जय ट्रफीको उपाधिका लागि पुलिस र आर्मी भिड्दै

सिमरा : जय ट्रफी पुरुष एलिट कप क्रिकेट प्रतियोगिताको उपाधि भिडन्त मंगलबारदेखि सुरु हुँदैछ। तीन दिवसीय फरम्याटमा हुने फाइनल खेलमा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब भिड्दै छन्।
दुई विभागीय टिमको उपाधि भिडन्त वीरगन्जको नारायणी क्रिकेट रंगशालामा हुनेछ। मौसम सफा नभएका खेल निर्धारित समयभन्दा केही ढिला सुरु हुनेछ। बाक्लो हुस्सुका कारण टस समेत हुन सकेको छैन।
मौसम सफा भएलगत्तै दुई टिमबीचको खेल सुरु हुनेछ। समूह चरणको खेलमा शिर्ष दुई स्थानमा रहेका पुलिस र आर्मी प्रतियोगिताको फाइनल खेल्न लागेका हुन्। समूह चरणमा समान तीन खेलमा पुलिसले ६६ र आर्मीले ५५ अंक बटुलेको थियो।
प्रतियोगितामा सहभागी अन्य टोलीमध्ये तेस्रो स्थानमा रहेको बागमतीले ४१.५ र पुछारमा रहेको मधेस प्रदेशले ३१ अंक पाएको थियो। समूह चरणको खेलमा पुलिसले दुई खेल जितेको थियो भने एकमा बराबरी भएको थियो। आर्मीले भने एकमा जित हात पारेको थियो भने दुई खेल बराबरीमा टुंग्याएको थियो।
समूह चरणको पहिलो खेलमा आर्मीसंग बराबरी खेलेको पुलिसले दोस्रो खेलमा मधेसलाई एक इनिङ र ३५ रन पराजित गरेको थियो भने तेस्रो खेलमा बागमतीमाथि पाँच विकेटको जित हात पारेको थियो। आर्मीले भने पहिलो खेलमा पुलिस र दोस्रो खेलमा बागमतीसंग बराबरी खेल्दै तेस्रो खेलमा मधेसलाई आठ विकेटले हराएको थियो।
२०८० माघमा सम्पन्न प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको शिर्ष चारमा रहेका चार टोलीले जय ट्रफी एलिट कपमा सहभागिता जनाएका थिए। प्रधानमन्त्री कपको फाइनलमा पुलिसले आर्मीलाई ६ विकेटले पराजित गर्दै उपाधि जितेको थियो।
प्रधानमन्त्री कपको फाइनल खेलेका दुबै टोली पुनः एलिट कपको फाइनलमा भिड्न लागेका हुन्। आर्मीका लागि यो खेल अघिल्लो पटक फाइनलमा बेहोरेको हारको बदला लिने मौका हुनेछ भने पुलिसका लागि आफ्नो वर्चश्व कायम राख्ने अवसर रहनेछ।
प्रभाव पार्न सक्ने खेलाडी
साहब आलम (आर्मी)
रोमाञ्चक हुने अपेक्षा गरिएको विभागीय भिडन्तमा आर्मीका साहब आलम प्रभाव पार्न सक्ने खेलाडीको सूचिमा छन्। जारी प्रतियोगितामा आलमले २१ विकेट लिईसकेका छन्।
आलमले पुलिसविरुद्धकै पहिलो खेलमा १० विकेट लिएका थिए। पहिलो पालिमा आठ विकेट लिएका आलमले दोस्रो पालिमा दुई विकेट लिँदै १० विकेट हात पारेका थिए। आलमले तेस्रो खेलमा मधेसविरुद्ध एउटै पालिमा ६ विकेट लिएका थिए। स्पिनरलाई मद्यत मिलिरहेको पिचमा आलम पुलिसका लागि खतरा बन्न सक्नेछन्।
ललित राजवंशी (पुलिस)
प्रतियोगितामा १९ विकेट लिएका ललित राजवंशी आर्मीको उपाधि उचाल्ने सपनामा बाधक बन्न सक्छन्। ललितले समूह चरणको पहिलो खेलमा आर्मीविरुद्ध एउटै पालिमा सात विकेट लिएका थिए।
राष्ट्रिय टोलीका बलर समेत रहेका ललित उपाधि भिडन्तमा प्रभाव पार्न सक्ने मुख्य खेलाडीमा पर्दछन्। उनीविरुद्ध खेल्न आर्मीका खेलाडीलाई सहज देखिदैन।
कुशल भुर्तेल (पुलिस)
नेपाली राष्ट्रिय टोलीका खेलाडी समेत रहेका कुशल भुर्तेल प्रभाव पार्न सक्ने अर्का खेलाडी हुन्। पछिल्लो समय सोचेअनुरुप प्रदर्शन गर्न नसकेको भन्दै दवाव खेपिरहेका भुर्तेलले जारी प्रतियोगितामा १५ विकेट लिएका छन्।
उनले मधेसविरुद्ध एउटै पालिमा पाँच विकेट लिएका थिए भने सोही खेलमा ६३ रन जोडेका थिए। सर्वाधिक विकेट लिने बलरको सूचिमा चौथो स्थानमा रहेका भुर्तेलले समूह चरणको तीन खेलमा एक सय आठ रन बनाएका छन्।
बशिर अहमद (आर्मी)
आर्मीका युवा खेलाडी बशिर अहमद प्रतियोगितामा उत्कृष्ट लयमा छन्। उनले प्रतियोगितामा दुई वटा अर्धशतक बनाईसकेका छन्।
बशिरले बागमतीविरुद्ध ५३ रन र मधेसविरुद्ध ६७ रन बनाएका थिए। तीन खेलमा एक सय ३७ रन जोडेका बशिरले पाँच विकेट समेत हात पारेका छन्। उनले मधेसविरुद्ध एउटै पालिमा चार विकेट लिएका थिए।
प्रतिक्रिया दिनुहोस !
