एमबाप्पेले जिताए पीएसजीलाई, फ्रेन्च लिग तालिकामा एकलौटी राज
पेरिस : फ्रेन्च लिग फुटबलको शनिबार राति भएको खेलमा पेरिस सेन्ट जर्मन (पीएसजी) ले कायनलाई उसैको मैदानमा २—१ गोलले हराएको छ। फ्रेन्च लिग तालिकामा लामो समयदेखि एकलौटी राज गर्दै आएको पीएसजीका लागि दुबै गोल केलियन एमबाप्पेले गरे।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको उक्त खेलको ५६ औं मिनेटमा कासिमिर निन्गाले घरेलु टोलीका लागि पहिलो गोल गरेका थिए। त्यसको तीन मिनेटपछि नै फ्रान्सेली स्ट्राइकर एमबाप्पेले पेनाल्टीमार्फत जवाफी गोल गर्दै खेललाई १-१ को बराबरीमा ल्याए।
निर्धारित समयको खेल सकिनुभन्दा तीन मिनेटअघि एमबाप्पेले नै अर्को गोल थप्दै पीएसजीलाई जित दिलाएका हुन्। पछिल्लो समय लयमा देखिएका एमबाप्पेले जारी सिजनको घरेलु लिगमा गरेको यो २० औं गोल हो।
जितसँगै पीएसजीले तालिकामा आफ्नो निकट्तम प्रतिद्वन्द्वीसँग २० अंकको स्पष्ट अग्रता लिएको छ। पीएसजीले २६ खेलबाट ७१ अंक बटुलेको छ। तालिकाको दोस्रो स्थानमा आसिन लिलीको समान खेलबाट ५१ अंक छ।
च्याम्पियन्स लिगको प्रिक्वार्टरफाइनल खेलअघि हासिल गरेको यो जितले पीएसजीको मनोबल पनि बढाएको छ। पीएसजीले आगामी बुधबार च्याम्पियन्स लिगमा बलियो इङ्लिस क्लब म्यानचेस्टर युनाइटेडको सामना गर्दैछ।