फुटबलै फुटबल
भनिन्छ, फुटबल आफैंमा विश्वको एउटा उत्कृष्ट भाषा हो, जसलाई बुझ्न संसारको कुनै पनि देशको वर्णमाला अध्ययन गर्नु आवश्यक छैन। हरेक भूगोल, हरेक उमेर अनि हरेक वर्गका मानिसलाई लोभ्याउन सक्ने क्षमता राख्छ, यो खेलले। दर्शकका लागि न नियम बुझ्न झन्झटिलो, न त खेल हेर्न मैदानमा घण्टौं बिताउनुपर्ने बाध्यता। यिनै विशेषताले विश्व खेलमञ्चमा लोकप्रियताको शिखरमा पुर्याएको छ, यो खेललाई। त्यसैले पनि होला, फुटबललाई खेलहरूको राजा भनिएको।
नेपालको सन्दर्भमा भने आधिकारिक संघको रूपमा दर्ता भएको ६७ वर्ष पूरा गरिसक्दा पनि यो खेलले दक्षिण एसियाकै आकाश छिचोल्न सकिरहेको छैन। यद्यपि, यस अवधिमा पनि अन्तर्राष्ट्रिय खेलमा केही यस्ता उत्कृष्ट नतिजा आएका छन्, जसले नेपाली फुटबलको क्षितिजलाई फराकिलो बनाउने काम गरेको छ। पछिल्लो समय एसियादेखि युरोपसम्मका विभिन्न घरेलु लिगमा नेपाली खेलाडीको गतिलो उपस्थितिले पनि क्रमशः सम्भावना र सफलताका ढोका खुल्दै गएको आभाष हुन्छ।
उपलब्धि वा हार÷जितको तथ्यांकमात्र कुनै पनि देशमा कुनै खेलको लोकप्रियता मापन गर्ने निर्विकल्प कसी पक्कै पनि हुन सक्दैन। देशभित्र कुनै विशेष खेलको लोकप्रियता अनि त्यो खेलले त्यहाँका नागरिकको मन मस्तिष्कमा पारेको गहिरो प्रभाव भनेको यस्तो कसी हो जुन, सफलता वा हार÷जितको लेखाजोखाभन्दा निकै माथि रहेको हुन्छ।
अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा खासै ठूला उपलब्धि हासिल गर्न नसकिरहेको अवस्थामा पनि पछिल्लो समय नेपालमा हिमालदेखि तराईसम्म आयोजना हुने फुटबल प्रतियोगिताहरूको बाढीले यही सन्देश दिएको छ। गत असोजमा सुरु भएको ‘पल्सर सहिद स्मारक ए डिभिजन लिग’ पुस २४ गते सम्पन्न भयो। यस अवधिमा अधिकांश चर्चित खेलाडी र क्लबहरू घरेलु लिग खेल्नमै व्यस्त रहे। तर, घरेलु लिगको समाप्तिपछि पनि ‘ए’ डिभिजन क्लब र तिनका खेलाडीहरू फुर्सदिला बन्न पाएनन्।
पछिल्लो समय एसियादेखि युरोपसम्मका विभिन्न घरेलु लिगमा नेपाली खेलाडीको गतिलो उपस्थितिले पनि क्रमशः सम्भावना र सफलताका ढोका खुल्दै गएको आभाष हुन्छ।
‘ए’ डिभिजन लिग सकिएलगत्तै देशभर सुरु भएको नकआउट प्रतियोगिताहरूको बाढी अहिलेसम्म पनि थामिएको छैन। यसबीचमा एक दर्जनभन्दा बढी ठूला प्रतियोगिता सकिएका छन् भने ‘खेल क्यालेन्डर’ मिलाउनुपर्ने बाध्यताका कारण अझै थुप्रै प्रतियोगिता आयोजनाको तयारीमा छन्। क्लब र खेलाडीलाई पनि उत्तिकै चटारो छ। एउटा प्रतियोगिता सकिनासाथ हतारहतार अर्को प्रतियोगिता खेल्न पुग्नुपर्ने बाध्यता छ।
प्रतियोगिताहरूको उर्लंदो बाढीका कारण अखिल नेपाल फुटबल संघ (एन्फा) लाई पनि ‘खेल क्यालेन्डर’ मिलाउन हम्मे परेको छ। ‘खेल क्यालेन्डर’ मिलाउनै समस्या परेका कारण कतिपय ठूला धनराशिका गोल्डकप प्रतियोगिताहरू केवल क्लब र खेलाडीको ‘क्यालेन्डर’ मिलाएर एकैसाथ सुरु भएको उदाहरण पनि प्रशस्तै छन्। प्रतियोगिताहरूको ओइरो लागेपछि ठूला धनराशिको गोल्डकपमै पनि ‘ए’ डिभिजन क्लबहरू नै अनुपस्थित हुनुपर्ने अवस्था समेत सिर्जना भएको छ।
गत पुस महिनायता सम्पन्न भएका फुटबल प्रतियोगिताहरूको पुरस्कार राशिमात्र पनि करिब चार करोड रुपैयाँको हाराहारीमा छ। पुस २४ गते ‘ए’ डिभिजन लिग सकियो। विजेता मनाङ मस्र्याङ्दी क्लबले ५० लाख रुपैयाँ पुरस्कारसँगै ‘म्याच फि’ बापत छुट्टै ६ लाख रुपैयाँ हात पार्यो। दोस्रो हुने संकटा क्लबले चार लाख ‘म्याच फि’ का अतिरिक्त ३५ लाख रुपैयाँ हात प्राप्त गर्यो।
यसैगरी तेस्रो हुने थ्रीस्टार क्लबले २५ लाख, चौथो हुने त्रिभुवन आर्मी क्लबले १५ लाख, पाँचौं हुने एपीएफ क्लबले सात लाख र छैटौं हुने नेपाल पुलिस क्लबले पाँच लाख रुपैयाँ हात पारे। यसका अतिरिक्त विभिन्न विधामा उत्कृष्ट हुने पाँचचना खेलाडीले मोटरसाइकल पुरस्कार पाएए। यो प्रतियोगितामा पुरस्कारका लागिमात्र करिब एक करोड ६० लाख रुपैयाँ खर्च गरिएको थियो।
‘ए’ डिभिजन लिग सकिनुभन्दा चार दिनअघि नै पुस २१ देखि ३० गतेसम्म हिमाली जिल्ला पाँचथरमा नकआउट प्रतियोगिता ‘१०औं फाल्गुनन्द गोल्डकप’ सुरु भइसकेको थियो। फिदिप स्पोर्टिङ क्लबद्वारा आयोजित उक्त प्रतियोगिताको फाइनलमा झापा—११ ले आर्मी क्लबलाई २—१ गोलले हराउँदै उपाधि कुम्ल्याएको थियो।
विजेता झापाले चार लाख र उपविजेता आर्मीले दुई लाख रुपैयाँ पुरस्कार पाए। सर्वोत्कृष्ट खेलाडीले मोटरसाइकल पुरस्कार हात पारे। प्रतियोगितामा टिकट बिक्रीबाट मात्र १६ लाख रुपैयाँ संकलन हुनुले पनि हिमाली जिल्लामा समेत फुटबलको ‘क्रेज’ अनुमान गर्न सकिन्छ। यो प्रतियोगितामा पुरस्कारका लागि मात्र करिब १० लाख रुपैयाँ खर्च भएको थियो।
काठमाडौंमा ‘ए’ डिभिजन लिग सकिएकै दिन धनगढीमा ‘तेस्रो नेपाल आइस अन्तर्राष्ट्रिय सुदूरपश्चिम खप्तड गोल्डकप’ सुरु भयो। पुस २४ गतेदेखि माघ ५ गतेसम्म आयोजना भएको उक्त प्रतियोगिताको फाइनलमा पुलिस क्लबले थ्रीस्टारलाई १—० गोलले हराएको थियो। विजेताले २१ लाख र उपविजेताले १० लाख रुपैयाँ पुरस्कार हात पारे। सर्वोत्कृष्ट खेलाडीलाई मोटरसाइकल प्रदान गरियो। सो प्रतियोगितामा पुरस्कारका लागिमात्र करिब ३५ लाख रुपैयाँ खर्च भएको थियो।
धनगढीमा खप्तड गोल्डकप सकिनै पाएको थिएन, वीरगन्जमा ‘विशाल मेमोरियल गोल्डकप’ सुरु भइसकेको थियो। पुस २८ देखि माघ ५ गतेसम्म आयोजना भएको उक्त प्रतियोगिताको फाइनलमा आर्मीले हिमालयन शेर्पा क्लबलाई हराउँदै उपाधि कुम्ल्यायो। पहिलो हुने आर्मीले पाँच लाख ५५ हजार र दोस्रो हुने हिमालयन शेर्पाले दुई लाख ७७ हजार रुपैयाँ पुरस्कार पाए। उक्त प्रतियोगितामा पुरस्कार राशिमा मात्र करिब १० लाख रुपैयाँ खर्च गरिएको थियो।
यसैगरी विशाल मेमोरियल गोल्डकप जारी रहँदै पर्साको छिमेकी जिल्ला बारामा पनि ठूलो पुरस्कार राशिको ‘रुस्लान सिमरा गोल्डकप’ सुरु भइसकेको थियो। माघ ३ देखि १२ गतेसम्म आयोजना भएको १० टोली सम्मिलित उक्त प्रतियोगिताको फाइनलमा थ्रीस्टार क्लबले त्रिभुवन आर्मी क्लबलाई हरायो। प्रतियोगिताको विजेताले ६ र उपविजेताले तीन लाख रुपैयाँ नगद पुरस्कार हात पारे। सर्वोत्कृष्ट खेलाडीलाई मोटरसाइकल पुरस्कार प्रदान गरियो भने विभिन्न विधाका उत्कृष्ट खेलाडीले पनि जनही २० हजार रुपैयाँ पाए। यो प्रतियोगितामा पुरस्कार लागिमात्र करिब १२ लाख रुपैयाँ खर्च भएको थियो।
पछिल्लो समय नेपालमा आयोजना हुने अधिकांश ठूला फुटबल प्रतियोगितामा सर्वोत्कृष्ट घोषित हुने खेलाडीलाई मोटरसाइकल पुरस्कार दिने लहर नै चलेको छ। यसैगरी अन्य खेलका प्रतियोगिताहरूको तुलनामा फुटबलमा पुरस्कार राशि पनि निकै बढी देखिन्छ। स्थानीय स्तरमा आयोजना हुने फुटबलका सामान्य प्रतियोगिताहरूमा समेत पहिलो हुने टोलीलाई एक लाख रुपैयाँभन्दा बढी पुरस्कार राशि राख्ने गरेको पाइन्छ।
सिमरा गोल्डकपले बिटमात्र के मारेको थियो सोही दिन इटहरीमा ‘मदन भण्डारी दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप’ सुरु भइहाल्यो। माघ १२ देखि १९ गतेसम्म आयोजित उक्त प्रतियोगितामा आठ टोलीको सहभागिता रहेको थियो। फाइनलमा आर्मी क्लबले मनाङ मस्र्याङ्दीलाई २—० गोलले हरायो। प्रतियोगिताको विजेता आर्मीले १६ लाख र उपविजेता मनाङले आठ लाख रुपैयाँ पाए। सर्वोत्कृष्ट खेलाडीले पनि ४२ इन्चको टेलिभिजन र २५ हजार रुपैयाँ हात पारे।
यसैगरी विभिन्न विधाका उत्कृष्ट हुने खेलाडीले जनही २० हजार र सर्वाधिक गोलकर्ताले २५ हजार रुपैयाँ प्राप्त गरे। उदीयमान खेलाडी पनि २४ इन्चको टेलिभिजन पुरस्कार हात पारे। राष्ट्रिय जागृति युवा क्लबको आयोजना भएको उक्त प्रतियोगितामा पुरस्कार लागिमात्र करिब ३० लाख रुपैयाँ खर्च भएको थियो।
इटहरी गोल्डकप सकिएकै थिएन पोखरा भने ‘छैटौं मनकामना केबलकार पोखरा कप’ आयोजनाका लागि जुर्मुराइहाल्यो। माघ १५ देखि २६ गतेसम्म आयोजना भएको पोखरा कपको फाइनलमा क्यामरुनको दाउफिन्सले एपीएफ क्लबलाई हराउँदै उपाधि चुम्यो। विजेता टोलीले सात लाख ५५ हजार र उपविजेताले चार लाख लाख रुपैयाँ पुरस्कार पाए। सर्वोत्कृष्ट खेलाडीको भागमा मोटरसाइकल पर्यो। विभिन्न विधाका उत्कृष्ट खेलाडीले जनही २५ हजार रुपैयाँ हात पारे। प्रतियोगितामा पुरस्कारका लागिमात्र करिब १५ लाख रुपैयाँ खर्च भएको थियो।
यसैगरी देशव्यापी रूपमा चलेको नकआउट फुटबलको लहरबीच नै एन्फाले माघ २५ गतेदेखि काठमाडौंमा ‘सहिद स्मारक बी डिभिजन लिग’ सुरु गर्यो। ‘ए’ डिभिजनजस्तै रेलिगेसन बिनाको ‘बी’ डिभिजन लिग अहिले पनि जारी छ। ‘बी’ डिभिजन लिगको विजेताले आठ लाख र उपविजेताले पाँच लाख रुपैयाँ पुरस्कार हात पार्नेछन्। तेस्रो हुने टोलीले तीन लाख र चौथो हुने टोलीले दुई लाख रुपैयाँ पाउने छन्। विधागत उत्कृष्ट खेलाडीले पनि जनही २५ हजार रुपैयाँ प्राप्त गर्नेछन्। १२ टोली सहभागी यो प्रतियोगिताको कुल लागत एक करोड ५० लाख रुपैयाँ रहेको छ।
यसबीचमा भएका हरेक गोल्डकप फुटबल आयोजनाका लागि एक करोड रुपैयाँभन्दा बढी रकम खर्च भएका छन्। पोखरा कप सकिनुभन्दा एक दिनअघि नै धरानमा अर्को पुरानो गोल्डकप प्रतियोगिता सुरु भयो। माघ २७ देखि फागुन ४ गतेसम्म आयोजना भएको ‘२१औं अन्तर्राष्ट्रिय आमन्त्रण रेडबुल बूढासुब्बा गोल्डकप’ मा आठ टोलीले सहभागिता जनाएका थिए।
उक्त प्रतियोगिताको फाइनलमा क्यामरुनको टोली दाउफिन्सले आयोजक धरान फुटबल क्लबलाई टाइब्रेकरमा ३—२ गोलले हरायो। विजेताले आठ र उपविजेताले चार लाख रुपैयाँ पुरस्कार पाए। यो सर्वोत्कृष्ट खेलाडीले स्कुटर पुरस्कार पाए भने विभिन्न विधाका उत्कृष्ट खेलाडी र प्रशिक्षकले जनही २५ हजार रुपैयाँ हात पारे। सर्वाधिक गोलकर्ताले भने ३५ हजार रुपैयाँ पुरस्कार पाए। यो प्रतियोगितामा पुरस्कारका लागिमात्र करिब १५ लाख रुपैयाँ खर्च भएको थियो।
यसैगरी बूढासुब्बा गोल्डकप सकिएकै दिन बुटबल फुटबलमय बन्न पुग्यो। बुटबलमा फागुन ४ देखि १३ गतेसम्म आयोजना भएको देशकै पुरानोमध्येको एक ‘तिलोत्तमा गोल्डकप’ मा विदेशीसहित १० टोलीले उपाधिका लागि घम्साघम्सी गरे। प्रतियोगिताको फाइनलमा क्यामरुनको क्लब दाउफिन्सले सडन डेथमा नेपाल पुलिस क्लबलाई हराउँदै उपाधि चुम्यो।
केवल एउटा खेल खेल्ने अनुमति लिएर नेपाल आएको दाउफिन्सले जितेको यो तेस्रो उपाधि थियो। दाउफिन्सले आठ लाख ८० हजार र पुलिस क्लबले पाँच लाख ५० हजार रुपैयाँ पुरस्कार हात पारे। सर्वोत्कष्ट खेलाडीले मोटरसाइकल पाए भने विभिन्न विधाका उत्कृष्ट खेलाडी र प्रशिक्षकले जनही २५ हजार रुपैयाँ पाए। कुल लागत एक करोड रुपैयाँ रहेको यो प्रतियोगितामा पुरस्कारका लागिमात्र करिब १७ लाख रुपैयाँ खर्च भएको थियो। तिलोत्तमा गोल्डकप २०३३ सालबाट सुरु भएको प्रतियोगिता हो।
बुटबलमा तिलोत्तमा गोल्डकप जारी रहँदै पोखरामा अर्को ठूलो गोल्डकप प्रतियोगिता सुरु भयो। फागुन ९ गते सुरु भएको ‘१७औं आहा—रारा गोल्डकप’ १८ गतेसम्म चल्नेछ। प्रतियोगिताको विजेताले आठ लाख र उपविजेताले चार लाख रुपैयाँ पुरस्कार पाउनेछन्। दुई विदेशीसहित १० टोलीको सहभागिता रहेको उक्त प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई स्कुटर प्रदान गरिनेछ भने विभिन्न विधाका उत्कृष्ट खेलाडी र प्रशिक्षकले जनही १५ हजार रुपैयाँ पाउनेछन्। एक करोडभन्दा बढी लागत रहेको उक्त प्रतियोगितामा पुरस्कार लागि मात्र करिब १५ लाख रुपैयाँ खर्च हुनेछ।
यी त करिब तीन महिनाको अवधिमा भएका फुटबलका ठूला प्रतियोगिता मात्र हुन्। यसदेखि बाहेक जिल्ला र प्रदेशस्तरमा पनि यो अवधिमा थुप्रै प्रतियोगिता आयोजना भएका छन्। रूपन्देहीमा स्थानीय खेलाडीलाई प्रोत्साहन गर्न छैटौं फर्साटिकर कप आयोजना भयो। माघ १९ गते भएको फाइनलमा विश्वशान्ति युवा क्लब सालझन्डीले फाइनलमा सिद्धार्थ युवा क्लबलाई २—० गोलले हरायो। विजेता एक लाख ५१ हजार। उपविजेता ७५ हजार पाँच सय रुपैयाँ पुरस्कार पाए।
माघ १६ गतेदेखि धनकुटाको पाख्रीबासमा मेयर कप फुटबल भयो। माघ १५ देखि २२ गतेसम्म सिन्धुपाल्चोकमा युथ स्पोर्टस् क्लबको आयोजनामा प्रथम सेतीदेवी अशोक शंकर स्मृति अन्तरविद्यालय फुटबल सम्पन्न भयो। लमजुङको सदरमुकाम बेसीसहरमा पुस १२ देखि २० गतेसम्म २७औं त्रिवेणी कप फुटबल आयोजना भयो। फाइनलमा आयोजक त्रिवेणी युवा क्लबले सुन्दरबजार युवा क्लबलाई १—० गोलले हरायो। विजेताले तीन लाख र उपविजेताले एक लाख ५० हजार रुपैयाँ पुरस्कार पाए।
यसैगरी पुस ८ देखि १४ गतेसम्म धनगढीमा फारवेस्ट पशुपति कप फुटबल सम्पन्न भयो। १६ टोलीको सहभागिता थियो। नाज ओभरसिज पीएफए अत्तरियाले उपाधि जित्यो। फाइनलमा आयोजक फारवेस्ट पशुपति युवा क्लबलाई हरायो। विजेताले चार लाख र उपविजेताले दुई लाख रुपैयाँ पुरस्कार पाए। सर्वोत्कृष्ट खेलाडीलाई १५ हजार र विधागत उत्कृष्ट खेलाडीले जनही १० हजार रुपैयाँ हात पारे। यसदेखि बाहेक पनि इलाममा माई भ्याली गोल्डकपदेखि थुप्रै प्रतियोगिता आयोजनाको तयारीमा छन्।