबाट बिजुली बलेका छन्। यो स्थानमा साना तथा मझौला उद्योग खोलिएका छन्। लघु जलविद्युत सञ्चालन गर्न स्थानीयकै सहभागितामा कार्य समूह विद्युत् उपभोक्ता समिति गठन गरिएको छ। उक्त समितिमार्फत आयोजना सञ्चालन गरिएकाले प्राविधिक समस्या पनि कम भएको उपभोक्ता बताउँछन्।

१० वर्ष यता जिल्लाका ग्रामीण क्षेत्रमा लघु जलविद्युतबाट बिजुली उत्पादन थालिएको हो। चिलिङदिनमा निर्मित हामसाम्भे निवुखोला दोस्रो जलविद्युत आयोजनाबाट पहिलोपटक २७ लाखको लागतमा १२ किलोवाट विद्युत् उत्पादन गरिएको थियो। निवुखोलाबाट मात्रै ६ वटा लघु जलविद्युत सञ्चालन गरिएको छ। यस्तै जिल्लाका अधिकांश खोलाबाट लघु जलविद्युत सञ्चालन गरिएका् छ। ओयाम, थर्पू, नागी, फलैंचा, एकतीन, मेमेङ, सिदिन, प्राङबुङलगायत गाउँमा दर्जनौं लघु जलविद्युत आयोजना सञ्चालनमा छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.