युद्धभूमिमा युद्धसाहित्य

युद्धभूमिमा युद्धसाहित्य

कार्यक्रम रोल्पालीहरूको सिर्जना यात्रा र चिन्तनको आधारशिविर मात्र हो, रोल्पालाई माथिमाथि सगरमाथाको चुचुरोसम्मै पुग्नु छ, अझै त्योभन्दा पनि माथि पुग्नु छ।


रोल्पाबाट दाङ बसाइँ सरेको ३५ वर्षको अवधिमा म दुईपल्ट मात्र रोल्पा पुगेँ। एक पटक २०६० सालमा रोल्पामा सम्पन्न कविता महोत्सवमा, अनि यसै वर्ष २०७५ जेठमा भएको बृहत् साहित्य सम्मेलनमा। यसको अर्थ रोल्पा जान मन नलागेर नगएको होइन, समय र सन्दर्भ दुवै अनुकूल भएन। भावनात्मक रूपमा म रोल्पाभित्र छु र रोल्पा मभित्रै छ।

यात्राका सहयात्रीहरू

रोल्पा कविता महोत्सवको कार्यक्रम नजिकिँदै गर्दा कार्यक्रम संयोजक मित्र डीबी टुहुरोलगायतले दाङबाट रोल्पा जाने साहित्यकारहरूको संयोजन गर्ने जिम्मेवारी सुम्पिए मलाई। यसकारण पनि मलाई रोल्पा पुग्नैपर्ने भयो। मसँग नारायण गुरुको नेतृत्वमा पहिले ११ जना स्रष्टाहरूको सूची थियो, दाङबाट रोल्पा जाने। तर यात्रामा जम्मा नौजना भयौं।

रोल्पा नगरपालिकाको सौजन्यमा पाण्डवेश्वरी यातायात प्रालिको सानो गाडी उपलब्ध थियो। प्युठानको चकचकेमा रोकियौं, चियानास्ताका लागि। जेठ १९ गते साँझ समयमै हामी लिवाङ टुँडिखेलमा ओर्लियौं। नगरपालिका प्रमुख पूर्ण केसीलगायत अन्य साहित्यकारहरूले हाम्रो स्वागत गरे। दाङबाट गएका सबै लेखक स्रष्टाहरूलाई लिवाङ टुँडिखेलसँगै जोडिएको सुविधासम्पन्न ‘रोल्पा गेस्ट हाउस’ मा राखियो। होटेल सञ्चालक तेजबहादुर बुढा र उनका कर्मचारीहरूको व्यवहार आत्मीय लाग्यो।

दिउँसो ३ बजेतिर काठमाडौंबाट हिँडेको गाडी जेठ २० गते बिहान लिवाङ आइपुग्यो राजधानी र बाटाका केही साहित्यकारहरूलाई बोकेर। प्रा. केशव सुवेदी, वियोगी बुढाथोकी, प्रोल्लास सिन्धुलीय, नवीन विभास, भूपिन, रोशन जनकपुरी, गिरी शिरीषदेखि नयाँ पुस्ताका धेरै तन्नेरी कवि र पत्रकारहरू थिए, त्यस भीडमा। बिहान केही मित्रहरूसँग लिवाङको जलजला बहुमुखी क्याम्पसदेखि बालकल्याण माविमा पुगियो। यही माविमा मैले कक्षा ४ र ५ पढेको हुँ। यहाँ पढाउने शिक्षकहरूमा मेरा साथी पनि छन्। तर यस पटक विद्यालयमा शिक्षक साथीहरू कोही भेटिएनन्। माथि काप्राखर्क घर भएका महेश ज्वाईंले घर जान खुब आग्रह गरे तर समयका कारण जान सकिएन।

लिवाङ सातताले खोलाबाट प्रारम्भ भएर कार्यक्रमस्थल टुँडिखेलसम्म भएको प्रभातफेरीमा सहभागी हुनेहरूको भीड ठूलै थियो। बाटाछेउका सबैजसो घरमा कलश सजाइएका थिए। ठाउँठाउँमा टोल विकास संस्था अनि स्थानीय विद्यालयका शिक्षक र विद्यार्थीले पनि फूलमाला र अबिरले स्वागत गरिरहेका थिए। दमाहा बाजा पनि एकनासले बजिरहेको थियो। रोल्पाली लेखक, पत्रकार र जनताको न्यानो माया र आतिथ्य सत्कारले पाहुना साहित्यकारहरू पुलकित भइरहेका थिए। सिंगो रोल्पा कुनै खुसीको उत्सवमा सहभागी भएको अनुभूति भइरहेको थियो। त्यस्तो स्वागतदृश्य मैले जिन्दगीमा यसअघि कहिल्यै देखैको थिइनँ। आफ्नै घरठाउँमा स्वागत गरिमाग्नुको अनुभूति झन बेग्लै।

टुँडिखेलमा भएको पहिलो दिनको कार्यक्रमका सभापति थिए डीबी टुहुरो र प्रमुख अतिथि ऊर्जामन्त्री वर्षमान पुन। पूर्वसभामुख ओनसरी घर्ती पनि पुनको साथमै थिइन्। कार्यक्रममा आख्यानकार नवीन विभास र कलाकार रामचन्द्र श्रेष्ठलाई सम्मान गरियो। एउटा कविताकृति विमोचन पनि भयो। केही शुभकामना मन्तव्य, रचनावाचन बीचबीचमा विभिन्न विद्यालयका विद्यार्थीका नाच प्रस्तुतिसँगै पहिलो दिनको औपचारिक कार्यक्रम सकियो।

साँझ हामी गाडी चढेर उकालो बाटो हुँदै लिवाङ नजिकैको गुरुङ गाउँस्थित होमस्टे पुग्यौं। त्यहाँ पुग्दा बाजागाजा बजिरहेको थियो, केही मानिस नाचिरहेका पनि थिए, अनि लहरै उभिएका महिलाहरू फूलमाला र अबिर बोकेर हाम्रा प्रतीक्षामा थिए। कति साहित्यकारहरू त त्यसै भीडमा मिसिएर नाच्न थाले। बस्ती नाघेर अलि माथि लेकमा पुगियो, गज्जबको चौर रहेछ त्यहाँ। तर, पानी दर्केर त्यति लामो समय त्यहाँ बस्न सकिएन।

बेलुकीको खानापछि गजल वाचनको कार्यक्रम थियो। तर होमस्टेमा हामीलाई लिएर गएका ठूला गाडीहरू पानी परेर बाटो चिप्लो भएका कारण नफर्कने भएपछि साना गाडीहरूबाट ओसार्ने काम हुन थाल्यो। साना गाडीमा सबै अट्नै कुरै थिएन। ढिला हुन्छ कि भनेर भाइ खेमराज गाउँलेको नेतृत्वमा नवीन विभास, कमलमणि देवकोटा आदिहरूसँग म पनि मोटर बाटो छाडेर पुरानो सल्लेरी बाटो हुँदै अगाडि बढेँ। रातको समय, सल्ली कुसुमले बनाएको चिप्लो बाटो अनि ठाउँठाउँमा देखिने साना भीरका कारण यात्रा जोखिमपूर्ण भएपनि रमाइलो नै लागिरहेको थियो। पछि लिवाङ नजिकै पुगेको बेला गाडीले टुँडिखेलसम्म ल्याएर छोड्यो सबैलाई। यतिबेलासम्म रातको साढे १० भइसकेको थियो। सबै थाकेका थिए, भोक र प्यास दुबै लागेको थियो। गजल साँझ जम्ने चान्स नै भएन।

नेपाली युद्धसाहित्य

दोस्रो दिनको कार्यक्रममा बिहानै आठ बजे माडीचौरमा एउटा विमर्श कार्यक्रम राखिएको थियो, नेपाली युद्धसाहित्य ः विकास, प्रभाव र परिणाम शीर्षकमा। यसको प्रमुख वक्तामा यज्ञबहादुर डाँगी, नवीन विभास र क्षितिज मगर थिए। सो विमर्शमा ऊर्जामन्त्री वर्षमान पुनले पनि आफ्ना केही विचार प्रस्तुत गरे। साथै मगर खाम भाषामा युद्धको प्रभावबारे व्योमजी अवतार, मैथिली साहित्यमा परेको प्रभावबारे रोशन जनकपुरी र डोटेली भाषासाहित्यमा परेको प्रभावबारे केवल विनावीले सारगर्भित टिप्पणी राखे। त्यस क्रममा मैले पनि नेपाली समालोचना र साहित्यिक अनुसुन्धान क्षेत्रले युद्धसाहित्यलाई के कसरी लिएको छ भन्नेबारे छोटो टिप्पणी राखे।

महत्त्वपूर्ण विषय र सन्दर्भ भए पनि समय अभावका कारण जति बहस र छलफल हुनुपर्ने थियो, त्यो भने हुन नसकेको अनुभूति सबैलाई भयो। कार्यक्रम प्रदेशसभा सदस्य एवं दाङ क्याम्पस अध्ययन गर्दाका मेरा पुराना मित्र दीपेन्द्र पुन सिजलको माडीचौरस्थित निवासमै भएको थियो। माडीखोलाको ठीक माथि पहरामा बनेको उनको घर आफैंमा एउटा रिसोर्ट जस्तै रहेछ। विमर्शपछि केही गजल र कविता पनि वाचन भए। त्यहीँ पूर्वपरिचित मित्रहरू कोटगाउँ माविका प्रधानाध्यापक कृष्णबहादुर पुन, नेकपाका नेता सुरेन्द्र घर्ती, धु्रव आदिसँग पनि भेट भयो। खानापछि हामी लिवाङ फर्कियौं। माडीचौर जाँदा र फर्कंदा मैले बाटामा पर्ने रेउघा, खोलापारिको गर्पा र नजिकका डाँडापाखाहरूलाई धीत मरुञ्जेल हेरेँ र पुराना बाल्यकालीन सम्झनाहरूलाई अझै ताजा बनाउने कोसिस गरेँ।

माडीचौरबाट करिब २० मिनेटमै लिवाङ आइपुगियो। आउनासाथ सुरु भयो राष्ट्रिय कविता प्रतियोगिता। सात प्रदेशका सात कविका कवितावाचन अनि गजलको महफिल जम्यो। कार्यक्रम सकिँदा समयले रातको साढे नौ बजाएको थियो। नवीन विभास, क्षितिज मगर र मचाहिँ त्यसैबीचमा भागेर सातताले घुमेर फर्किएका थियौं। किनभने साँझको खाना अम्बिका बुढा भान्जीकोमा बनेको थियो हाम्रा लागि। आजको दिन रोल्पाको सदरमुकाम लिवाङ राति अबेरसम्म पनि साहित्यमय बन्यो।

तेस्रो दिन बिहान ८ बजे समापन गर्ने भनिएको कार्यक्रम सूचीमा केही हेरफेर भयो। नगरपालिकाको सभाहलमा पत्रकार महासंघ, रोल्पा शाखाले बाहिरबाट कार्यक्रममा सहभागी हुन गएका साहित्यकार र पत्रकारहरूलाई स्वागत सम्मान गर्‍यो। प्रेस काउन्सिलका पूर्वअध्यक्षसमेत रहेका नारायण गुरुको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विभिन्न ठाउँबाट आएका स्रष्टाहरूको गतिलै सहभागिता थियो। कार्यक्रमका सभापति मानसिंह विकको समापन मन्तव्य निकै सान्दर्भिक र मार्मिक थियो, जसले रोल्पाको विगत अनुभव र वर्तमान गति दुवैलाई राम्रोसँग प्रतिनिधित्व गरेको आभास भयो।

यस पटक केही आफन्त र सहपाठीहरूसँगको भेटघाट पनि रमाइलो भयो। लिवाङमा रहेका अम्बिका र प्रेम भाञ्जीको परिवारहरूदेखि लिएर कलाकार रामचन्द्र श्रेष्ठ, खलसिंह बुढा, विष्णु आचार्य, नारायण सुवेदी, खेमराज शर्मा, नवीन लोचन मगर, सीता आचार्य, कविता उपाध्याय, दामु मर्सिफुल, कृष्ण घर्ती, खेमराज गाउँले, खेम बुढा, काशीराम डाँगीजस्ता पूर्वपरिचितहरूसँग भेटघाट र भलाकुसारी भयो। नौलसिंह पुन, दीपेन्द्र पुन सिजन, वर्षमान पुनहरूसँगको भेटघाटले क्याम्पस जीवनका पुराना स्मृतिहरू मनमा पुनः मनभित्र बल्झिएर आए।

यसपल्टको लिवाङ यात्राको रोचक पक्ष के रह्यो भने २०४० सालतिर कक्षा ४ सम्म सँगै पढेका सहपाठी रेशम आचार्य र ५ सम्म सँगै पढेका चन्द्रप्रकाश आचार्यसँग पनि यति लामो समयपछि भेटघाट भयो।

फर्कंदा सातदोबाटोसम्म गाडीमा गयौं हामी सबै स्रष्टाहरू। हामी पुगेको फराकिलो हरियो चौरको केही पर डम्पिङ साइड पनि रहेछ, चौरकै डिलमा त्यस भेगका लागि पानी आपूर्ति गर्ने खानेपानी ट्याङ्की पनि रहेछ। आयोजक समितिका सदस्य सचिव दीप दर्पणको कुशल सञ्चालनमा कार्यक्रम अगाडि बढ्यो, खाना खाने समयमा केही रोकियो र फेरि अगाडि बढ्यो। स्थानीय शिक्षक, विद्यार्थी र जनताको पनि उत्साहवद्र्धक सहभागिता रहेको कार्यक्रममा रचनावाचन कार्यक्रम पनि चलि नै रह्यो, पहिले जस्तै बीचबीचमा दमाहा आदि बाजाहरू पनि बजिरहे। छिटफुट पानीका थोपाहरू पनि बर्सिए हाम्रा शिरहरूमा, सायद ती रोल्पाली प्रकृतिले गरेका आत्मीय र न्यानो स्वागतहरू थिए।

अन्त्यमा नगरपालिकाका प्रमुख पूर्ण केसी र प्रमुख प्रशासकीय अधिकृत सावित्रा पुन थापाले सहभागी सबै साहित्यकारहरूलाई अबिर, प्रमाणपत्र आदिले बिदाइ गरे, त्यसअघि नै स्थानीय सीपले बनेका झोलाहरू कविलेखकहरूलाई वितरण गरिएका थिए। फेरि हिँडेर सातदोबाटोसम्म आयौं। हामी दाङतर्फ लाग्दा साँझको ४ बजिसकेको थियो। ८ नबज्दै सकुशल गन्तव्यस्थल दाङ पुगियो। जम्मा चार घण्टामै पुगिने घोराहीदेखि रोल्पा लिवाङसम्मको यात्रालाई कुनै बेला दुई तीन दिन पैदल हिड्नुपर्ने बाध्यतासँग तुलना गर्दा अचम्मै लाग्छ। बुवाको पछिपछि लागेर धेरै वर्षअघि म पनि पैदलै हिँडेर दाङ ओर्लिएको हुँ।

रोल्पा मेरो जन्मस्थान हो। मेरो नाभी गाडिएको भूमि। मेरो बाल्यकाल बितेको ऐतिहासिक ठाउँ। तर, २०४० सालमा बसाइँ सरेर सपरिवार दाङ झरेपछि दुईपल्ट मात्र लिवाङसम्म जाने अवसर मिलेको छ मलाई अहिलेसम्म। म जन्मिएको हुँ रोल्पाकै गर्पा गाउँमा। लिवाङकै तल बगिरहेको धाङ्सी खोलाको पुल पार गरेपछि तेस्रो तेस्रो बाटो भएर पुगिने गर्पा गाउँमा अहिले त गाडी पनि पुगेको रहेछ। दाङ बसाइँ सरेपछि भने म पुनः गर्पा पुग्न सकेको छैन। यसपटकको साहित्यिक यात्राको व्यस्तताले गर्पा पुग्ने धोको अधुरै रह्यो।

मैले ३ कक्षासम्म गर्पाकै प्राविमा पढेको हुँ। त्यसपछिका ४ र ५ कक्षा बालकल्याण मावि, लिवाङमा। मलाई पढाएका केही गुरुहरू मेरो स्मृतिविम्बमा अझै जीवित छन्। चक्रदेव सर हेडसर थिए, गर्पामा। मलाई हात समाएर, काखमा राखेर पहिलो पल्ट विद्यालय शिक्षा दिने उनी नै हुन्। उनी हाम्रा घरमा पनि बेलाबखत आइरहनुहुन्थे। बुवा विद्यालयको सञ्चालक समितिमा रहनुभएकाले पनि उनी हाम्रा घरमा आएको हुनुपर्छ, अहिले म अनुमान गर्छु।

२०६० सालमा लिवाङ जाँदा उनकै घरमा पुगेको थिएँ, मित्र घनश्याम आचार्यसँग। हामी घनश्यामजीका घरमा मह खान पुगेका थियौं केही स्रष्टा साथीहरू। घनश्यामजी र चक्रदेव गुरुको घर नजिकै थियो। तर यसपल्ट उनलाई भेट्न सकिएन। कारण केही समयअघि आठ दशक उमेर नाघेका गुरुको निधन भइसकेको रहेछ। अबदेखि उहाँसँग जिन्दगीमा पुनः भेट हुने सम्भावना रहेन। तर उनका आशीर्वाद र स्मृतिहरू भने मसँग जीवनपर्यन्त सुरक्षित रहनेछन्।

रोल्पा नगरपालिकाले सबै हिसाबले यति ठूलो प्रकृतिको कार्यक्रम संयोजन गर्ने साहस गर्नु आफैंमा ऐतिहासिक छ। स्थानीय सरकार भनिएका अरूका लागि पनि अनुकरणीय छ। जहाँसम्म कार्यक्रमको संरचना, विषयवस्तुको प्राथमिकता र सहभागीहरूको सन्दर्भ छ, यसबारे भने आगामी दिनहरूमा आयोजकहरूले सायद अझै गम्भीर समीक्षा गर्नु आवश्यक छ।

कार्यक्रमका प्राप्ति र सीमा दुवै छन्। रोल्पाको समग्र साहित्यिक इतिहास, वर्तमान गति र भविष्यको गन्तव्य तथा प्राज्ञिक अनुसन्धानतर्फ कसरी अगाडि बढ्न सकिएला भन्नेबारे पनि अल्पकालीन र दीर्घकालीन योजनासाथ अगाडि बढ्नुपर्ने देखिन्छ। यो कार्यक्रम रोल्पालीहरूको सिर्जना यात्रा र चिन्तनको आधारशिविर मात्र हो, रोल्पालाई माथिमाथि सगरमाथाको चुचुरोसम्मै पुग्नु छ, अझै त्योभन्दा पनि माथि पुग्नु छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.