लाटोकोसेरो
एउटा सानो जमघट। केही खाद्यवस्तुका साथ फलफूल पनि। कफीको हररर्र सुवास। पिउनुभन्दा पहिला नै सबैका नाक प्रफुल्ल। रमाइलो गफ र हाँसो। दैनिक चिन्ताबाट मानौं सबै मुक्त। हरेकका आँखामा नौला कुतूहल। मुखबाट भाषाका रंगीन पत्तीहरूको वर्षा। प्रत्येकले प्रत्येकको मुखमा अवलोकन। पुनर्जन्म हुने हो भने तपाईंहरू के के बन्न चाहनुहुन्छ ? मेरो यस्तो गम्भीर प्रश्नले परिहासमय स्थिति अवरुद्ध। सब मुखामुख। पहिला मबाटै त्यसको उद्घाटन हुनुपर्छ भन्ने सबको आग्रह।
मबाट सर्दैसर्दै सबैका आँखा एक वयस्क महिलातिर। नारीले प्राथमिकता पाएको यो सुनौलो अवसर ! तिनको अनुहारमा अनौठो सनसनी ! प्रत्येकका मुखमा तिनका आँखा छरिए। प्रत्येकमा तिनैबाट उत्तरको अपेक्षा। तिनले भनिन्, ‘संसारमा सबभन्दा लामो आयु बाँच्नेको नाम आउँछ, सबभन्दा होचो मान्छेको नाम पनि आउँछ। विश्वसुन्दरीको खबर पनि पढिन्छ। तर, मेरा विचारमा संसारकी सबभन्दा सक्कली सुन्दरीको नाम आएन। हो, म त्यही हुन चाहन्छु र पुनर्जन्म पाएर सौन्दर्यमा सुन्दर नेपालको गौरवलाई अझै उठाउन चाहन्छु’ (ताली)। एउटाले थप्यो, ‘आफ्नो लागि त्यस्तै सुन्दर केटाले पनि पुनर्जन्म पाउनुपर्ने कुरा छुटाएर तिमीले गल्ती गर्यौ। त्यति राम्री भएर जन्मेपछि त्यस्तै राम्रो केटा पाइनौ भने ब्रह्मचारी भएर बस्छ्यौ कि मुक्त प्रेमिका भएर ? ’
अर्कोतिरबाट एउटाले थप्यो, ‘चिन्ता नगर, बरु चाँडै पुनर्जन्म लिएर आऊ। अहिले कुमारी आमा भएर जीवनयापन गर्न पाइने सुविधा मिलिहाल्छ’ (ताली)।
दोस्राले भन्यो, ‘तीन करोड नेपालीमा नाम आउने एक प्रतिशत पनि छैन। म त हिमालतिर पुनर्जन्म चाहन्छु र अरूले भन्दा धेरैपटक सगरमाथा चढेर कीर्ति राख्न चाहन्छु। अरू धेरै नेपालीलाई आरोहणको शिक्षा दिन्छु’ (ताली)। तेस्राले भन्यो, ‘बाजे मधेसतिर बसाइँ सर्न चाहनुहुन्थ्यो, बुवाको पनि चाहना थियो, मिलेन। म त मधिसे नै भएर पुनर्जन्म लिन चाहन्छु र मागका पछि मागका शृंखला तेस्र्याएर यो अल्छी जीवनलाई संघर्षशील बनाउन चाहन्छु’ (ताली)। ‘म त पहाडिया नेपाली नै भएर पुनर्जन्म होस् भन्ने चाहन्छु, निक्खरो नेपाली जन्म मेरो चाहना हो। त्यस्तो भएमा हिमाल र मधेसलाई पहाडसित गाँसेर नेपालको सिंगो अस्तित्व कायम राख्ने जिम्मेवारी मेरै काँधमा आउने छ’ (ताली)। पाँचौंमा महिलाले भनिन्, ‘म त पश्चिमबाट फर्केकी महिला। त्यहाँ त नारीवादीहरूको थप्पड थपिँदाथपिँदा पुरुषमा पुरुषत्व नै हराएर जान लागेछ। पुरुषत्वबिना नारीमा नारीत्वको अस्तित्व अकल्पनीय हुन्छ। यस कारण म त पुरुष भएर पुनर्जन्म चाहन्छु, अरू साथीहरूलाई पनि मनाउँछु। वीर्यवान् पुरुषत्वको जगेर्ना गर्न चाहन्छु’ (ताली)।
सबले मेरो मुख हेरे। सब आआफ्ना अड्कल काट्दै थिए। म भन्दै गएँ, ‘विकासवादीहरूको अभिमतमा मान्छे सृष्टिको शिखर हो; प्राणीहरूमध्ये सबभन्दा अग्लो जात। तर मेरो विचार छ कि सृष्टिमा मान्छे जति होचो अर्को कुनै प्राणी मेरो नजरमा परेको छैन। यस कारण, म मान्छे हुन चाहन्नँ। विकासवादीहरूलाई धक्का दिँदै पशुपक्षीतिर फर्कन चाहन्छु। पशुपक्षीहरू निर्देशित पथबाट विचलित हुँदैनन्; जब कि मान्छे आफ्नो पथको सधैं उल्लंघन गर्दै आएको छ।
यसैले ऊ मेरो विचारमा सबभन्दा होचो प्राणी हो। कुन पशु बनूँ, कुन पक्षी बनूँ भन्ने तर्कना गर्दागर्दै मेरो मन हात्तीमा पुग्यो; त्यो विशाल जनावरमा। म हात्ती हुन लागेको थाहा पाएपछि देवराज इन्द्र मलाई वाहन बनाएर ऐरावतलाई साथी दिन चाहलान्।
तर म कसैको वाहन हुन नचाहने व्यक्ति भएकाले देवराजलाई अप्ठेरो पर्न जाला। पार्वतीलाई काखमा राखेर कैलाशबाट चियाइरहेका देवाधिदेव शंकर म जस्तो फुर्तिलो मान्छेलाई आफूतिर तान्ने प्रयत्न गर्लान् र साँढे हुन प्रेरित गर्लान्। कसैको वाहन नहुने मेरो भित्री संकल्प भएकाले म तिनलाई भन्ने छु कि देवाधिदेव शंकर, साँढे भएर तिमीलाई र पार्वतीलाई बोकेर हिँड्ने मेरो इच्छा छैन। गाँजा लागेर तिमी हल्लन थाल्यौ भने एकातिर पार्वती खुर्मुरिएलिन् अर्कोतिर म खुर्मुरियूँला; तिमी चिसो पहाडमा कता ढल्छौ कता ? पर्वतारोहीले देखे भने त तिम्रो सजिलै उद्धार होला नत्र मैले तिम्रो पत्ता कसरी पाउनु ? शंकर खुसी होलान् र ‘ठीक भनिस्’ भनेर मलाई एक सर्को गाँजा तान्ने मौका देलान्।
मैले गाँजा तानेको देख्दा पार्वती पेट मिचिमिची हाँस्लिन्। म नाच्न थाल्नेछु, शंकर ताली दिँदै धर्मपत्नी पार्वतीलाई अझ हँसाउनेछन्। शंकर सोध्नेछन्, ‘के मुसो बन्छस् त, गणेशलाई बोकेर हिँड्न पाउँछस्’ म जवाफ दिनेछु, ‘शंकर, मुसालाई त मान्छे खोरमा, साँचामा पारेर अथवा विष दिएर मार्छन्। आफ्नो वाहनलाई जोगाउने इच्छा गणेशजीलाई कहिल्यै भएन; अग्रपूजा गर्ने मान्छेको हितमा पनि तिनले ध्यान दिएनन्; ती साहै्र गह्रौं छन् र भद्दा पनि छन्, लड्डुका उस्तै लोभी’ ! यसैले म मुसो हुन चाहन्नँ।’ राताराता आँखा पारेर शंकर मलाई सराप दिनेछन्, ‘लाटोकोसेरो भएस्’ भनेर।
‘आहा, के खोज्छस् काना, आँखा’ मैले खोजेको त्यही बन्न हो। शंकरको सरापले मलाई त्यही बनाउने भयो; म प्रसन्न भएँ। पार्वती क्रुद्ध हुँदै भन्नेछिन्, ‘हजुरबाटै लाटोकोसेराले रातलाई चिर्ने दिव्यचक्षु पाएको हो; बिर्सनुभो हजुरले, अब यो मान्छे दिव्यचक्षु सम्पन्न लाटोकोसेरो भयो भने सृष्टिमा खलबली ल्याइहाल्छ। लाटोकोसेरो हुनासाथ त्यो लक्ष्मीको प्रिय पात्र हुन पुग्छ; मदेखि टाढिन्छ। लक्ष्मीलाई त म सौताजस्तै ठान्छु, धनको भण्डार त्यसैसित छ।
तर त्यो छ चुइयाँ महाकन्जुस ! जो धनी छ उसैमाथि धनको वर्षा गर्छे; निर्धनलाई वास्तै गर्दिन; कति कुटिल छ त्यो ! हजुरसित के छ एउटा बाघको छाला, मसानको एक पोको खरानी अनि एउटा गाँजा सुक्र्याउने सुल्फा ! हजुरलाई र मलाई यस्तो चिसोमा लाउन भनेर त्यसले एकेकवटा भुवादार जाकेट कहिल्यै दिई ? आफ्ना पति भगवान् विष्णुलाई चिसो सर्पमा लडाएर आफू ठाँटिएर बस्छे, त्यसलाई त म देख्न पनि सक्तिनँ।’ तब शंकर तोडले सुल्फा सुक्र्याउनेछन् र धूवाँका साथ पार्वतीको कुरालाई हावामा उडाइदिनेछन्। म लक्ष्मीको नजिक हुन चाहन्थेँ।
त्यो पुग्ने भयो। तिनको वरिपरि भुरुरुर्र भुरुरुर्र उड्दै म तिनलाई प्रसन्न पार्नेछु र धनको भण्डारको अधिपति बन्नेछु। मेरो काम हुनेछ ‘समाजमा सम्पत्तिको न्यायपूर्ण वितरण’। आफ्नो पथमा अथवा मानवीय पथमा जो निष्ठावान् रहन्छ उही न्यायको समानता पाउँछ भन्ने प्रचारित भएपछि कुतत्वहरू पाखा लाग्दै जानेछन्। सामाजिक रूपान्तरणको मेरो सपना साकार हुँदै जानेछ (ताली)।
केही वर्षपहिला लाटोकोसेराको मूल्य निकै पाइने चर्चा गाउँमा पनि फिँजियो। नभन्दै मेरो घरमा गाउँबाट एउटा लाटोकोसेरो आइपुग्यो। गाउँलेले त्यसलाई कप्टेराको पिँजडामा हालेर ल्याएको थियो। मैले यसको विक्रय गरिदिएपछि आफ्नो खल्ती भरिने आशामा ऊ प्रसन्न थियो। त्यस्तो व्यापार व्यवसायमा नलागेको म भने चिन्तित भएँ र त्यसलाई हप्काएँ। ‘उडाइदिऊँ त ? ’ त्यसले झोक्किँदै मलाई भन्यो र आफ्नो कुनै मान्छेलाई भेट्न भनेर हिँड्यो। लाटोकोसेराका भयभीत तर डरलाग्दा आँखा देख्दा म विचलित भएँ, मानौँ त्यसका दिव्यचक्षु मलाई कोतरीकोतरी हेरिरहेथे र मलाई सराप्न खोज्दै थिए। मान्छेका निर्दयता र क्रूरताको उपहास गर्दै त्यसका आँखाले एक टंकार मलाई हेरिरहे। भित्र ती आँखा फलिँट वा जामुना जस्तै काला थिए र कालीगण्डकीको दहभन्दा गहिरा थिए। उसले कसरी सृष्टिकर्ताबाट त्यस्ता आँखा पायो ?
ऊ दिनमा देख्दै न रे ! रातमा घुम्छ रे ! यसैले संस्कृतमा यसलाई ‘दिवाभीत’ ‘निशाटन’ भनियो। दिनमा डराउने मानेर त्यसलाई दिवाभीत भनियो, रातमा घुम्ने भएकाले निशाटन भनियो। दिनमा अन्धो हुने भएकाले त्यसको नाम ‘दिवान्ध’ पनि भयो तर मलाई लाग्छ, ‘दिनमा मान्छेले के पो देख्न सकेको छ र ! दिनमा नदेख्ने भएर लाटोकोसेरो मान्छेलाई यो बुझाइरहेको छ कि वास्तवमा दिनमा नदेख्ने तिमीहरू नै हौ; म कमसेकम रातमा देख्छु, तिमीहरू त न रातमा देख्छौ न त दिनमा नै।
लाटोकोसेराको आँखा दिउँसै नदेख्ने, मूर्ख मानव जातिमाथि लक्षित सूक्ष्म प्रहसन हो; व्यंग्यमि िश्रत प्रहसन हो। लाटोकोसेरालाई किन दिव्यचक्षु भनिएन; किन तृतीयचक्षु भनिएन; मलाई अनौठो लाग्छ। सारा मानव जाति रातमा देख्नका लागि संघर्ष गरिरहेको छ। तर लाटोकोसेरो रातको नापो लिएर अमोघ ज्ञान हासिल गरिरहेछ। लाटोकोसेरो ‘तमस्’ मा ‘ज्योति’ को दर्शन गरिरहेछ, जब कि हामी मान्छे त्यही ज्योति नपाएर सुस्केरा फालिरहेछौं। लाटोकोसेरालाई लाटो भन्नु मानव जातिकै उल्लूपनाको प्रमाण हो। हूँ हूँको आवाज झिकेर ऊ बोल्छ र सुन्छ पनि। मान्छेले लाटाको सोझो अर्थशास्त्र बुझ्यो।
म त त्यसलाई लाक्षणिक अर्थमा ग्रहण गर्छु र सीधा, सरल भन्ने भावको बोध गर्छु। जो सीधा छ; सरल छ; उही अन्धकारलाई चिरेर प्रकाशको पुञ्ज फेला पार्छ। जो बांगो छ र कुटिल छ उसको ज्ञान पनि कुटिल हुने भएकाले ऊ अन्धकारको तत्वमीमांसामा असफल भएर जान्छ। भनिन्छ, ‘काग बाठो छ फोहोर खान्छ; पाडो लाटो छ दूध खान्छ’। संस्कृतमा लाटोकोसेरालाई ‘वायसाराति’ पनि भनिन्छ जसको मतलब हो— कागको शत्रु। फोहोर खाने समाजका कागहरूविरुद्ध लाटोकोसेरो लड्दै आएको छ र दूध खाएर समाजलाई सपार्ने सन्देश दिँदै आएको छ। ‘गीता’ भन्छ, ‘स्वधर्मे निधनं श्रेयः’ अर्थात् ‘आफ्नो धर्ममा मर्नु नै श्रेयस्कर छ।’ लाटोकोसेरो सिकार गरेर त्यसमा बाँच्दछ र मर्दछ।
यो उसको सृष्टिद्वारा निर्देशित पथ हो जसबाट ऊ विचलित हुँदैन तर मान्छे आफ्नो मानवीय पथमा अड्दैन। यस कारण ऊ दुःखभागी हुँदै आएको छ। जो यो भन्छन् कि मनुष्यजन्म दुर्लभ जन्म हो; तिनीहरू नै यस दुर्लभ जन्मको गरिमा राख्दैनन्। यसैले गर्दा जे पनि ठीक मानिन गएको छ र अद्यतन परिस्थितिमा ठीक÷बेठीकको मतलब समाप्त भएको छ। अन्धकार उज्यालो ठहरिँदै छ, उज्यालो अन्धकार हुन गएको छ। लाटोकोसेरोबाट बुझ्ने सत्य यही हो।
ज्ञान कहाँ छैन; त्यो सर्वत्र छरिएको छ; त्यो परिवारमा छ; विद्यालयमा छ; कम्प्युटरमा छ; टीभीमा छ; मोबाइलमा छ; रेडियोमा छ; पुस्तकमा छ तर पनि हामी किन अन्धकारमा छौं ? ज्ञान त मेरो कोठामा छ; पलङमा छ; खाने लाउने वस्तुहरूमा छ; पत्नीसितको कुराकानीमा छ; बालबालिकाहरूको रोचक खेलमा छ तर पनि म किन ज्ञानी बन्न सकिनँ ? ज्ञान मेरो घरको चोकमा लुकामारी खेलिरहेछ; सडकमा हिँड्ने वाहनहरूमा दौडिरहेछ; चियाकपको बाफमा उडिरहेछ; कोकको ग्यासमा चलायमान भइरहेछ; खुकुरीको धारमा हिँडिरहेछ; खुकुरी रममा झुलिरहेछ; फूलका अनुहारमा मुस्काइरहेछ; नदीका उत्ताउला छालमा उफ्रिरहेछ; पर्वतमा तल र माथि गरिरहेछ; वनस्पतिको हरियालीमा हाँसिरहेछ; स्वजनको मृत्युमा रोइरहेछ; गरिबीमा निश्वास फालिरहेछ; अस्पतालमा आकुलता प्रदर्शित गरिरहेछ; युद्धमा हिंसाको नृत्य गरिरहेछ; थुपार्ने प्रवृत्तिमा जागिरहेछ; तस्करीमा ताजा भएर देखा परिरहेछ; चुनावी हारजितमा चक्माइरहेछ तर पनि म किन अज्ञानी ?
पूर्वले हामीलाई अज्ञान नै दुःखको कारण हो भन्ने बताएको छ। म यस कारण दुःखी छु कि ममा ज्ञानको अभाव छ। विश्वविद्यालयसम्म पुगेर पढेका मान्छे आज जति भने पनि छन्; अन्वेषणमा घोरिनेहरूको सङ्ख्या कम छैन। मिडियाहरूबाट सिक्नेहरूको जमात बढ्दो छ। सूचना प्रविधिका कारण विश्व खुम्चँदै गएकाले जनसम्पर्कमा तीव्रता थपिएको छ। नयाँ समस्या, नयाँ विषय, नयाँ कुरा आउनासाथ वादविवाद सुरु हुन्छ; छलफल थालिन्छ जसका कारण ज्ञानको पाटो अत्यन्त फराकिलो हुँदै जान्छ; अल्पसंख्यकहरू, अपलिंगीहरू, सीमान्तीकृतहरूमा शिक्षाको प्रसार भइरहेछ।
यस अवस्थामा मान्छेलाई अज्ञानी घोषित गर्नु उचित होला ? पूर्वीय चिन्तकहरूको अभिमतअनुसार भन्ने हो भने मान्छे ज्ञानको तहमा पुगेकै छैन। जब ऊ भित्री र बाहिरी तहमा सुकिलो हुन्छ र तदनुरूप कार्य गर्छ तब मात्र ऊ ज्ञानी ठहरिन्छ। बुद्धिको विकासलाई चलाखीको रूपमा लिएर ऊ त्यसैलाई ज्ञान भन्छ र त्यसमै खुम्चन्छ। उसका निम्ति बुद्धि एउटा साधन मात्र हो जसद्वारा कुनै साध्य हासिल गरिन्छ। बुद्धिको अर्थ चलाखी भएपछि जसरी भए पनि आफ्नो मतलब सिद्ध गर्ने परिपञ्चमा ऊ लाग्दछ। उसलाई न आफन्तको, न समाजको न त देशकै वास्ता रहन्छ। पद, प्रतिष्ठा र पैसाको बलले ठाँटबाँटका साथ समाजको अगाडि देखिनुमा ऊ आफ्नो हैसियत बनेको बुझ्दछ।
यसैले ऊ अग्लो देखिए पनि होचो छ; ठूलो देखिए पनि सानो छ; सुखी देखिए पनि दुःखी छ। प्राच्य अभिमत यो छ कि सक्कली ज्ञान त्यो हो जो भित्रैदेखि प्रेरित भएर सम्पूर्ण प्राणीको हितमा लक्षित हुन्छ। ज्ञानी त्यो हो जो खारिएको मनले सबै जीवका कल्याणका निम्ति बोल्दछ अथवा मरिमेटेर लाग्दछ। ‘सर्वभूतहिते रतः’ को उज्ज्वल छवि जसको छ उही ज्ञानी हो। मान्छे छद्म ज्ञानमा अभ्यस्त भएर नयाँ पुस्तालाई त्यसकै शिक्षण दिइरहेछ। चलाखीमा छल छ; कपट छ; कुटिलता छ; तिनीहरूलाई पखालेर जब म विवेकसम्मत बोध हासिल गर्छु तब म ज्ञानी कहलाउँछु। बुद्धिमान् हुन सजिलो छ; ज्ञानी हुन गाह्रो छ।
एउटा धनी पुरुष कारमा बारतिर जाँदै छ, सायंकालीन वा रात्रिकालीन मनोरञ्जनका निम्ति। उसलाई एउटी नव मल्लिकाको मुस्कानले उत्तेजित पारिरहेछ। गाडी जाममा छ। दुई ख्याउटे बालक त्यस गाडीको ऐनामा आफ्नो रित्ता हात तेस्र्याइरहेछन्। मुस्कानले भन्यो, ‘यस्तै दुई केटा भए मेरो घर नजिकको बारीमा तर्कारीसर्कारी लाउँदा हुन्। भनूँ भने के मान्लान् यी सडेका छाउराहरूले !’ पुरुषले भन्यो, ‘अँ यस्तै केटीको खोजमा म पनि छु; बरु सघाऊ न तिमी, कतै पाइन्छन् कि— भाँडाकुँडा माझ्न, लुगासुगा धुन र घर सफासुग्घर गर्न’। जवाफ दिई, ‘शयनकक्ष मिलाउन र सिँगार्न भन न; मै आउँछु नि तिमीकहाँ, खोइ सम्झेको ? ’
साँच्चि हो त ?
अनि के त ?
रेस्टुराँवालालाई भनेर त्यहीँ तिमीलाई मनोनीत गर्ने व्यवस्था मिलाऊँ ?
हुन्छ, तर, तिमी पनि त्यहीँ मनोनीत हुनुपर्छ नि ?
मतलब छैन तिनीहरूलाई ती बालकको। गाडी हुइँकियो। रित्ता हात झारेर तिनीहरू फर्के।
अब भन्नोस्, ज्ञानी को हो; अज्ञानी को हो; दोषी को हो; निर्दोष को हो ?
बालक हुन्; थोरै दिएको भए पनि खुसी हुँदा हुन्; कुनै काममा लगाइदिन सक्ता हुन्; बारमा फुक्ने पैसाबाट अलिकति कटौती गर्दा पनि तिनीहरूलाई निकै हुँदो हो। प्रश्न यो पनि छ कि किन बाबुआमाले आफ्ना बालकलाई छाडा छाडे ? बाबुआमा नै छैनन् कि अथवा गरिब छन् कि छाडा बालकलाई देख्दादेख्दै पनि किन समाज मूकदर्शक ?
मेरो मनमा धेरै कुरा जुर्मुराए। मैले न ती बालकलाई न्याय दिन सकेँ न त त्यो एउटा पक्षीलाई। त्यो पक्षी, जो उसको बासबाट थुतिएको छ; जो आफन्तबाट टाढिएको छ; जो आफ्नो आहार आफैं जुटाएर बाँच्तथ्यो; जसबाट कसैलाई कुनै हानि, नोक्सानी थिएन; त्यो आज एउटा साँगुरो पिँजडामा एक्लै कैद भएको छ र रोइरहेछ। ती बालकहरू पनि सायद त्यही पक्षीजस्तै होलान्। तिनीहरू आफ्नो थातथलो, परिवार, बाबुआमा, विद्यालय जाने केटाकेटी सबबाट चुँडिएर यहाँ हात पसारिरहेछन्।
कुनै उपाय नदेखेपछि तिनीहरूको मनमा अपराध गर्ने सोच पनि आउँदो हो। पक्षीलाई उडाइदिऊँ, यो अज्ञात प्रदेशमा त्यो कसरी बाँचोस् ? उडाउनु त्यसलाई मृत्युदण्ड दिनुजस्तै हो। त्यससित अवश्य दिव्यचक्षु छ तर त्यो केवल एक कोसका लागि मात्र होला। हाम्रा पूर्वजहरूले आफ्नो अन्तर्दृष्टिबाट एक कोसको सेरोफेरोमा घुम्ने बुझेर नै त्यसलाई कोसेरो भनेको हुनुपर्छ। दूरवीक्षण, सूक्ष्मवीक्षण, दिव्यचक्षु— सबको आआफ्नो सीमा हुन्छ। अब त्यो कयौं कोस नाघेर कसरी आफ्नो गुँडमा पुगोस् ?
मैले त्यसलाई आहार दिएँ, खाएन; पानी दिएँ पिएन। त्यस गाउँलेलाई भनेर फिर्ता पठाऊँ बाटैमा छाडिदेला। ती बालकहरू भने त्यस्तो अवस्थामा अलि छैनन्। मैले त्यसलाई गहिरोसित हेरेँ। ‘पिँजडाको सुगा’को व्यथाको चित्रण कविशिरोमणि लेखनाथ पौडेलले गरेका थिए। मैले त्यही सुगालाई सम्झेँ; लाटोकोसेरालाई हेरेँ; मान्छेले मान्छेका प्रति, पशुपक्षीका प्रति गर्दै आएको अन्यायको प्रतिरोधका निम्ति पुनर्जन्ममा लाटोकोसेरो हुने संकल्प गरेँ, जो आफ्नो दिव्यचक्षुद्वारा तमस्लाई चिर्दै आएको छ।