प्रेमर्षिको मैथिल प्रेम

प्रेमर्षिको मैथिल प्रेम

फेसबुक आफ्ना मनका भावना पोख्ने गतिलो भित्ता भएको छ। कतिपयले आफ्ना नितान्त व्यक्तिगत कुरा राख्दै फेसबुकको भित्ता रंगाउँछन्। कतिपयले आफूसम्बद्ध दलको चर्को नारा उराल्छन्। शेरशायरी, मुक्तकमा आफ्ना अभिव्यक्ति पोख्नेहरू त कति हो कति। फेसबुकले धेरैलाई नजिक्याएको छ, धेरैलाई अलग्याएको पनि छ।

स्रष्टा धीरेन्द्र प्रेमर्षिलाई पनि साहित्यका स्वनामधन्य भनिने केहीले फेसबुकबाट अलग्याई दिएका छन्। फेसबुकमा प्रेमर्षिका ९९ प्रतिशत स्ट्याटस उनको मातृभाषा मैथिलीमा हुन्छ। बाहिर मातृभाषा जोगाउनु पर्छ भनेर घाँटी सुक्ने गरी कराउने, तर आफैंले यसको प्रयोग नगर्नेहरूलाई ध्यानाकर्षण गराउन पनि उनले मैथिलीमै स्ट्याटस राख्दै आएका छन्। एक दिन एक नाम चलेका कविले उनलाई च्याटमा सोधेछन्, ‘तपाईं फेसबुकमा मैथिलीबाहेक अरू भाषामा किन लेख्नुहुन्न ? ’

‘मलाई मैथिलीमै सहज लाग्छ, जसरी तपाईंलाई नेपाली सहज लाग्दो हो।’

‘तपाईंको सोच साम्प्रदायिक छ। मैले तपाईंलाई किन अनफ्रेन्ड नगर्ने ? ’

यति भन्दै ती कविले प्रेमर्षिलाई ब्लक गरिदिए।

प्रेमर्षि तीनछक्क परे। उनी प्रश्न गर्छन्, ‘ब्लक त मैले ती स्वनामधन्य कविज्यूलाई पो गर्नुपर्ने होइन र ? ’

भाषाको मोह

प्रेमर्षिलाई मैथिली भाषाको मोह कसरी जाग्यो ?       यसका लागि उक्लिनुपर्छ कर्णाली।

हाल ५४ वर्षको उमेरमा दौडिरहेका प्रेमर्षिले २०३९ सालमै सिरहाको आफ्नै गाउँको स्कुल बस्तीपुरबाट एसएलसी गरे। त्यस बेला चाँडै जागिर पाइने पढाइ के होला भन्ने केलाउँदै जाँदा उनले ‘कृषि’ विषय लिएर आईएस्सी पढ्ने भए। उनकी ठूल्दिदीको बिहे भएको थियो, कपिलवस्तु, त्यहाँबाट नजिक पर्ने यूपी कलेजअन्तर्गत भारतको सोहरतगढबाट आइएस्सी गरे। चितवन, रामपुरमा बीएस्सी पढ्न कुरेका उनलाई भर्ना नखुलेपछि छटपटी भइरहेको थियो।

उनी दिन कटाउन नेपालगन्ज दाइकहाँ बसिरहेका थिए। लोकसेवा आयोग, सुर्खेतमा विज्ञापन खुलेपछि उनले आवेदन दिए। लगत्तै रिजल्ट पनि आयो, उनी पास भए। यसरी आइएस्सीको सर्टिफिकेट काम लाग्यो। नाम निकालेर उनी २०४३ सालमा जागिर खान उक्लिए हुम्ला।

कृषि विकास कार्यालय, हुम्लामा जागिरे रहेका प्रेमर्षिले सुनेका थिए, ‘सरकारी जागिरमा छिरेपछि विदेशमा पनि पढ्न पठाउँछ रे।’ तर उनको ‘रे’को हल्ला कहिल्यै यथार्थमा परिणत भएन। ती दिन सम्झिँदै नोस्टाल्जिक हुन्छन्, ‘विदेश त टाढाको कुरा। त्यस बेला हुम्ला त आफ्नै देशबाट पनि कट अफ भएको रहेछ। आफ्नै देशमा पनि के भइरहेको छ, थाहै नहुने।’

हुम्ली जिन्दगी बाँच्दै देशबाट ‘कट अफ’ भएपछि प्रेमर्षिले समय कटाउन रेडियोलाई साथी बनाए। एक दिन फूलबारी कार्यक्रममा रेडियोबाट मैथिली भाषामा एकजना चौधरीले गीत गाएको सुने। उनलाई मिथिलामै पुगेको अनुभूति भयो। यतिसम्म स्वर तानेर मै पनि गीत गाउन सक्छु होला भन्ने लाग्यो। अनि आफैंले कनिकुथी नयाँ गीत लेखेर गुन्गुनाउन थाले। यसरी हुम्लामा आफ्नै मातृभाषामा सुनेको गीतले उनलाई कवि, गीतकार पो बनायो। जहाँ नपुगे रवि, उहाँ पुगे कवि।

बिदामा उनी काठमाडौं आए। आफैंले रचना गरेको मैथिली गीत रेडियोको फूलबारी कार्यक्रममा रेकर्ड गराए। प्रसारण भयो। वाहवाही पाए। यसले उत्साह बढ्यो। हुम्ला गएर २०४४ सालको दसैंको छेकोमा एउटा नाटक मञ्चन गराए। आफ्नै एक सहकर्मीको जीवनमा आधारित रहेर नाटक लेखेकोमा निर्देशन पनि उनकै थियो। यस नाटकले एउटा सुनौलो इतिहास बनाएछ। उनका अनुसार शोधखोज गर्दै जाँदा हुम्लामा मञ्चन भएको यो पहिलो नाटक ठहरियो।

भोर, डेग, नहेक वैन, हम सिया छि लगायत एक दर्जनभन्दा बढी मैथिली गीति एल्बममा प्रेमर्षिको स्वर, संगीत रहेको छ। ती एल्बमका कुनै न कुनै गीत हिट छन्।

हुम्लाको प्राकृतिक सौन्दर्यले प्रेमर्षिको साहित्यको दैलो त उघारिदिएकै थियो। २०४६ सालमा जनकपुर सरुवा भएपछि मैथिली साहित्य उनको नसानसामा पस्यो। उनले त्यही सहरमा छयालीसको आन्दोलनको नजारा हेरे। मैथिली भाषा विभाग प्रमुख डा. धीरेश्वर झा ‘धीरेन्द्र’को अगुवाइमा हुने मैथिली साहित्यको नियमित शृंखलामा हुने सहभागिताले उनलाई निकै ऊर्जा दियो। उनले हरेक शृंखलामा आफूलाई चर्चामा राखे।

जनकपुरको जम्मा एकवर्षे बसाइपछि प्रेमर्षि जागिरकै लागि काठमाडौं जाने भए। मिथिला नाट्य परिषद्का अध्यक्ष योगेन्द्र साह ‘नेपाली’को अगुवाइमा ५० भन्दा बढी साहित्यिक मित्रहरूले उनलाई बसपार्कमा बिदाइ गर्न आए। बसको ढोका समात्दै गर्दा अध्यक्ष साहले उनलाई भनेछन्, ‘काठमाडौंमे अहाँ मिथिलाके राजदूत बन्के जा रहै छि। मत भुलु, अहाँके बर्का जिम्मेवारी छै।’

बिदाइमा आएका मित्रहरूले मिथिलाको राजदूतको पगरी लगाइदिएपछि काठमाडौंमा उनी चुपचाप कसरी बस्न सक्थे र। २०४७ मा त्रिचन्द्र क्याम्पसको एक कोठामा चारपाँचजना साथी मिलेर प्रत्येक महिनाको अन्तिम शनिबार मैथिली साहित्यिक शृंखला सुरु गरे। यसरी काठमाडौंको चिसोमा प्रेमर्षिले जनकपुरको गर्मीसँगै मैथिली साहित्यको गर्मी पनि हुलिदिए। शृंखला सुरु गर्ने नीरज कर्ण, सजीव सिंह, प्रदीप कोइराला, नथमल अग्रवाल पछिबाट जोडिएका हिमांशु चौधरी, अरुणकुमार मि श्रलगायत मित्रको याद उनको मनको खातामा जम्मा छ। गोष्ठीमा नेपाल राष्ट्र बैंकमा कार्यरत रेवतीरमण लाल हौसला बढाउन आइपुग्थे। समाज कल्याण परिषद्मा कार्यरत डा. सुरेन्द्र लाभ अर्का उत्प्रेरक थिए। एक दिन लाभले सुझाएछन्, ‘अहाँके नाममे झा शोभा नै देतै। नाम छोटकरीएमे राखु।’

त्यसपछि उनको नामबाट झा हरायो, मात्र धीरेन्द्र प्रेमर्षि रह्यो। डा. धीरेश्वर झा ‘धीरेन्द्र’ मैथिली साहित्यिका कोशेढुंगा थिए। नाम जुधेकै कारण उनीजस्ता विशाल वृक्षको छायामा हराउनुभन्दा अलग नाम धीरेन्द्र प्रेमर्षि उनलाई पनि उपयुक्त जँच्यो। नाममा थर नझुज्डिएपछि उनको प्रस्ट नेपाली बोली सुन्नेहरूले ‘यहाँको पहाड घर कहाँ ? ’ भनेर पनि सोध्छन् रे।

सप्तरंगी प्रेमर्षि

प्रेमर्षि विविध विधामा कलम चलाउँछन्। तर, संग्रह प्रकाशनमा उनको कञ्जुस्याइँ देखिन्छ। मैथिली गीतको संग्रह उनले बुझाएका थिए, डा. ईश्वर बरालको पालामा प्रज्ञामा। डा. वासुदेव त्रिपाठीको पालामा बल्ल छापिएर आयो ‘कोन सुर सजावी’ (२०६१) गीत संग्रह। प्रज्ञामा धेरैका संग्रह धमिराले खाइरहेका छन्। तर ७७ थान गीत समेटिएको ‘कोन सुर सजावी’ एक प्रति पनि छैन।

‘समयलाई सलाम’ (२०६६) नेपाली भाषामा गजल संग्रह उनको अर्को कृति हो। अनूदित, सम्पादित कृति पनि छन् उनका। अनुसन्धानमूलक लेख थुप्रिएर बसेका छन्। रेडियोबाट धेरै नाटक प्रसारण भएका छन् तर संग्रह भने छैन। भन्छन्, ‘गीत, गजल लेखनदेखि गायनसम्म, नाटकदेखि हास्यव्यंग्यसम्म म धेरै विधामा छरिएँ।’

उनले चपक्क समात्छन् समय सान्दर्भिक रचनाको लय। २०६३ माघमा मधेस विद्रोहको प्रसंगमा उनको वाणी आयो—

लोकतन्त्र आउनुपर्छ भनाइ होइन गराइमा

यति मात्र के भनेथें, आगो बल्यो तराईमा

प्रेमर्षिहरू सात भाइ छन्। छैटौं नम्बरका प्रेमर्षि साँच्चिकै सप्तरंगी लाग्छन्। अखबारी लेखनले पनि उनलाई धेरै चिनारी दियो। २०४७÷०४८ कै कुरा, त्रिचन्द्र क्याम्पसमा मैथिली साहित्य शृंखलाको समाचार दिन उनी पुगे छलफल साप्ताहिकको कार्यालय। कुन्दन अर्यालले उनीसँग मैथिलीमै बात मारेछन्। र, लेख पनि मागेछन्। प्रेमर्षिले ‘राम चलित्तरके चिट्ठी’ व्यंग्य लेखेर दिएछन्। एक मैथिलभाषी सकी नसकी आफ्नो कुरा नेपाली भाषामा राख्ने राम चलित्तरको चरित्र अखबारमा निकै लोकप्रिय भयो। कुन्दन अर्याल ‘दृष्टि’ साप्ताहिकमा सरेपछि प्रेमर्षिको ‘राम चलित्तरके चिट्ठी’ स्तम्भ पनि ‘दृष्टि’मा बसाइँ सर्‍यो। ‘राम चलित्तरके चिट्ठी’ पछि हिमालय टाइम्स दैनिकमा झुल्कियो। प्रेमर्षिका अनुसार ‘राम चलित्तरके चिट्ठी’को कारण कुनै समय मैथिली मिसाएर काठमाडौंवासीको बोल्ने शैली नै दुरुपयोग भएको थियो। अखबारी लेखनको रुचिले २०५२ देखि २०५४ सम्म कामना सिने मासिकको सम्पादक पनि भए प्रेमर्षि।

मैथिली मोहका कारण प्रेमर्षिले कृषि विषयको पढाइलाई निरन्तरता दिएनन्। बरु त्रिविबाट मैथिलीमै स्नातकोत्तर गरे। तर उनको ‘कमान्ड’ अरू भाषामा पनि छ। रेडियो नेपालमा उनले मैथिली भाषामा समाचार वाचकको रूपमा काम गरे नै, साथसाथै हिन्दी र नेपाली भाषामा पनि समाचार वाचकका रूपमा आफूलाई अब्बल ठहर्‍याए।

भोर, डेग, नहेक वैन, हम सिया छि लगायत एक दर्जनभन्दा बढी मैथिली गीति एल्बममा प्रेमर्षिको स्वर, संगीत रहेको छ। ती एल्बमका कुनै न कुनै गीत हिट छन्। १८ वर्षदेखि निरन्तर चलाइरहेका छन् उनले, रेडियोमा ‘हेलो मिथिला’ कार्यक्रम। यसमा साथ दिइरहेकी छन्, उनकी पत्नी रूपा झाले।

रेडियोमा काम गरेर उनले पाँच हजारभन्दा बढीलाई अटोग्राफ दिए रे। रूपाले त्योभन्दा बढीलाई अटोग्राफ दिइन्। रूपा भन्छिन्, ‘मधेसी महिलालाई अझै पनि घुंघट खोल्न गाह्रो छ।       श्रीमान् प्रेमर्षिका कारण मैले बाहिरी खुला संसार पाएँ।’ रूपाको अर्को खुसीको क्षण हो, २०४८ फागुन ८ मा वैवाहिक बन्धनमा बाँधिएका प्रेमर्षि दम्पतीको बिहेमा दाइजो शब्दले प्रवेश नै पाएन। जन्ती पनि २१ जना मात्रै। बिल्कुल सादा थियो, विवाहको रश्म।

रेडियोमा कुनै समय निकै ‘चार्मिङ’ थियो। विवाह पञ्चमीको अवसर थियो। डेढ दशकअघि जनकपुर गएको थियो, प्रेमर्षि दम्पती। रेडियो पसलमा एक ग्राहक पसलेसँग अर्डर गर्दै थिए, ‘मलाई यस्तो रेडियो चाहियो, जसमा हेलो मिथिला कार्यक्रम बज्छ।’ ग्राहकको त्यस्तो अर्डरपछि प्रेमर्षि गर्वले मखलेल भए। प्रवासका भारत, साउदी, कतार, मलेसिया समेतमा यसका श्रोता मनग्गे छन्। उनलाई लाग्छ, रेडियोमा ‘हेलो मिथिला’ कार्यक्रमले मैथिली भाषा साहित्यलाई एक प्रकारले उचाइ दियो। यही कार्यक्रम सुनेर मैथिलीमै लेख्ने धेरै नयाँ साहित्यकार जन्मिए।

पशुपति शर्माको एउटा व्यंग्य गीतले दुई तिहाइको सरकार हल्लाइरहेको छ। प्रेमर्षि हास्यव्यंग्य संस्था ‘सिस्नो पानी नेपाल’का अभियन्तामध्ये एक हुन्, जसले सरकारको गलत कामविरुद्ध हाँसो जुलुस निकाल्छ। दुर्नाम कमाएकाहरूलाई प्रतीकात्मक रूपमा अभिनन्दन गर्छ। विगत २१ वर्षदेखि हरेक तिहारमा प्रधानमन्त्री समेतलाई बोलाएर सिस्नोपानी देउसी खेल्छ। उक्त देउसीमा पनि सरकारकै विकृति विसंगतिविरुद्ध झटारो हुन्छ। त्यस बेला सबैभन्दा बढी स्वर प्रेमर्षिले नै उराल्छन्।

प्रेमर्षि रचनाकर्ममा अहिले पनि सक्रिय छन्। हालै कामना अवार्ड २०७५ मा उनले उत्कृष्ट गीतकारको अवार्ड पनि थापे। अहिले नेपाल संगीत प्रतिष्ठानको प्राज्ञ सदस्य भएका छन्। प्रतिष्ठान गठनलगत्तै त्यहाँ भाँडभैलो देखिएको छ। अब हेर्नु छ, प्राज्ञ सदस्य भएपछिको उनको सिस्नो पानी देउसीको राग कस्तो हुने छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.