साठीका ठिटौले

साठीका ठिटौले

भारतको तीर्थयात्रा सकेपछि मलाई लाग्यो— हामीले धार्मिक पर्यटनको क्षेत्रमा आवश्यक काम गर्न सकेका रहेनछौं। धार्मिक क्षेत्रको विरासत जोगाउन पनि हामीलाई हम्मेहम्मे रहेछ।


न भिसाको झन्झट, न त हवाई यात्राको जोखना। यति हुँदाहुँदै पनि तीन वर्षदेखि यात्रा गर्ने भनेर साँचेको साँच्यै थियौं। ६० कटेका र कट्नै लागेका ६ ‘युवा’ जोडीको चाहना थियो— भारतको फन्का लगाउने; सबै ज्योतिर्लिंग अनि ठूला एवम् सम्पन्न मन्दिर घुम्ने। धेरै धार्मिक पर्यटन, थोरै दृश्यावलोकन र केही किनमेलको चाँजोपाँजो मिलाएर हाम्रो मुलुकको सँधियार भारतको फन्को लगायौं। सबैका परिवार विदेश भएकाले घरमा कामको बाँडफाँटको समस्या थिएन। आखिर अधिकांश ‘साठीवाला युवा’को नियति पनि यस्तै त हुन्छ। राज्यको कुनै जिम्मेवारीमा पनि हामी थिएनौं। त्यसैले थाती रहेको योजना अघि बढ्यो। नेपालमा काठमाडौं–वीरगन्ज रेलको चर्चा चलिरहँदा हामीले रक्सौल सम्झिँदै रेलको टिकट लियौं। यात्रा काठमाडौंबाट आरम्भ भए पनि रेलयात्रा भने पटनाबाट तय गरियो।

यात्राको नाइके म जस्तो देखिए पनि वास्तविक नेतृत्व मित्र एवं पूर्वराजदूत मधुवनप्रसाद पौडेलको कमान्डमा थियो। लामो समय भारतमा बसेको र अधिकांश स्थानमा दूतावासको कर्मचारीको हैसियतमा घुमिसकेका कारण यात्राको आधार तय गर्ने जिम्मा भने मेरै थियो। भारत त घुमेको थिएँ। तर एक फन्को लगाएको थिइनँ। जागिरे जीवनका बेला निश्चित स्थानमा पुग्ने र फर्कने मात्र भइरह्यो।

त्यसैले पहिले भारतका सबै स्थानको अध्ययन, बासस्थान आदिबारे जानकारी लियौं। त्यसपछि बन्यो— भ्रमणको वास्तविक स्वरूप। कतै असहज होला कि भन्ने चिसो मनमा त थियो। तर ६२ दिनको यात्रा जीवनकै छोटो भ्रमण जस्तो पो भयो। उद्देश्य पनि हामीले पहिल्यै छुट्ट्याएका थियौं— तीर्थ श्राद्ध गर्ने, पुराना दर्शनीय स्थलको नवीकरण, नयाँ स्थान घुम्ने र अन्वेषण गर्ने। नेपाल–भारतबीच सांस्कृतिक कूटनीति कसरी अघि बढाउने भन्ने विषयमा अध्ययन गर्नु पनि यात्राको उद्देश्य थियो।

उद्देश्यअनुसार हाम्रो यात्रा योजना लामो भने थिएन। त्यसैले यो यात्रालाई मैले भनेको छु— ६० ठिटौलेको ६२ दिने छोटो भ्रमण। उमेरले ६ दशक पार लगाइसकेका र पार लगाउन घण्टी बजाइसकेका हामीलाई एउटै पीर थियो— कतै यात्रामा हावापानी नमिलेर समस्या हुन्छ कि ? अन्य कुरामा भने उत्साहित थियौं।

गुल्जार बिहार

पुराना स्थानको नवीकरण, नयाँ स्थानको दृश्यावलोकन, मातापिताको स्मरणलाई बोकेर कात्तिक २९ को दिन बिहान काठमाडौं गौशाला पुगेर पशुपतिनाथको दर्शन गरेपछि दक्षिणकालीको बाटो हुँदै हामी वीरगन्जतर्फ हान्नियौं। साँघुरा सडक छिचोल्दै जीउ नै सिरिंग पार्दै कुलेखानी, भैंसे, हेटौंडा, चुरियामाई हुँदै वीरगन्ज पुग्यौं। गढीमाई दर्शनपछि बिर्तामाई र गहवा माईको दर्शनका साथै सत्यनारायणको पूजा गरेर रक्सौलतर्फ लाग्यौं। र छिमेकमा पाइला टेक्यौं पनि। कसरी यात्रा सहज एवं सबल बनाउने भन्नेमा हामी गफिँदै तीन दिनका लागि दुई वटा गाडी व्यवस्था गर्‍यौं। र बिहारको सोनपुरमा हरिहरनाथको दर्शन गर्‍यौं। रक्सौलको दृश्यले पुरानो रक्सौलका केही दृश्य सम्झाइदियो। तर अघिको वीरगन्जको रवाफ र सान तथा रक्सौलको कताकताको ग्रामीण वा देहातीपना बिस्तारै उल्टो हुँदै गएको अनुभव भने भयो। देखेपछि लाग्यो, रक्सौल र बिहार गुल्जार हुँदै छन्। यी क्षेत्रको विकासले कताकता सीमापारिबाट गिज्याइरहेझैं पनि लाग्यो। तर बिहार र रक्सौलका बासिन्दाका व्यवहार पहिलेकै जस्तो, आउजाउ उस्तै, खैलाबैला र भीडभाड पनि उस्तै। तर भवन र सडकमा मात्र होइन, रेलको लिक र स्टेसनको सुधारमा भने कायापलट थियो। यस्तो लाग्थ्यो, उनीहरूले विकासमा लक्ष्य पहिल्याएका छन्।

रक्सौलबाट हामी रेल यात्रा गरेनौं। त्यहाँबाट पटनातर्फ लाग्यौं, गाडीमा। विहारको विकास सम्झिँदै यात्रा गरिरहँदा पटना पुगेको पत्तै भएन। साँझ परिसकेकाले त्यो दिन त्यहीँ बास बस्यौं। अर्काे दिन ‘पुनपुन’ गयौं। र पितृ श्राद्ध गर्‍यौं। त्यसपछि बोधगया गयौं। अनि दृश्यावलोकनमा रम्यौं। अर्को दिन गयामा पुगेर पुनः पितृस्मरण गर्‍यौं। अनि पुनः पटना फर्किएर बस्यौं। भोलिपल्ट हावडातर्फ लाग्यौं— रेलमा। हावडामा हनुमानको दर्शन गरेर त्यहाँबाट कोलकातर्फ लाग्यौं। बेलायतीको पैरवीमा अडेको त्यो पुरानो सहर, जहाँ मेरो पहिलो पोस्टिङ थियो। त्यसैले त्यो दिन हामी महावाणिज्यदूतावासमा थामियौं। र त्यहाँको पशुपतिनाथको दर्शन गर्‍यौं।

त्यसको भोलिपल्टको कुरा हो, धौली एक्सप्रेसको रेलमा पुरीतर्फ लाग्यौं हामी। जगन्नाथको दर्शन गरेर पुरीबाट भुवनेश्वरतर्फ लस्कियौं। साक्षीगोपाल, लिंगराज, कोनार्कको मन्दिर दर्शनपछि फेरि पुरी नै फर्कियौं। त्यहाँ पनि श्राद्ध गर्‍यौं।

लालु यादव रेलमन्त्री हुँदा निकै तामझामका साथ सञ्चालनमा आएको थियो—गरिवरथ रेल। त्यही चढेर मर्कापुर (आन्ध्र प्रदेश) गयौं। श्रीशैलम् भन्ने स्थान (१२ मध्ये एक ज्योतिर्लिंग) जुन शक्तिपीठ पनि हो, त्यहीँ बस्यौं। त्यहाँबाट हामीले भोलिपल्ट साँझ तिरुपतितर्फको यात्रा थाल्यौं। दुई दिन तिरुपतिमा अडिएर बैंकटेश्वर स्वामीको दर्शन गरियो। अनि त्यहाँबाट श्रीरंगम् (तामिलनाडु) पुगी रंगनाथ स्वामीको मन्दिर पुग्यौं, यो विश्वको सबैभन्दा ठूला ‘फङसनिङ टेम्पल’ हो। रंगनायिका भगवतीको दर्शन र त्यहीँ बास बसेर रामेश्वरमतर्फ लाग्यौं, हामी। बाटामा मीनाक्षी माता (अम्बा) र सुन्दरेश्वरको दर्शन गरेर रामेश्वरम् पुगी यो दोस्रो ज्योतिर्लिंग मन्दिरमा दर्शन गरेर पिण्डदान गर्‍यौं। अनि साँझमा ट्रेनमै सुत्ने योजना बनायौं। र कन्याकुमारीतर्फ लाग्यौं। कन्याकुमारी र सुचिन्द्रम् (शिव)मा विभिन्न मन्दिरको दर्शन मात्र गरेनौं, विवेकानन्द आ श्रमको दृश्यले हामीलाई मोहित पनि भयौं। केरलाको बिच (समुद्री किनार) को रम्यतामा पनि हरायौं।

अर्को दिन त्रिबेन्ड्रम (थिरुअन्तपुरम) केरलाको राजधानी पुगेर पद्मनाभ स्वामीको दर्शन गर्‍यौं। त्यति बेला हामी संसारको सबैभन्दा धनी हिन्दु मन्दिरमा थियौं। तिरुपतिभन्दा पनि धनी मन्दिरका रूपमा चर्चित उक्त मन्दिरको पैरवी स्मरण गर्न लायक छ। त्यो दिन त्यहीँ बसेर भोलिपल्ट अतुकल भगवती गयौं। अतुकल भगवती महालक्ष्मी, सरस्वती र भगवतीको अवतार मानिन्छ। त्यसपछि बैंगलोर एक्सप्रेस चढेर थिरुअनन्तपुरमबाट बैङ्लोर लाग्यौं। बैंगलोर पुगेर पुट्टपर्ती प्रशान्तनिलायम गएर वास बस्यौं। र घुम्यौं।

यात्रामा यस्तो लाग्थ्यो, थकाइलाई हामीले नेपालमै छाडिसकेका छौं। यात्रामा विभिन्न स्थानका रमणीय दृश्य र धार्मिक संस्कारले हामीलाई ऊर्जा दिइरहेका थिए। साइबाबाको आ श्रम पनि घुम्यौं। चित्रावती नदीमा आमाको       श्राद्ध गर्‍यौं। आमाको तिथि पनि परेकाले त्यहाँ       श्राद्ध जुर्‍यो। त्यहाँबाट रेलद्वारा पुणेतर्फ अघि बढ्यौं। साईबाबाको आधुनिक हस्पिटल, जन्मस्थल आदि हेरेर हामी पुणेका लागि प्रस्थान गरेका थियौं। यहाँबाट पाँच ज्योतिर्लिंगको लामै सडक यात्राको मेलो उनियो। पाँच दिनका लागि गाडी लिएर हामी भीमाशंकर (ज्योतिर्लिंग)तर्फ लाग्यौं। शिवजीको दर्शन गरेर फर्केपछि पञ्चगणपति हाम्रो वासस्थान भयो। विघ्नहर विघ्नेश्वर (पञ्चगणपति)को दर्शन गरेर अर्को ज्योतिर्लिंग त्त्यम्बकेश्वर मात्र पुगेनौं, सँगै महाराष्ट्र सिर्डी पुरानो साइबाबा भएको स्थानमा पुग्यांै। सिर्डी साइबाबाको यो सहरको रौनक बढ्दो लाग्यो। अर्को दिन शनिशिग्नापुर गएर शनिदेवको दर्शन गर्‍यौं, जहाँ तेल चढाइँदो रहेछ।

उदाहरणीय धार्मिक संरक्षण

हामी जहाँजहाँ गयौं, त्यहाँको धार्मिक आस्था एवम् संरक्षणले हामीलाई आकर्षित गर्‍यो। सिर्डी साइबाबाको दर्शन गरेको अर्काे दिन औधा नागनाथ वा छैटौं ज्योतिर्लिंगको दर्शन गर्न हाम्रा पाइला अघि सरे। वनवासका क्रममा पञ्चपाण्डवहरूले बनाएको भनेर चर्चा कमाएको यो स्थानको भ्रमण पनि गर्‍यौं।

महाराष्ट्रको ज्योतिर्लिंगको दर्शन गर्ने क्रममा अन्तिम वा हाम्रा लागि सातौं ग्रिस्नेश्वर ज्योतिर्लिंग दर्शन छुटाएनौं। भद्र मारुती हनुमानजी हुँदै महागणपतिको दर्शन गरेर पुणे फर्कियौं। महाराष्ट्र यात्राको अर्को आकर्षण विश्वप्रसिद्ध अजन्ता एलोरा गुफा भ्रमण रह्यो। पुणेबाट मुम्बईतर्फ लाग्यौं। यहाँ सिद्धिविनायक, महालक्ष्मीको दर्शन र दर्शनीय स्थलको भ्रमण गरेर मुम्बईबाट द्वारकातर्फ सोझियौं।

हामीले द्वारकाधीशको दर्शन गर्ने दिन पुस २ थियो। जगन्नाथपुरी, रामेश्वरमधाम र द्वारकाको पनि भ्रमण गर्‍यौं। होली सिटीका रूपमा चर्चित द्वारकामा श्राद्ध गरेर स्टिमरबाट भेटद्वारकातर्फ लाग्यौं। कृष्णले स्थापना गरेको किंवदन्ती रहेको यो स्थानमा हनुमानको पसिनाबाट जन्मिएका छोरा मकरध्वजको दर्शन पनि छुटाएनौं। साथै औधा नागनाथको वैकल्पिक ज्योतिर्लिंग नागेश्वर र रुक्मिणी माता मन्दिर हुँदै रेल चढेर सोमनाथ (आठौं ज्योतिर्लिंग)को बाटो लाग्यौं।

हामी वाणगंगा पनि पुग्यौं। यहीँबाट त हो, कृष्णलाई मृग भनेर वाण हानिएको। कृष्णलाई खुट्टामा चोट लागेको स्थान बाल्का तीर्थ र घायल भई गोलोकधाममा उनले अस्थि बिसाएको स्थानले पनि हामीलाई आकर्षित गर्‍यो। सोमनाथबाट अहमदावाद हुँदै गाडी लिएर हामी पटनातर्फ सोझियौं। त्यहाँबाट सिद्धपुरतर्फ हान्नियौं। मातृगयामा पनि गयौं। सिद्धपुरमा महिलाको नाममा मात्र श्राद्ध हुने रहेछ। त्यहाँ आमाको नाममा       श्राद्ध भयो। र राजस्थानको हिल स्टेसन ‘माउन्ट आबु’ गएर वास बस्यौं। त्यो निकै चिसो स्थान हो। विभिन्न मन्दिर छन् यहाँ। देरानीजेठानी (देउरानी जेठानी) मन्दिर दर्शन गर्न पनि छुटाएनौं। हनिमुन पोइन्ट छाड्ने कुरै भएन। ‘साठीका ठिटौले’ले हनिमुन पोइन्टको भ्रमण गरिरहँदा युवावस्था आँखै नजिक आएझैं लाग्यो।

राजस्थानमा रहेको ओम शान्तिको हेडक्वार्टरमा पुग्दा पुस १० गतेले हामीलाई स्वागत गरिसकेको थियो। त्यहाँ आफन्तसँग भेटघाट गरेर विभिन्न परियोजना हेरी उदयपुरतर्फ लाग्यौं। उदयपुर राजस्थानमै पर्ने स्थान हो। उदयपुरमा  श्रीनाथजी मन्दिर र बालगोपाल मन्दिर दर्शन गर्न पनि छुटाएनौं। संग्रहालय, सहेलियोका गार्डेन पनि मनमोहक लाग्यो।

उदयपुरबाट चितौरगढ एक्सपे्रसद्वारा अर्काे होली सिटी उज्जैन पुग्यौँ। महाकालेश्वर (ज्योतिर्लिंग) नवौं भयो। खरानीले आरती र बाह्र शृंगार गर्नुपर्ने महाकालेश्वरमा बिहान ४ बजे भष्मआरती हुने रहेछ। हामीले त्यो आरती पनि हेर्‍यौं। र वरपरका भ्रमणीय स्थलको अवलोकन पनि गर्‍यौं।

विवादित राम मन्दिर

उज्जैन र ओंकारेश्वर दुवै मध्यप्रदेशमा पर्दछन्। ओंकारेश्वर ज्योतिर्लिंग र ममलेश्वर/अमलेश्वर मिलाएर ओमकारेश्वर बन्दो रहेछ। मन्दिर दर्शन गरियो। त्यहाँबाट हामी इन्दोरतर्फ लाग्यौं। इन्दोरबाट ट्रेनमा अजमेरको यात्रामा गयौं। हिन्दूहरूको तीर्थराज मानिने पुष्करमा पुग्यांै, जहाँ ब्रह्माको पूजा हुन्छ। ब्रह्माको अन्यत्र कहीँ पूजा हँुदैन। विभिन्न मन्दिर दर्शन र पितृ सम्झने काम त्यहाँ पनि भयो। पुष्करबाट अजमेरतर्फ लाग्यौं। त्यहाँबाट जयपुरको बाटो सोझायौं। त्यहाँ गणेश दर्शन, हावा महल, प्रताप महल, जलमहल, जन्तरमन्तर, अम्बरफोर्टका साथै राधा गोविन्द मन्दिरको दर्शन पनि गर्‍यौं।

जयपुरबाट इलाहाबाद (प्रयागराज) पुग्यौं। त्यहाँबाट बनारस पुगेर काशी विश्वनाथको दर्शन गर्‍यौं। यति बेलासम्म हामीले एकादश ज्योतिर्लिंगको यात्रा गरिसेकेका थियौं। त्यहाबाट भगवती विन्ध्यवासिनी दर्शन गर्न मिर्जापुरतर्फ लाग्यौं। कालभैरव पुगेर मणिकर्णिकाघाट पनि पुग्यांै। पशु्पतिनाथ साम्राज्येश्वरको दर्शन गरेर हामी त्यहाँबाट अयोध्यातर्फ लाग्यौं। त्यहाँ सरयु नदीमा स्नान गरेर हामी राम मन्दिर, सीता दरबारको अवलोकन मात्र गरेनौं, सधैं विवादमा परिरहने राम मन्दिर निर्माणको तयारी पनि हेर्‍यौं।

त्यहाँबाट भैरहवा नपसी काक्राहवाको बोर्डर पसेर लुम्बिनीतर्फ लाग्यौं। छोटी भन्सारबाट भित्र प्रवेश गरी स्वदेश फिर्ता हुँदै गर्दा भरतीयहरूको पैरवी र हामीप्रतिको सद्भाव आफंैमा स्मरणीय थियो। नेपाल प्रवेशपछि सीधै बुद्ध जन्मस्थल लुम्बिनीतर्फ लाग्यौं। त्यहाँ विभिन्न मुलुकले बनाएका कलात्मक विहार पनि हेर्‍यौं। विदेशीहरूले आफ्ना विहार बनाएको देख्दा आफ्ना पुराना धरोहरको सम्झना पनि ताजा भएर आयो। र हामी लाग्यौं, तिलौराकोटतर्फ। त्यहाँका उत्खनन हेरी तौलीश्वर महादेवको दर्शन गरेर लुम्बिनीबाट भैरहवा हुँदै बुटवललाई छलेर नयाँ बाटो हुँदै त्रिवेणी पुगियो।

नवलपरासीको शाश्वतधामको आरतीले पनि मन आकर्षित तुल्यायो। यहाँको वास्तुकला अद्भुत लागे। शाश्वतधाम पुगेको दिन सोमबार परेको थियो। त्यहाँबाट माघेसंक्रान्ति नुहाउन देवघाटतर्फ लाग्यौं। र सोही दिन मनकामना दर्शन पनि छुटाएनौं। मनकामनाबाट फर्किएपछि पशुपतिमा जल चढाएर यात्रा टुंग्यायौं।

माघ १ कै दिन साँझ म मदनकुमार/अम्बिका भट्टराई, मधुवनप्रसाद/सीता पौडेल, महेशकुमार/शुभद्रा रेग्मी, भाष्करप्रसाद/प्रभा देवकोटा, लोचनप्रसाद/इला देवकोटा र मिलनकुमार/कमला लुइँटेल आआफ्ना कुटीमा छिरिसकेका थियौं।

भ्रमणको नेपाल साइनो

भारतको तीर्थयात्रा सकेपछि मलाई लाग्यो— हामीले धार्मिक पर्यटनको क्षेत्रमा आवश्यक काम गर्न सकेका रहेनछौं। बनारसमा पनि हामीले विरासत जोगाउन नसके जस्तो लाग्यो। हुन त बनारस हिन्दु विश्वविद्यालयमा राणाकालमै नेपाल चेयर राखिएको थियो। तर त्यहाँ हामीले आफ्नो उपस्थिति जनाउन सकेका छैनौं। जगन्नाथपुरीमा हाम्रो आ श्रम रहेछ। तर त्यसको उचित संरक्षण हुन सकेको देख्दा मनमा चिसो पस्यो। भारतको तीर्थस्थलहरूमा हाम्रा पुरोहित बस्ने स्थान छुट्ट्याइएको छ। तर उनीहरूलाई नेपाली लालमोह/मोहरिया पण्डाका नामले पुकारिन्छ।

लुम्बिनीमा पनि हुनुपर्ने विकास भएको छैन। तिलौराकोट हेर्दा हाम्रो आधार प्रस्टिन्छ। नेपाल र भारतसँगको सम्बन्ध विस्तारमा पनि हामीले धेरै गर्नुपर्नेछ। र, नेपाल–भारतबीच सास्ंकृतिक कूटनीतिका माध्यमबाट आपसी फलदायी सम्बन्ध स्थापित गर्न सकिन्छ। र त्यो गर्नुपर्छ भन्ने निष्कर्षमा हामी पुग्यौं।

(पूर्वपरराष्ट्रसचिव डा. भट्टराईसँग चन्द्रशेखर अधिकारीले गरेको कुराकानीमा आधारित)


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.