अभियुक्त रिचार्ज
‘बौद्ध पुलिस चौकीबाट दुई फेरा फुन आई सको बाबु। के गर्ने होला लौ न’, आमाले आत्तिँदै फोन गर्नुभयो।
‘अरूलाई गर्या, झुक्किएर तपाईंलाई आयो होला’, मैले आमालाई ढाडस दिएँ।
‘अँ आउछ नि झुक्केर ! तपाईं फूलथुंगा साउकोटा होइन ? भन्दै छ। म बूढीलाई थुन्न पो लाग्यो कि के हो बाबु ? ’
‘तपाईं चोर हो र थुन्नलाई ? ’ यसो भन्दै आमालाई सकेसम्म सम्झाउने कोसिस गरेँ। तर आफैंलाई भने सम्झाउन सकिनँ। सत्तरी कटेकी मेरी आमालाई चौकीमा बोलाउनुको कारण के होला ? मन तुलबुल भइरह्यो। साँझ पुलिस चौकीको बाटो हुँदै घर फर्किएँ। तर, भित्र छिरेर बुझ्ने साहस भने भएन। पुलिस चौकी र अदालत भन्ने कुरा सम्झनसमेत नरुचाउने वर्गको मान्छे हुँ म।
घर पुग्दा आमाको मनस्थिति खल्बलिएको थियो। हामीले निकै तर्कवितर्क गर्यौं। तर, कुनै सम्भावित कारण फेला पार्न सकेनौं। अन्यमा आमाले सकारात्मक आशावादी सोच बनाउनुभयो।
‘हाम्री कान्छी फुपूको देवरको नाति पुलिस छ भन्थे। न त्यै बौद्धको चौकीमा आको भर भेट्न खोजो कि त ? ’ भोलिपल्ट बिहान मर्निङ वाकबाट फर्कंदा घरै छेउ गस्तीको पुलिसले मलाई रोक्यो। छाती ढक्क भयो। तर, पुलिस हबलदारले सामान्य परिचयपछि चौकीमा आएर एकपटक सई साबलाई भेट्न अनुरोध गर्यो। अफिस जाने बेला पस्ने बाचा गरेँ। हबलदारको व्यवहारले मन केही हल्का भयो। ‘मुस्कान सहितको प्रहरी’ भन्ने नारा मनमा खेलाउँदै घर गएँ। घर आएर मैले आमालाई भनेँ, ‘खास ठूलो कुरा केही होइन रे। सामान्य सोधपुछ छ रे। मलाई दिउँसो एकपटक चौकीमा पस्नु भन्या छ।’ तर आमा झनै आत्तिनुभयो। छिटै खाना खाएर चौकी पुगेँ।
बिहानको हबलदारलाई भेटेँ। उसले सम्बन्धित सईकहाँ पुर्यायो। सईले मलाई फोम किचिएको थोत्रो सोफामा बस्ने इशारा गर्यो। त्यस कोठामा त्यस्तै थोत्रा सोफामा अरू पनि थुप्रै मान्छे थिए। सई एकैपटक दुईतीनवटा समूहलाई केरकार गरिरहेको थियो। निकै बेर मतिर ध्यान नै दिएन। मैले पनि हतार भयो भन्ने साहस गरिनँ। हातमा एउटा ठूलै पोको बोकेर उही हबलदार भित्र पस्यो। ‘भुइँमा खन्या’, सईले आदेश दियो। हबलदारले पोको टेबलमा खन्यायो। पोकोभित्र केही घरायसी फोहर रहेछन्।
‘यो फोहोरमा के के छन, हेर्नुस् त।’ मतिर इशारा गरेर सई फेरि अरूसँग नै व्यस्त भयो। मैले फोहोर नियालेँ। मेरी आमाले खाने औषधि र छोरीका चकलेटका केही खोल त्यहाँ थिए। अन्य त्यस्ता थुप्रै सामान थिए, जसले ती फोहोर मेरै घरबाट निस्किएका हुन् भन्ने कुरा बुझ्न मलाई हम्मे भएन। नगरपालिकाले फोहोर नउठाएको निकै दिन भइसकेको थियो। यस्तो बेला सडकमा भेल बग्ने गरी पानी पर्दा प्लास्टिकको झोलामा पोको बनाएर हामी फोहोर बगाउँथ्यौं। एउटाको ढोकाबाट बगेको फोहोर आठदस घर पर अर्कोको घर अगाडि पुगेर पाखा लाग्छ। त्यस बेला सबैका घर भित्रको पोहोर दैलो कटेर निस्किन्छ र बाटामा पुगेर खात लाग्छ।
बीच सडकका फोहोरहरू मोटरका पांग्राले किचिँदा किचिँदै बिलाउँछन्। सडक किनार तिरका फोहोर भने त्यही कुहिएर गन्हाउन थाल्छन्। धेरै दिनदेखि त्यसरी पानी परेको पनि थिएन। दैनिक रूपमा बिहान मर्निङ वाक जाँदा फोहोरको सानो पोको बोकेर जान थालेको थिएँ। गोठाटारको पुलमुनि पुगेर बाग्मती किनारमा फुत्त फाल्थेँ। ती सबै मैले दैनिक रूपमा फालेको फोहोरको एकमुष्ठ संकलन थियो।
‘चिन्नुहुन्छ यी फोहोर कसका घरका हुन् ? ’
‘अहँ चिनिन त’, ढुक्क साथ भनिदिएँ। सईले फोहोरको थुप्रोबाट एउटा रिचार्ज कार्ड टिप्दै भन्यो, ‘तपाईंकी आमा फूलथुंगा सापकोटाको मोबाइलमा हालेको कार्ड हो यो। उसो भए तपाईंको आमालाई नै ल्याएर थुन्न पर्यो होइन त ? ’
म पग्लिएर पानीपानी भएँ। दिसा र पिसाब एकैपटक आएजस्तो भयो। ओठमुख स्याप्पै सुक्यो। एकैपटक चार्ज घटेर बन्द हुन लागेको मोबाइलको जस्तो हालत भयो। पुलिसको अनुसन्धानले मेरो झुटलाई गर्भाधानअघि नै तुहाइदियो। सईको ध्यान फेरि अन्तै पुगिसकेको थियो।
एउटा सानो कागजको चिर्कटोमा केही लेख्दै हबल्दारले भन्यो, ‘सरले जम्मा पाँच दिन फोहोर फाल्नुभएछ। दिनको पाँच हजारका दरले पच्चीस हजार यो खातामा जम्मा गरेर आउनुस्।’
दुई हात जोड्दै दमित स्वरमा भनेँ, ‘गल्ती भयो सर।’ अन्यत्रबाट ध्यान मोडेर सईले पुलुक्क मेरो मुखमा हेर्दै भन्यो, ‘यो सबै उठाउनुस्।’ सई फेरि अन्यत्रै मोडियो। मैले सबै फोहोर उठाएर साविकको एउटै पोको बनाएँ।
‘उता हिँड्नुस् सर’, फोहोरको पोको मलाई बोकाएर हबलदारले अर्को कोठामा लिएर गयो। त्यहाँ उसको बस्ने कुर्सी र टेबल मात्र थियो। म अगाडि उभिएँ। एउटा सानो कागजको चिर्कटोमा केही लेख्दै भन्यो, ‘सरले जम्मा पाँच दिन फोहोर फाल्नु भएछ। दिनको पाँच हजारको दरले पच्चिस हजार रुपैयाँ यो खातामा जम्मा गरेर आउनुस्। त्यतिन्जेल सरको बाइकको कागजपत्र यहीँ छोडेर जानुहोला। फोहोर चै लैजानुभए हुन्छ। छोड्नु पर्दैन।’ हबलदारले राम्रै व्यंग्य गर्यो।
फोहोरको पोको बाइकको पछाडि बाँधेर चौकीबाट निस्किएँ। फोहोर लिएरै अफिस जाने कुरा भएन। फोहोर मिल्काउने सम्भावित ठाउँ कतै सुझेन। टेकुको फोहोर संकलन केन्द्र पुगेँ। त्यहाँका कर्मचारीले फोहोर लिन आनाकानी गरे। सयको नोट डल्लो पारेर च्यापिएको हात ती कर्मचारीसँग मिलाएर फर्किएँ। कार्यालय पुग्दा साढे एघार बजिसकेको थियो। कार्यालयमा हाजिरको खासै समस्या थिएन।
म नेपाल सरकारको कर्मचारी। एक महिनाको तलब त्यही पच्चीस हजारजति छ। पच्चिस हजार बचतै गर्नचाहिँ कति महिना लाग्ला, ठूलै हिसाब लगाउनुपर्छ। अहिले एकमुष्ठ पच्चीस हजार बुझाउँदा मेरो तालिका लामै समय बिग्रिन्थ्यो। तैपनि सामाजिक बेइज्जती हुने कुनै सजाय भोग्नु नपरेकोमा खुसी नै थिएँ।
बैंक खाताहरू चेक गरेँ। एउटैमा एकमुष्ठ पच्चीस हजार बचत थिएन। अन्य बंैक धाउनुभन्दा हित्तचित्त मिल्ने सहकर्मीसँग दस हजार सापटी मागेँ। पैसा चाहिनुको कारण पनि प्रसंग मिलाएर सुनाएँ। एक महिनाको तलब बिनासित्ती सरकारलाई नै फिर्ता गर्नुपर्दा दुखेको चित्त सहकर्मी साथीले पनि महसुस गर्यो। खाजा खाने समयमा बबरमहल पुगेर एटीएमबाट पैसा थुतियो। खाजा खाएर मात्र सम्बन्धित खातामा पैसा जम्मा गर्ने विचारले खाजा खान थाल्यौं।
सामुन्नेको सरकारी वकिलको कार्यालय हाताभित्र पुलिसको एउटा भ्यान पस्यो। ‘मेरो जेठानको सालो यहीँ सरकारी वकिल छ। पुलिसहरूसँग राम्रै सम्बन्ध हुन्छ यिनीहरूको। एकपटक भनिहेर्ने हो ? ’ साथीको प्रस्ताव नाजायज थिएन। आए आँप गए झटारो। हामी दुवै त्यतै लाग्यौं।
विभिन्न चौकीबाट ल्याइएका थुनुवाहरूको बयान सरकारी वकिलहरूको रोहबरमा पुलिसहरू लिँदै थिए। हामीले भेट्न चाहेका वकिल पनि बयान सुन्दै थिए। परैबाट साथीलाई नमस्कार गरे। हामी पनि सँगै बसेर चलिरहेको बयान सुन्यौं। बयान सकिएपछि हाम्रो पालो आयो। राम्रै सत्कार पयैाँ साथीले सबै बेलीबिस्तार लायो। मैले आफूलाई सकेसम्म निरीह देखाउने प्रयास गरेँ। ‘ए भइहाल्छ नि ! बौद्घको डीएसपी साब आज यतै आउनुभा’छ। म भनिदिन्छु। पर्दैन पैसा जम्मा गर्न। एकछिन बाहिरतिर बस्दै गर्नुस्। भेटेरै जानुहोला।’ सरकारी वकिलले आफ्नो छत्रछायामा मलाई ढपक्कै ढाके।
हामी बाहिरतिर एकछिन टहलियांै। हत्कडी लगाएर भ्यानमा कोचिएका प्रत्येक थुनुवाका अनुहार पढ्ने कोसिस गर्यांै। केही साँच्चैका पेसेवार अपराधीजस्ता देखिन्थे भने केही परिबन्दका सिकार। केही बेरमा हाम्रा सरकारी वकिलले डीएसपीलाई हामी भएतिर लिएर आए। एकापसमा परिचय गराए। ‘तपाईंको समस्या मैले बुझेँ। तपाईं जानुभए हुन्छ। कागजपत्र म भोलि घरैमा पठाइदिऊँला।’ डीएसपीबाट मेरो अपराधले आममाफी पायो।
मेरो मन नाच्दै कार्यालय पुग्यो। साथीसँग मागेको पैसा फिर्ता गरिदिएँ। मैले बैंकबाट निकालेको पैसा बोकेर हामी रेस्टुरेन्ट छिर्यौं। दुवैजना ‘फुल चार्ज’ भएर निस्कियौं। मेरा खुट्टा भुइँमा थिएनन्। सोचेँ, चौकीकै बाटो गएर बिहानको सईलाई जाने जतिका खराब शब्दहरू उच्चारण गर्दै गाली गर्छु। अन्त्यमा माफी माग्न लगाएर तनक्क तन्काएर सलाम ठोक्न लगाउँछु। आखिर त्यसको डीएसपी मेरो यार जो छ। तर, चौकी पुग्नु निकैअगाडि नै बाटोको मापसे चेकिङ परैबाट देखेँ।
शरीरको चार्ज स्वाट्टै कम भयो। फेरि रिचार्ज गर्ने अनकूलता नजिक थिएन। बाइक उल्टो दिशातिर घुमाएँ। बल्लतल्ल मापसे चेकिङ छल्दै घर पुगेँ। घर छेउको पसलमा पुगेर मोबाइलको रिचार्ज कार्ड किनेँ। दुईचार पटकको प्रयासमा बल्लतल्ल चार्ज भयो। चार्ज गरिसकेर कार्ड च्यात्दै प्रतिज्ञा गरेँ, ‘साला, अबदेखि रिचार्ज कार्ड कहिल्यै फोहोरमा फाल्दिनँ।’